काठमाडौँ – विश्व क्रिकेटका हस्ती एवं अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले नेपाली युवा क्रिकेटरलाई क्रिकेट खेल्न अस्ट्रेलिया बोलाएका छन् ।
सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत एक पत्र सार्वजनिक गर्दै क्लार्कले नेपालका १६ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेलाई अस्ट्रेलियामा खेल्ने अपसर मिलेको जानकारी गराएका हुन् ।
केही महिनाअघि हङकङमा एउटै क्रिकेट क्लबबाट टी–२० प्रतियोगिता खेलेदेखि सन्दीपप्रति प्रेम दर्शाएका क्लार्कले अस्ट्रेलियाको पश्चिमी क्षेत्रको जिल्ला क्रिकेट क्लबबाट क्रिकेट खेल्ने अवसर पाएका हुन् । उनले क्लार्कको क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछन् र सोही एकेडेमीबाट उमेर समूहको खेल खेल्नेछन्।
यसबारे जानकारी दिँदै सन्दीपले ट्वीटरमार्फत क्लार्कलाई धन्यवाद दिँदै आफू क्रिकेट खेल्न अस्ट्रेलिया जान लागेको जानकारी दिएका छन् । उनको ट्वीटमा मेन्सन गर्दै क्लार्कले सन्दीपलाई भेट्न आतुर रहेको बताएका छन् ।
सन्दीप अस्टेलियामा बस्दा लाग्ने सम्पूर्ण खर्च सोही क्रिकेट एकेडमीले बेहोर्ने छ । क्लार्कले हङकङमा सन्दीपको खेल हेरेपछि यसअघि नै उनलाई आफ्नो एकेडेमीमा अबसर जुटाइदिने बताएका थिए ।