- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सगरमाथा फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड ६१ लाख ८३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको दोस्रो त्रैमासकै तुलनामा दुई करोड ५५ लाख ८४ हजार रुपैयाँले बढी हो । गत वर्ष यही बेला सगरमाथाको खुद नाफा जम्मा तीन करोड पाँच लाख ९९ हजार रुपैयाँमात्र थियो । सगरमाथाको खुद ब्याज आम्दानी पनि राम्रो रहेको छ । यो त्रैमासमा खुद ब्याज आम्दानी आठ करोड २७ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको तुलनामा खुद ब्याज आम्दानी दुई करोड २२ लाख चार हजार रुपैयाँले बढोत्तरी गर्न सगरमाथा सफल भएको छ । गत वर्ष फाइनान्सको खुद ब्याज आम्दानी ६ करोड पाँच लाख ४९ हजार रुपैयाँमात्र थियो । सगरमाथाको रिजर्भ कोषमा पनि राम्रो पैसा जम्मा भएको छ । यो त्रैमासमा फाइनान्सको रिजर्भमा २६ करोड ८९ लाख ७५ हजार रुपैयाँ छ । चुक्ता पुँजी ३६ करोड ९२ लाख ९८ हजार रुपैयाँ रहेको सगरमाथाको यो रिजर्भ कोषले लगानीकर्ता लोभ्याउन सक्ने देखिन्छ ।
गत वर्षको यही त्रैमाससँग तुलना गर्ने हो भने सगरमाथाको रिजर्भ कोष १२ करोड ६३ लाख १४ हजार रुपैयाँले बढोत्तरी भएको हो । उता, चुक्ता पुँजी पनि पाँच करोड पाँच लाख २५ हजार रुपैयाँले बढेको देखिन्छ । गत वर्ष रिजर्भ कोषमा १४ करोड २६ लाख ६१ हजार रुपैयाँ मात्र थियो भने चुक्ता पुँजी पनि ३१ करोड ८७ लाख ७३ हजार रुपैयाँ थियो । यो त्रैमासमा फाइनान्सले खराब कर्जा झारेर २.६५५ मा ल्याइपुर्याएको छ ।
अघिल्लो वर्ष भने खराब कर्जा ३.८७५ थियो । गत बर्ष १९ रुपैयाँ २० पैसा रहेको प्रतिसेयर आम्दानी बढाएर ३० रुपैयाँ ४३ पैसा पुर्याएको छ । सगरमाथाको प्रतिसेयर नेटवर्थ भने १७२ रुपैयाँ ८३ पैसा छ । फाइनान्सले प्रोभिजनमा पनि तीन करोड २३ लाख ४७ हजार रूपैयाँ छुट्याएको छ । कस्ट अफ फन्ड चाहिँ ६.७०५ छ ।