Skip to content
LAXMI SUNRISE BANK

एक वर्षको अवधिमा डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता, रकममा वृद्धि भए पनि उद्योग दर्ताको सङ्ख्यामा कमी

अर्थ सरोकार

काठमाडौं । नेपालमा एक वर्षका अवधिमा डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न ६ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा पाँच अर्ब ३४ करोड ८० लाख, ३० ऊर्जामूलक उद्योगमा एक खर्ब ९ अर्ब ९७ करोड ४० लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ उद्योगमा ८० करोड लगानी रहेको छ।

यस्तै पूर्वाधारका दुई उद्योगमा एक अर्ब ७३ करोड ८० लाख, उत्पादनमूलक ७० उद्योगमा १९ अर्ब ५२ करोड ४० लाख, खनिज क्षेत्रको एक उद्योगमा १२ करोड ३० लाख, सेवामूलक ३३ उद्योगमा पाँच अर्ब ६४ करोड पाँच लाख र पर्यटनसँग सम्बन्धित ४० उद्योगमा १३ अर्ब ४८ करोड ५ लाख लगानी छ । कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको सङ्ख्यामा कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको सङ्ख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आवमा मा एक खर्ब ५२ अर्ब ६२ करोडभन्दा बढीको लगानीमा २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा ७४ ले उद्योग दर्तामा कमी आएको हो । -रासस

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK