काठमाडौँ । इरान र अमेरिकाबीचको तनाव थप चर्किएसँगै सोमबार अमेरिकी सेयर बजारमा दबाब देखिएको छ । होर्मुज जलडमरूमध्य पुनः खोल्न इरानले अघि सारेको सातदिने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने आशंकाले लगानीकर्ताको चिन्ता बढेको हो ।
तनावका कारण कच्चा तेलको मूल्य बढ्नुका साथै अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल पनि उल्लेख्य रूपमा उकालो लागेको छ । अमेरिकी १० वर्षे सरकारी ऋणपत्रको ब्याजदर सात आधारबिन्दुले बढेर ५.२५ प्रतिशत पुगेको छ । यो सन् २०२६ कै उच्च स्तर हो भने सन् २००७ को मध्ययताकै उच्च स्तरमा पुगेको बताइएको छ ।
त्यस्तै, ३० वर्षे सरकारी ऋणपत्रको ब्याजदर ५.६ प्रतिशतको आसपास पुगेको छ । दुई वर्षे ऋणपत्रको ब्याजदर पनि पाँच आधारबिन्दुभन्दा बढीले बढेर ४.९१६ प्रतिशत पुगेको छ।
तेलको मूल्यमा तीव्र उतारचढाव
होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा सहमति नबनेपछि सोमबार सुरुआती कारोबारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो । पछि केही घटे पनि मूल्य उच्च स्तरमै कायम रह्यो ।
पश्चिमी टेक्सस इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेल करिब ९२.६ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भयो । यस्तै, उत्तरी सागरबाट उत्पादित ब्रेन्ट कच्चा तेलको मूल्य ०.९२ प्रतिशतले बढेर १०५ अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
तेलको मूल्यमा भएको वृद्धिले अमेरिकामा मुद्रास्फीतिको दबाब थप बढ्न सक्ने आशंका पनि बढाएको छ । त्यसले अमेरिकी केन्द्रीय बैंकलाई ब्याजदरसम्बन्धी नीति थप कडा बनाउन दबाब पर्न सक्ने भन्दै लगानीकर्ता सतर्क देखिएका छन् ।
बजारको अनुमानअनुसार अक्टोबर २८ मा हुने अमेरिकी केन्द्रीय बैंकको बैठकमा ब्याजदर थप ०.२५ प्रतिशत बिन्दुले बढ्ने सम्भावना करिब ७० प्रतिशत रहेको छ ।
ठूला कम्पनीका सेयरमा पनि उतारचढाव
इरान–अमेरिका तनावसँगै सोमबार अमेरिकी सेयर बजारमा ठूला कम्पनीका सेयरमा पनि फरक–फरक प्रभाव देखिएको छ ।
एनभिडियाको सेयर मूल्य १.६८ प्रतिशतले बढेको छ। कम्पनीको सञ्चालक समितिले थप १५० अर्ब अमेरिकी डलर बराबरको आफ्नै सेयर पुनर्खरिद गर्ने कार्यक्रम स्वीकृत गरेपछि लगानीकर्ताको धारणा सकारात्मक देखिएको हो। यससँगै कम्पनीसँग बाँकी रहेको सेयर पुनर्खरिद अधिकार २३५ अर्ब अमेरिकी डलर पुगेको छ ।
तर, बोइङको सेयर मूल्य भने करिब ७ प्रतिशतले घटेको छ । कम्पनीले ७३७ म्याक्स विमानको अवतरण प्रक्रियामा असर पार्न सक्ने सफ्टवेयरसम्बन्धी समस्या सार्वजनिक गरेपछि लगानीकर्तामा चिन्ता बढेको हो ।
मेटा प्लेटफम्र्सको सेयर पनि करिब ४.८ प्रतिशतले ओरालो लागेको छ । कम्पनीले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता अभियानको नेतृत्व गर्न मङ्गोडिबीका प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्ने घोषणा गरेपछि मङ्गोडिबीको सेयरमा समेत तीव्र गिरावट आएको छ ।
त्यस्तै, रोडस्टरको नयाँ संस्करण सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएपछि टेस्लाको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ ।
स्पेसएक्सको सेयर मूल्य पनि २ प्रतिशतभन्दा बढी घटेको छ। यद्यपि, कम्पनीको स्टारसिप रकेटले १४औँ परीक्षण उडानका क्रममा पहिलोपटक कक्षमा पुग्न सफलता हासिल गरेको छ।
आर्थिक तथ्याङ्कतर्फ लगानीकर्ताको नजर
अब लगानीकर्ताको ध्यान यस साता सार्वजनिक हुने अमेरिकी आर्थिक तथ्याङ्कमा केन्द्रित भएको छ । बुधबार अगस्ट महिनाको व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकाङ्क सार्वजनिक हुँदैछ । अमेरिकी मुद्रास्फीतिको अवस्था मूल्याङ्कन गर्न पीसीईलाई महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ ।
त्यसपछि शुक्रबार सेप्टेम्बर महिनाको रोजगारीसम्बन्धी प्रतिवेदन सार्वजनिक हुनेछ ।
मुद्रास्फीति, रोजगारी र तेलको मूल्यमा भइरहेको परिवर्तनले अमेरिकी केन्द्रीय बैंकको आगामी मौद्रिक नीति तथा ब्याजदरसम्बन्धी निर्णयमा प्रभाव पार्न सक्ने भएकाले यी तथ्याङ्कलाई लगानीकर्ताले विशेष चासोका साथ हेरिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्