×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सयौं वेब साइट ह्याक गरेका बिकास भन्छन्, ‘म ‘ह्याकर’ होइन ‘लर्नर’ हुँ’

  • अर्थ सरोकार सम्बाददाता

बिकास पौडेल ।केहि समय अघि विभिन्न सरकारी वेव साइट ह्याक गरेको अभियोगमा प्रहरीले पक्राउ परी २५ दिन हिरासतमा राखेर ढलौटीमा छुटेका एक किशोर । अझैसम्म पनि उनको मुद्दा सकेको छैन । गत चैत्र ७ गते पक्राउ परेर बैशाख २ गते प्रहरी हिरासतबाट छुटेका उनी नेपाल टेलिकमलगायत विभिन्न सरकारी निकायको वेवसाइट ह्याक गरेको अभियोगमा उनलाई साइबर अपराध अन्तर्गत मुद्धा चलाइएको छ । 
मंगबाल अर्थ सरोकार डटकमको कोटेश्वरस्थित कार्यालयमा आएका बिकासले अर्थ सरोकारकर्मीसँग कुराकानी गर्दै आफु ‘ह्याकर’ नभई ‘लर्नर’ भएको बताएका छन् । उनले आफु सिक्दै गरेको हुनाले आफुलाई ‘लर्नर’ भन्न रुचाउने बताएका छन् । अर्थ सरोकारकर्मीले उनीसँग थप कुराकानी गरेका छन् । हेरौं कुराकानीको केहि अंश :     
आजकल के गर्दै हुनुहुन्छ ?
कक्षा १२ मा पढ्दैछु । बिहान ४ बजे उठ्छु । कलेज जान्छु र फर्कन्छु । गेम खेल्नमा बढी समय बित्छ । मेरो मोबाइल मलाइ फिर्ता दिइएको छैन । त्यसैले फेसबुकबाट मात्र अरुसंग सम्पर्कमा छु ।    
  
तपाईंलाई प्रहरीले किन समातेको भन्ने थाहा थियो ?
ठ्याक्कै के अभियोग भन्ने त थाहा थिएन । तर वेव साइटहरु ह्याक गरेको भनेर प्रहरीले समातेको भन्ने कुराचाहीं थाहा थियो । नेपाल टेलिकमले गरेको उजुरीको आधारमा मलाई प्रहरीले समातेको भन्ने थाहा छ ।

प्रहरीले पक्रदा कहाँ हुनुहुन्थ्यो ?
बाबासँग किनमेलको लागि सुन्धारा गएको थिएँ । घर फर्किंदा पक्राउ परें ।
 यसरी वेवसाइट ह्याक गर्नु अपराध  हो भन्ने थाहा थिएन ?
अपराध नै हो वा प्रहरीले पक्रन्छ भन्ने थाहा थिएन । 

वेवसाइट ह्याक गर्ने सोच कहाँबाट आयो ?
मलाई मेरो देशको एकदम माया लाग्छ । सुरुमा मैले इन्टरनेटमा बिदेशीहरुले नेपालको ’साइबर सेक्युरिटी’ निकै कमजोर छ भनेको सुनें । विदेशीले त्यस्तो भन्दा निकै दुख लाग्थ्यो । मलाई पहिला वेवसाइट ह्याक गर्नुपर्छ भन्ने लागेको थिएन । विभिन्न वेव साइटको ’सेक्युरिटी’ निकै कमजोर छ भन्ने पत्ता लागेपछि मैले वेव साइटको सेक्युरिटीबारे सम्बन्धित ठाउँमा रिपोर्ट पनि गरें । तर त्यसको जवाव नआएपछि ह्याक गरेको हुँ ।
प्रहरीले पक्राउ गरेपछि ’बेक्कार यस्तो गरेछु’ जस्तो लागेन ?
कहिलेकाहीं लाग्थ्यो । तर मैले वेवसाइट ह्याक गरेको आफ्नै देशका वेवसाइटहरु सुरक्षित हुन् भनेर हो ।  मैले कुनै पनि डाटालाई दुरुपयोग गरेको छैन । विदेशमा वेवसाइटमा भएका यस्ता समस्याहरुबारे रिपोर्ट गर्नेलाई पुरस्कृत गर्ने चलन छ । नेपालमा त त्यो अपराध हुँदोरहेछ ।
तपाईंसम्म प्रहरी कसरी आइपुग्यो भन्ने थाहा छ ?
थाहा छ । मैले नेपाल टेलिकमको साइट ह्याक गर्दा मोबाइल प्रयोग गरेको थिएँ । त्यहिबाट मेरो जानकारी प्रहरीले ’ट्रेस’ गर्यो ।
नेपाल टेलिकमको वेवसाइट कमजोर नै हो त ?
हो । निकै कमजोर छ नेपाल टेलिकमको सेक्युरिटी । यसमा अझैपनि कुनै सुधार आएको छैन । मैले त नेपाल टेलिकमले आफ्नो सेक्युरिटी बलियो बनाओस् भनेर केहि डाटाहरु ह्याक गरी त्यसलाई फेसबुकमा हालेको थिएँ ।  तर त्यसैलाई आधार बनाएर मलाई पक्राउ गरियो । म पक्राउ परेपछि नेपाल टेलिकमका केहि सरहरु मलाई भेट्न आउनुभएको थियो।  मैले कसरी साइट ह्याक गरें भन्नेबारे पनि सोध्नुभयो । आज पनि म दावाका साथ् भन्न सक्छु, नेपाल टेलिकमको ’सेक्युरिटी’ निकै कमजोर छ । मलाई पो प्रहरीले पक्राउ गर्यो त ।  कुनै पनि बेला विदेशीले नेपाल टेलिकमका डाटाहरु दुरुपयोग गर्न सक्छ ।

नेपाल सरकारका अन्य कुन कुन साइटमा समस्या छ ?
नेपाल सरकारका ९० प्रतिशत वेव साइटहरु अशुरक्षित छन् । मलाई पक्राउ गरिनु अघि, मेरो अन्तराष्ट्रिय ह्याकरसँग पनि कुराकानी हुन्थ्यो । उनीहरु गुगल डट कम डट एनपी समेत ह्याक हुने अन्तिम चरणमा पुगेको र उक्त वेव साइटमको सर्भरमा आफ्नो पहुँच पुगीसकेको बताउँथे । यो साइट छिट्टैनै ह्याक हुनसक्छ ।  अब गुगल डटकम डट एनपी नै ह्याक भयो भने हामी नेपालीहरुको के इज्जत रह्यो र अन्तराष्ट्रिय साइबर बजारमा ? हाम्रो देशमा त तिम्रो साइटमा समस्या छ भनेर सचेत गराउँदा अपराधि भइदो रहेछ । अन्य थुप्रै साइटहरुमा समस्या छन् । ५०० बढी सरकारी साइटहरु ह्याक भइसकेका छन् । 
अबचाहिं वेव साइट ह्याक गर्नुहुन्छ कि हुन्न ?
ह्याकनै भनेर चाहिं गर्दिन होला । तर कुन साइटमा समस्या छ भनेर रिपोर्ट चाहिं गर्छु । मैले बिगतमा पनि त्यहिनै गर्थें । कुनै सरकारी साइटमा समस्या छ भने त्यहाँको इमेलमा रिपोर्ट गर्थ्यें तर कुनै पनि जानकारी आउंदैनथ्यो । विदेशमा रहेका साइटहरुबारे रिपोर्ट गर्यो भने केहि दिनमै प्रतिकृया आउँछ । मेरो उदेश्यनै ’इथिकल ह्याकर’ बन्ने हो ।
प्रहरी हिरासत बाट छुटिसकेपछी कस्तो लागेको छ ?
करिव २५ दिनको हिरासतको बसाइ पछी घर फर्केको छु । ममाथि लागेका विभिन्न अभियोगबारे बुझ्न बाबा अदालत धाइनै रहनुभएको छ । ३० हजार ढलौटी तिरेर निस्किएँ । खोइ कस्तो लागेको छ भन्नु । तर मैले नगरेपनि हाम्रो देशका साइटहरु विदेशीले ह्याक गर्छन् । हामी आफैं कमजोर छौं के भन्ने ? मलाई त प्रहरीले पक्रियो, ती बिदेशीहरुले नेपालीहरुको डाटा दुरुपयोग गर्यो भयो को जिम्मेवारी हुन्छ ? सर्वोच्च अदालतको वेवसाइट थुप्रै पटक पाकिस्तानी ह्याकरबाट ह्याक भइसकेको छ । अदालत जस्तो संबेदनशील निकायको डाटाहरु बिदेशीको पक्कडमा हुँदा त्यसले देशलाई निकै घाटा हुन्छ । नेपाल टेलिकमको सेक्युरिटी कतिसम्म कमजोर छ भन्ने कुरा बयाननै गर्न सकिन्न । टेलिकममा भएका हाम्रा कुनै पनि डाटा सुरक्षित छैनन् । यी कुराहरु सम्झेर दुख लाग्छ ।
प्लस टु पछी के गर्ने सोच छ ?
आइटी पढ्छु । नेपालको खुब माया लाग्छ । विदेश जान मन छैन । तर यहाँ त कसैको समस्या औंल्याईदिंदा अपराधि बनिदो रहेछ । विदेशमा त्यहि कुराले स्याबासी पाइन्छ, पुरस्कार पाइन्छ । 
अरुले ह्याकर भन्दा कस्तो लाग्छ ?
म त सिक्दैछु । म ह्याकर होइन, ‘लर्नर’ हो।  
अव तपाईंलाई के सजाय हुन्छ भन्ने थाहा छ ?
ठ्याक्कै चाहिं थाहा छैन । पत्र पत्रिकामा २ बर्ष जेल सजाय हुन्छ भन्ने सुनेको पढेको थिएँ ।  त्यो चाहिं गलत हो भन्ने सुनेको छु । यदाकदा १८ बर्ष नपुगेकोलाई कम सजाय हुन्छ भन्ने पनि सुनेको छु । मेरो उमेर १८ बर्ष पुगेको छैन । नागरिकता पनि बनाएको छैन । २०५६ साल असार ३१ गते  जन्मेको हुँ।  जन्मदर्तामा पनि त्यहि मिति छ । तर प्रहरीले १८ बर्ष पुगेको भनेर बाहिर पत्रिकामा दिनुभएको रहेछ । हेरौं के हुन्छ ? अव अदालतले टोकेको सजाय त हुन्छ नै !    
सरकारलाई  के भन्न चाहानुहुन्छ ?
हाम्रो देशको वेव साइट सुरक्षित राख्न पहल गर्नुहोस् । हाम्रो देशका डाटाहरु मजस्ताले ह्याक गर्दा पो दुरुपयोग भएन, विदेशीले ह्याक गर्यो भने देशलाई निकै घाटा हुन्छ । मिल्छ भने म प्रहरीकहाँ हुँदा छुटेको मेरो कक्षा ११ को कंप्यूटर बिषयको प्राक्टिकल परीक्षा दिने वातावरण बनाईदिए हुन्थ्यो ।                                        
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: