×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि क्यापिटलले चलाईरहेछ यस्तो ‘गैरकानुनी’ धन्दा, नियामकको नियमको धज्जी उड्दा पनि धीतोपत्र बोर्ड मौन !

PRIME CA

समृद्धि क्यापिटलले चलाईरहेछ यस्तो ‘गैरकानुनी’ धन्दा, नियामकको नियमको धज्जी उड्दा पनि धीतोपत्र बोर्ड मौन !

१८ बैशाख २०७५, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल धीतोपत्र बोर्डले जारी गरेको निर्देशन विपरित समृद्धि क्यापिटल नामक कम्पनीले गैरकानुनी धन्दा चलाईरहेको खुलासा भएको छ । बोर्डले स्पष्टसँग लगानीकर्ताहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गर्नेगरी, जानकारी वा सुचना प्रवाह गर्ने काममा नलाग्नु नलगाउनु भन्ने निर्देशन जारी गरेपनि सो निर्देशन विपरित कम्पनीले धीतोपत्र डटकम नामक पोर्टल चलाएर धीतोपत्र बोर्डले बन्देज गरेको क्रियाकलाप गरिरहेको खुलासा भएको हो । लामो समयदेखि उक्त पोर्टलमार्फत लगानीकर्ताको मनोविज्ञानमा ठाडो असर गर्नेगरी सामाग्रीहरु प्रकाशित हुने गरिएको छ । धीतोपत्र बोर्डले मर्चेन्ट बैंकले काम गर्न नमिल्ने व्यवस्था गरेको छ । 

धीतोपत्र बोर्ड भन्छ, ‘यो त सिधै गैरकानुनी काम हो’
यस विषयमा हामीले धीतोपत्र बोर्डका सहायक प्रवक्ता निरन्जय घिमिरेलाई सोधेका थियौं । उनले सो काम पूर्ण रुपमा गलत भएको र आवश्यक भए कारवाहिको प्रक्रिया अगाडी बढाउन सकिने बताए । ‘मर्चेन्ट बैंकरले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुरा स्पष्टसँग हामीले भनेका छौं । मर्चेन्ट बैंकर भएर लगानीकर्ताको मनोविज्ञानसँग प्रत्यक्ष असर गर्ने कुनै पनि समाचार वा जानकारी वा सुचना राख्ने अधिकार मर्चेन्ट बैंकरलाइ छँदै छैन ।’ उनका अनुसार विक्री प्रवन्धक, सेयर रजिष्टर, अन्डरराइटिङ, लगानी व्यवस्थापनको कार्य गर्न मर्चेन्ट बैंकले पाइन्छ । शेयर रजिष्ट्रार सेवा अन्तर्गत सेयर नामसारी तथा संगठित संस्थाको तर्फबाट शेयरधनीको अभिलेख राख्ने गर्ने जस्ता कामहरु पनि मर्चेन्ट बैंकरले गर्न सक्छन् । तर लगानीकर्तालाइ असर गर्ने खालका सामाग्रीहरु प्रवाह गर्ने अधिकार मर्च्नेट बैंकरलाइ छैन। ‘ 
समृद्धि क्यापिटलले धीतोपत्र डटकम चलाईरहेको प्रमाण
स्थापना कालदेखि नै ‘चलखेल’को बिजनेश 
यता समृद्धि क्यापिटलले भने सेयर बजारसँग सम्बन्धित विभिन्न सामाग्रीहरु प्रस्तुत गरेर बजारमा चलखेल गरिरहेको भन्दै धितोपत्र बोर्डमा उजुरीसमेत परेको छ । आफैं मर्चेन्ट बैंकरको काम गर्ने अनि आफैं बजारसम्बन्धि आफु अनुकुल व्याख्या गर्ने काम कम्पनीबाट भएको छ । यसो त कम्पनीमा केहि समय अगाडी भ्रष्टाचार प्रकरणमा समेत मुछिएकाहरुसमेतको लगानी छ । धीतोपत्र डटकम नामक पोर्टल चलाएर फोरम सेक्सनमा बजारसम्बन्धि विभिन्न टिप्पणीहरु राखेर कम्पनीले लगानीकर्ताको मानोविज्ञानमाथि खल्ने प्रयास गरेको आरोप उक्त उजुरीमा उल्लेख भएको बुझिएको छ । यसो त उक्त पोर्टलमा बजारमा आफु अनुकुलका अन्तर्वार्ताहरु, र समाचारजन्य सामग्रीहरु पनि राखिएको छैन । उक्त पोर्टलले समाचारहरु प्रकाशनका लागि नेपालको नियामक निकाय प्रेस काउन्सिल र सुचना विभागबाट समेत इजाजत लिएको छैन ।
गैरकानुनी काम रोकिसकिएको सीइओको दावी 
यता समृद्धि क्यापिटलका सीइओ अंगीश घिमिरेले भने आफुहरुले गर्दै आएको गैरकानुनी काम रोकिसकेको दावी गरेका छन् । मर्चेन्ट बैंकले यस्तो पोर्टल चलाएर जानकारी वा समाचार राख्न नपाउने’ भन्ने जानकारी आउनेबित्तिकै आफुहरुले उक्त पोर्टललाइ हाल ‘प्यासिभ’ राखेको उनको दावी छ । ‘अहिले हामीले धितोपत्र डटकमलाइ हाम्रो कम्पनीबाट आउट गर्ने प्रयास गरिरहेका छौं । धितोपत्र बोर्डले यस्तो काम गर्नु हुँदैन भनेको जानकारी पाउने बितिकै हामीले उक्त कामलाइ रोकिसकेका छौं । अहिले हामीले सोर्स खुलाएर अरुका समाचार राख्ने मात्र काम गरिरहेका छौं ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै समृद्धि क्यापिटलका सीइओ घिमिरेले भने, ‘हामी त यो पोर्टल बेच्ने तयारीमा छौं । हामीले धितोपत्र बोर्डको सर्कुलर पाउनेबित्तिकै विश्लेषण छाप्ने काम बन्द गरिसकेका छौं ।’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: