- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ठगीको आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन् । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराई छन्।
समाचारमा जनाइएअनुसार ती वृद्धालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने भन्दै फोन आयो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए । तीन हजार डलर पैसा पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।
दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ र, अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ ।