×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारजी अगस्तमुनि शेयर सम्बाद !

PRIME CA

कुमारजी अगस्तमुनि शेयर सम्बाद !

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • रामु खनाल (सेयर बजार विश्लेषक)
कुमारजी आज्ञा गर्नु हुन्छ , हे अगस्तमुनि… हजुरका मुखारविन्दबाट धेरै ज्ञानगुनका कुराहरु सुनियो, धेरै कुराहरुको बारेमा बुझियो ।  हजुरका ति कर्णप्रिय बाणीहरुले यो मन मस्तिक पवित्र भयो , धन्य प्रभु ! अब हजुरका मुखारविन्दबाट नेपालको शेयर बजारका बिबिध पक्षहरुको बारेमा  जान्न सुन्न   यी कानहरु आतुर छन्, आज्ञा होस् प्रभु ! अगस्तमुनि भन्नु हुन्छ , हे कुमार जीनेपालको शेयर बजारको  बिबिध पक्षहरुको बारेमाआज केहि तिमीलाई बताउछु , एकाग्रता पुर्बक ध्यान दिएर सुन| हस प्रभु भन्दै , दुवै हात जोडी , पलेटीमारी बसेर  एकचित्त  भइ सुन्न थाल्नुभयो । 
अगस्तमुनि भन्नुहुन्छ , नेपालको शेयर बजारको बारेमा हजार जिब्रो भएका शेष नागले त सविस्तार बर्णन गर्न सक्दैन तर म के सकुला र पनि केहि कुराहरु बताउ छु ल सुन :  आजभन्दा केहि बर्ष अगाडीसम्म यो पशुपतिनाथको पावन भुमिमा शेयरबजारको बारेमा धेरैलाई ज्ञान थिएन । 
शुरुवाती समयमा कुनै कम्पनीको शेयर सर्टिफिकेट प्राप्त गर्दा  केके न  पुरस्कारनै पाए जस्तो गरि सिसाको फ्रेम बनाइ सजाएर राख्ने मनुवाहरु यहि लोकमा हाल सम्म जीवितै हुनुहुन्छ । जब  बजार गत १-२ बर्ष देखि निरन्त उकालो तर्फ लाग्यो के बालक , के बृद् , के महिला , के युवा , के ब्यापारी , के कर्मचारी , के नेता , के विद्यार्थी  हुदा हुदा गेरु बस्त्रधारी बाबाजी हरुको समेत यस बजारमा प्रवेश भयो ।
घरघरमा ,अफिस अफिसमा , टोल टोलमा , सवारीसाधन हरुमा, साथी भाइहरु संगको  भेटघाटमा पनि यसकै चर्चा हुन थाल्यो । यसको चर्चा परिचर्चा यति चुलियो कि दिन दुइ गुणा रात चौगुणा बढ्दै गयो । एक यौवना युवतीले एक नौजवान युवालाइ आकर्षण गरेजस्तै सबैजना आकर्षण हुन थाल्नुभयो । अप्सराहरुको अगाडी भगवान इन्द्र लिप्त भए जस्तो यस बजारको अगाडी सबै जना लिप्त हुन थाल्नुभयो । आमाहरु आफ्ना बच्चारुलाइ विद्यालयमा छोडेर ब्रोकर अफिस धाउन थाल्नुभयो , बाबाहरु आफिस बाटनै ब्रोकर अफिसमा फोन गरी शेयर खरिद बिक्रि गर्न थाल्नुभयो । 
बाबामम्मीहरुको अतिरिक्त आम्दानीको गतिलो स्रोत बन्यो शेयर बजार । मनग्य आम्दानी हुन थालेपछि बाबा मम्मी हरुमा प्यार पनि बढ्न थाल्यो । आर्थिक अभाव हुने घर झगडा बन्द हुन थाल्यो ।  आफुले चाहेजस्तो खेलौनाहरु बाबा मम्मीले किनिदिन थाले पछि बच्चाहरु पनि दंग पर्न थाले । एवं रितले दिनहरु बित्दै गए, सबैमा खुशीको माहोल बढ्दै गयो । आज लगानी गरेको भोलिनै आम्दानी  हुन थालेपछि सबै खुशीले गदगद हुन थाले ।
  
दैवको लिला यो खुशीको सिमा १८८१ विन्दुमा गएर अडकियो । त्यहाँभन्दा माथि जान सकेन । जब बजार घट्न थाल्यो चारैतिर त्राहिमाम त्राहिमामको बाताबरण श्रीजना भयो । प्रभु हाम्रो बिचल्ली हुनेभयो , हामीहरुलाई धेरै घाटा हुने भयो , हामीहरुलाइ यो भवसागर बाट उद्धार गरि पाउ भनि लगानीकर्ताका संघ संगठनहरु  अर्थमन्त्रालय लगायतका बिभिन्न ठाउहरुमा जान थाल्नु  भयो ।  
आश्वासन त धेरैतिरबाट पाउनुभयो तर देखिनेगरी कुनै नतिजा प्राप्त हुन सकेको छैन , बजार निरन्त घटिरहेको छ । बढ्ने आशामा उहाहरु त   हुनुहुन्छ तर कहिले बाट बढ्न शुरु गर्छ भन्ने कुरामा उहाहरु नै अनुरत्तिर हुनुहुन्छ । बजार किन घटिरहेको छ , यो निरन्तरको घटाई वास्तविक हो कि नियोजित चलखेल हो र शेयर बजारका अन्य बिबिध पक्षहरुको बारेमा  अर्को अध्यायमा  सबिस्तार बर्णन गर्ने छु । 
इति श्री स्कन्ध खण्डे, माघ महात्मे कुमार अगस्तमुनि शेयर सम्बादे प्रथमो अध्याय यहि समाप्त !!!
एक बार बोलिए :- शेयरेश्वरि कि , जय !
शेयर परमेश्वरि माता कि,जय!!
सम्पूर्ण लगानीकर्ताहरु कि , जय !!! 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: