×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकममा डरलाग्दो घोटाला, १५ लाखको एप्सलाई ७ करोड खर्च !

PRIME CA

नेपाल टेलिकममा डरलाग्दो घोटाला, १५ लाखको एप्सलाई ७ करोड खर्च !

४ फाल्गुन २०७२, मंगलवार

पढ्न लाग्ने समय: < ६ मिनेट

काठमाडौं– देशका ठूला कम्पनीमध्येका एक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकममा करोडौंको घोटाला हुने गरेको पाइएको छ । राज्य र ग्राहकको आँखामा छारो हाल्दै टेलिकमभित्रका सीमित कर्मचारी रातारात मोटाइरहेका छन् । यसबारे सुइँको पाएकालाई आर्थिक प्रलोभनमा पारी ग्राहकको पसिनामाथि टेलिकमका ‘टाउके’ हरू मस्ती मारिरहेका छन् । नेपाल टेलिकम प्रबन्ध निर्देशकदेखि कम्पनीमा कार्यरत इन्जिनियरको मिलेमतोमा विभिन्न किसिमका घोटाला हुने गरेका छन् ।
स्रोत भन्छ, ‘टेलिकममा हुने गरेका कतिपय घोटाला इन्जिनियरलाई मात्र थाहा हुन्छ । नेपाल टेलिकम प्रबन्ध निर्देशक बुद्धिराज आचार्य व्यवस्थापनका ज्ञाता (चार्टर्ड एकाउन्टेन्ट) भएकाले कम्पनीभित्र हुने गरेका कतिपय प्राविधिक घोटालाबारे उनी सुइँकोसम्म पाउँदैनन् भने कतिपय घोटाला उनकै मिलेमतोमा हुने गरेका छन् ।’

लाखमा बन्ने एप्सलाई सात करोड बढी खर्च
नेपाल टेलिकममा भएका घोटालामध्ये उसले बजारमा ल्याएको एप्स मीटमा भएको मोटो रकमको चलखेल पछिल्लो घोटाला हो । डब्लुडब्लुडब्लु डट मीट डट नेट डट एनपी लगअन गरी एसएमएस तथा ग्रुप च्याटका लागि प्रयोग गरिने यो एप्स बनाउन सात करोड रुपैयाँ खर्च भएको थियो । एप्स बनाउन बोलपत्र आह्वान गरिए पनि उच्चतहका कर्मचारीको मिलेमतोमा मोटो रकम घुस खाएर आफूनिकटको कम्पनी ‘टेलि डिएनए’ लाई काम दिइएको स्रोतको दाबी छ । नाम उल्लेख नगर्ने सर्तमा काठमाडौंमा सञ्चालित एक सफ्टवेर कम्पनी सञ्चालक भन्छन्, ‘यो एप्स बढीमा १५ लाखमा तयार हुन्छ । १५ लाख रुपैयाँ सही ठाउँमा खर्च गर्ने हो भने योभन्दा उत्कृष्ट र गुणस्तरीय एप्स बनाउन सकिन्छ ।’ उनका अनुसार यस्तो एप्स बनाउन सात करोड लाग्दै लाग्दैन । उनको भनाइ छ, ‘यो एप्सको अवस्था हेर्ने हो भने बढीमा १५ लाखमा बनाइएको हुनुपर्छ । एप्सभित्र प्राविधिक समस्या थुप्रै छन् भने एप्स ‘युजर फ्रेन्ड्ली’ छैन । एप्स एकातर्फ निकै डिलो चल्ने र अर्कोतर्फ चलाउन सहज नभएकाले पनि ‘फ्लप’ भएको छ । नेपाल टेलिकमकै थ्रीजी डाटा प्रयोग गर्दासमेत एप्स राम्रोसँग चल्दैन ।’
यो एप्स प्रयोग गरी सयवटा एसएमएस पठाउँदा करिब ८० वटा मात्र ‘डेलिभर’ हुने उनको भनाइ छ । ‘यस्तो गुणस्तरहीन एप्स बनाएर टेलिकमले ग्राहकलाई त झुक्याएको छ नै, राज्यको ढुकुटीमाथि ब्रह्मलुटसमेत गरेको छ,’ काठमाडौंकै अर्का सफ्टवेर कम्पनी सञ्चालकले जिकिर गरे । उनको दाबी छ, ‘हाम्रो कम्पनीलाई त्यो काम दिइएको थियो भने बढीमा १५ लाख रुपैयाँमा तयार पार्थ्यौं ।’
निःशुल्क पाइने सफ्टवेर प्रयोग
नेपाल टेलिकमले लगानी गरेको यो एप्सलाई भारतीय कम्पनी टेलि डिएनए नामक कम्पनीले बनाएको हो । यो एप्समा निःशुल्क पाइने सफ्टवेर ‘एल्ग फ्रेमवर्क’ प्रयोग गरिएको छ । निःशुल्क पाइने फ्रेमवर्कलाई तोडमरोड गरी एप्स निर्माण गरिएका कारण पनि एप्स बनाउन प्रयोग हुने मानव स्रोत र रकम अन्य एप्सको तुलनामा कम लाग्नुपर्ने नेपालका सफ्टवेर विज्ञहरूको तर्क छ । एप्स बजारमा ल्याउनुअघि नेपालकै एक कम्पनीले यसका कमीकमजोरीबारे अध्ययन गरेको थियो । अध्ययनअनुसार एप्समा प्रयोग गरिएका प्रविधि नयाँ–नौलो केही नभएको र एप्स असुरक्षित रहेको निस्कर्षसहितको प्रतिवेदन बुझाइएको थियो । तर पनि टेलि डिएनए र टेलिकमले सो प्रतिवेदनको वास्ता नगरिएको बताइएको छ । उनी भन्छन्, ‘एप्स बजारमा ल्याउनुअघि सुरक्षासम्बन्धी परीक्षण, सिष्टम सेक्युरिटी अडिट र कारोबार ठीक छ कि छैन भन्ने परीक्षण, बिजनेस लजिक अडिट गरिनुपरथ्यो । तर, यस विषयमा निर्माण कम्पनी टेलि डिएनए र टेलिकमले वास्ता नगर्दा करिब पाँचदेखि सात लाखसम्ममा बन्नुपर्ने एप्सलाई करोडौं खर्र्च गरेर भ्रष्टाचार गरिएको छ ।’
प्राविधिक गडबडी गरेर करोडौं घोटाला
टेलिकमले सञ्चालनमा ल्याएको मीट एप्स प्रयोगकर्तालाई धोका दिइरहे पनि कमैले सुइँको पाएका छन् । सयवटा एसएमएस पठाउँदा करिब ८० मात्र ‘डेलिभर’ हुन्छ । २० एसएमएसको रकम प्रयोगकर्ताबाटै काटिन्छ । त्या रकम टेलिकमको खातामा जम्मा हुँदैन । उक्त रकम त्यहाँका इन्जिनियरले बाँडिचुँडी खाने गरेको टेलिकमकै कर्मचारी बताउँछन् । त्यसरी जम्मा रकम मासिक रूपमा भाग लगाउने गरिएको उनको दाबी छ । भन्छन्, ‘यसरी जम्मा रकमले जाँड पार्टीसमेत गरिन्छ । कहिलेकाहीं टेलिकमका उच्चपदस्थ अधिकारी र सञ्चार मन्त्रालयका उच्चतहका कर्मचारी पनि उक्त पार्टीमा पुग्ने गरेका छन् । डेलिभर नभएको पैसा प्रयोगकर्ताबाट काटिने तर टेलिकमको खातामा जम्मा नहुनाले प्रविधि प्रयोग गरेर उक्त रकम निजी खातामा जम्मा हुने व्यवस्था टेलिकमका इन्जिनियरले मिलाएका हुन्छन् ।’
यस विषयमा प्राविधिक ज्ञान नभएकाले खासै खोजतलास गर्न नसक्ने, प्राविधिक ज्ञान भएकाको पहुँच माथिसम्म नहुने र पहुँच भएकाहरू घोटालामा संग्लग्न हुनाले घटना बाहिर आउन सकेको छैन । टेलिकमको खातामा जम्मा नहुने र प्रयोगकर्ताको ब्यालेन्सबाट घट्ने रकम जम्मा गर्दा मासिक लाखौँ रुपैयाँ हुने स्रोतको दाबी छ । स्रोत भन्छ, ‘यो सानोतिनो घोटाला होइन, टेलिकमका ठूलादेखि सञ्चार मन्त्रालयका ‘टाउके’समेत मिलेर जनताको पैसामा मस्ती मारिरहेका छन् । यसबारे रातोपाटीले राखेको प्रश्नमा आईटी सेक्युरिटीमा कार्यरत कम्पनी प्रतिनिधि भन्छन्, ‘प्रमाणविना घोटाला भएकै छ भन्न सकिँदैन तर ठाउँ धेरै छन् । सो एप्स प्रयोग गरेर घोटाला भइरहेको छ वा छैन भन्ने थाहा पाउन ‘इन्फर्मेसन सिष्टम अडिट’ गर्नुपर्छ । नेपालमा बैंकका लागि इन्फर्मेसन सिष्टम अडिट’ अनिवार्य मानिए पनि टेलिकमको हकमा छैन । जहाँसम्म उसले निर्माण गरेको मीटको कुरा छ, यो एप्स सुरक्षाको दृष्टिले निकै कमजोर रहेकोमा विवाद छैन । ‘इन्फर्मेसन सिष्टम अडिट’ गराइएको खण्डमा त्यहाँ भएका घोटाला छताछुल्ल हुनेछन् ।

३५ पैसाको एसएमएसलाई होलसेलमा १२५
नदेखिएका घोटाला त छँदै छन् तर टेलिकमले ग्राहकलाई प्रत्यक्ष रूपमा ठगिरहेको छ । उसले ग्राहकलाई ३५ पैसामा मीटमार्फत प्रदान गर्ने एसएमएस ‘भ्यालु एडेड सर्भिस’
(भ्यास) प्रदायकलाई भने होलसेलमा १२५ पैसामा बेच्ने गरेको छ । उक्त सेवा ग्राहकसम्म आइपुग्दा प्रतिएसएमएस १३५ पैसा देखि १९० पैसासम्म पर्ने गर्छ । सस्तोमा बेच्न मिल्ने सेवा पनि महँगोमा बेचेर टेलिकमले घोटाला गरिरहेको छ । यसरी प्रदान गरिएका एसएमएस सेवामा पनि ‘डेलिभर’ नभएका एसएमएसको पैसा भ्यासको खाताबाट काटिने तर टेलिकमको खातामा जम्मा नभई मोटो रकम इन्जिनियरको पोल्टामा पर्ने गरेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘कमिसन पाइने हुनाले विभिन्न परीक्षाको नतिजाको जानकारी दिन प्रयोग हुने एसएमएस सेवा दिन भ्यासलाई पनि अनुमति दिइएको छ भने टेलिकम स्वयम्ले पनि उक्त सेवा दिने गरेको छ । टेलिकमकै एक कर्मचारी भन्छन्, ‘३५ पैसामा सेवा दिने तर भ्यासमार्फत त्यही सेवा १२५ पैसामा बेच्नु सरासर ग्राहकमाथिको अन्याय हो । तर, सेवा जति महँगोमा बेच्यो त्यति नै बढी कमिसन आउने र चुहावट भएका एसएमएसबाट मोटो रकम प्राप्त हुनाले टेलिकममा मनपरी काम हुँदै आएको छ ।

कमिसन लोभमा अवैधानिक कामलाई प्रोत्साहन
टेलिकमकै कर्मचारीको मिलेमतोमा कमिसनको लोभमा अवैधानिक काम हुने गरेको पाइएको छ । टेलिकमले सस्तोमा अन्तर्राष्ट्रिय ‘गेटवे’ बाट प्रदान हुने सेवा बेचिरहेको छ, जुन नेपालकै कतिपय कम्पनीले अवैधानिक ढंगले महँगोमा खरिद गरी प्रयोग गरिरहेका छन् । उक्त सेवा नेपालले भ्यास प्रदायक कम्पनीलाई दिन भने टेलिकम मान्दैन । टेलिकमले दिएको उक्त सेवा प्रदान गर्न चाहिने ‘एपीआई’ भ्यास प्रदायकलाई अन्तर्राष्ट्रिय गेटवेमा सेवा नबिक्ने र कमिसन नपाउने डरले टेलिकमले दिन आनाकानी गरेको स्रोत बताउँछ । अन्तर्राष्ट्रिय गेटवेमा केही अतिरिक्त सुविधा छन् । ती सेवा चाहिने संस्था तथा व्यक्तिले उक्त गेटवे प्रयोग गर्ने गरेका छन् । उक्त सेवा नेपालका भ्यासप्रदायकलाई दिने हो भने नेपाली लगानी एकातर्फ बाहिरिँदैन भने अर्कोतर्फ सेवाग्राहीले सस्तो मूल्यमा सेवा पाउँछन् ।
कमिसनमा पौडी खेल्न बानी परिसकेका टेलिकम कर्मचारीले कमिसनकै लोभमा यसरी अवैधानिक कामलाई प्रोत्साहन गरिरहेका छन् । नेपालमा अन्तर्राष्ट्रिय गेटवे प्रयोग गर्नु अवैधानिक मानिन्छ । तर, आवश्यक परेको खण्डमा सजिलै अवैधानिक काम गर्न सकिन्छ । टेलिकमले कमिसनकै लोभमा सो कामलाई निरुत्साहित नगरेको सरोकारवालाको दाबी छ ।
भ्याट यसरी छलिन्छ
नेपाल टेलिकम सबैभन्दा बढी भ्याट तिर्ने कम्पनीका रूपमा चिनिन्छ । तर, टेलिकमसम्बद्ध इन्जिनियरको मिलेमतोमा भ्याट छलीसमेत हुने गरेको पाइएको छ । मीटबाट पठाइएका सयमध्ये करिब ८० एसएमएसमात्र ‘डेलिभर’ हुँदा अन्य एसएमएसको भ्याटसहितको रकम इन्जिनियरको पोल्टामा पर्ने गरेको हो । कानुनअनुसार भ्याट उठाएर नातिर्नुलाई आपराधिक कार्यका रूपमा लिइन्छ । प्रत्येक एसएमएसमा १३ प्रतिशतको दरले भ्याट जोडिएको हुन्छ । तर, प्राविधिक गडबडी गरी लुटिएको रकममा १३ प्रतिशत भ्याट पनि जोडिनाले भ्याट छली हुने गरेको हो । आन्तरिक राजस्व विभागले वितरण गर्ने उत्कृष्ट करदाताको सूचीमा टेलिकम पनि रहेको छ भने केही वर्षयता सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा समेत टेलिकमलाई सम्मान गरिने गरिएको छ । स्रोत भन्छ, ‘राजस्वका कर्मचारीलाई समेत यो धन्दाबारे थाहा छ । तर, प्रविधि दुरुपयोगबारे थाहा नहुँदा टेलिकमलाई विभागले समेत छानबिनको दायरामा ल्याउन सकेको छैन ।’

कमिसनकै लोभमा ‘साइबर क्राइम’ प्रोत्साहित
‘तपाईंलाई एक मिलियन डलरको चिठ्ठा पर्यो’ भन्ने अन्तर्राष्ट्रिय नम्बरबाट एसएमएस आएको हामीले सुनेका, देखेका छौं । यसरी चिठ्ठा पर्यो भन्ने अनि पैसा लिन सुरुमा विदेशी एकाउन्टमा सीमित रकम जम्मा गर्न लगाई ठगी गरिएको पनि हामीले सुनेका, देखेका वा भोगेका छौं । तर, धेरैलाई यस्तो काम नेपाल टेलिकमकै कमजोरीका कारण भइरहेको छ भन्ने थाहा छैन । टेलिकमले अन्तर्राष्ट्रिय ‘गेटवे’ लाई नियन्त्रण गर्न नसक्दा वा गर्न नचाहँदा इन्टरनेसनल ‘गेटवे’ बाट चोरी गरिएका एसएमएसबाट यस्तो अपराध हुने गरेको स्रोतको दाबी छ । टेलिकमकै यो लापरबाहीका कारण ग्राहक ठगिइरहेका छन् भने उसको लापरबाहीका कारण कतिपयले नक्कली एसएमएसका कारण धनमाल गुमाइरहेका छन् ।

टेलिकम प्रबन्ध निर्देशकले समय दिएनन्
नेपाल टेलिकम प्रबन्ध निर्देशक बुद्धिराज आचार्यसँग यसबारे बुझ्न गएका पत्रकारलाई  समय नभएको भन्दै एक सातापछि मात्र भेट्न आउनू भनी फिर्ता पठाएका छन् । गत बिहीवार दिउँसो दुई बजे टेलिकम कार्यालय, भद्रकली पुगेका पत्रकारलाई आचार्यका सहयोगीले भनिन्, ‘सरले भ्याउँदिनँ भन्नुभएको छ । एक सातापछि मात्र आउनुहोस् ।’ भेट्न नमिले फोनमै कुरा गर्ने भन्दै प्रबन्ध निर्देशकको मोबाइल नम्बर माग्दा उनले व्यक्तिगत नम्बर दिन नमिल्ने र कार्यालयको नम्बरमा कल गरेर आउन आग्रह गरिन् । यही प्रकरणबारे बुझ्न पुगेका पत्रकारलाई केही दिन अगाडि पनि निर्देशक कार्यालयमा नभएको भन्दै फर्काइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: