Skip to content
LAXMI SUNRISE BANK

एफवानसफ्ट ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ३५ लाख सहयोग

अर्थ सरोकार

काठमाडौं । एफवानसफ्ट ग्रुपले हालै आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।

एफवानसफ्ट ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, ईसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै आवश्यक राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा उक्त योगदान गरिएको एफवानसफ्ट ग्रुपले जनाएको छ ।

यसैबीच, इसेवा र फोनपेमार्फत व्यक्तिगत रूपमा राहतका लागि सहयोग गर्ने प्रयोगकर्ताहरूको योगदान पनि उल्लेखनीय रहेको कम्पनीले जनाएको छ । हालसम्म इसेवाका १ लाख २९ हजार १३ प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन् भने फोनपेका ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन् ।

फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश छ । भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ तथा चीन र दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

एफवानसफ्ट ग्रुपले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ ।

साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति ग्रुपले आभार व्यक्त गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK