- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ – आज जेठ १५ अर्थात गणतन्त्र दिवस । १० बर्षे ‘जनयुद्ध’ र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रले घुंडा टेकेको दिन । तत्कालीन राजा ज्ञानेन्द्रले शाशन सत्ता जनताको हातमा सुम्पेको दिन । अनि थुप्रै सपनाहरुकाबीच जनताले राहतको स्वाश फेर्न पाइन्छ भनेर परिकल्पना गरेको दिन । त्यहि दिन, जसका लागि ‘जनयुद्ध’मा हजारौंले बलिदान दिए । १९ दिने आन्दोलनमा थुप्रैले ज्यान गुमाए । देशमा व्यवस्था फेरियो तर अवस्था फेरिएन । जेका लागि युद्ध गरिएको थियो, त्यो पूरा हुँदै भएन । जे अपेक्षा राखेर जनता सडकमा उत्रिएका थिए, त्यो आशमाथि कुठाराघात भयो । देशले जनतालाई गणतन्त्रको आभास दिन सक्दै सकेन । बस् एउटा राजा फेरिए, थुप्रै राजाहरु जन्मिए । अझ गाउँ-गाउँमा चोकचोकमा गल्ली-गल्लीमा राजाहरु जन्मिए । सामन्तवादको नयाँ स्वरूप देखा पर्यो । यस्तैमा नेपाली बैंकिङमा पनि नयाँ राजाहरु जन्मिने क्रम जारी छ । यसपाली त नाम पनि उही नै पर्यो । ज्ञानेन्द्र ।
उही ज्ञानेन्द्र जो अहिले पनि आफुलाई गणतान्त्रिक देशको बैंकिङका ‘राजा’ सम्झन्छन् र मनलाग्दी गर्छन् । देशमा नियामक निकाय छ । तर आफैं राष्ट्र बैंकको गभर्नर हुँ जसरी ब्याजदर तोक्छन्, नमान्नेलाई सिन्डिकेट लगाउंछन् अनि आफ्नो अस्तित्व बचाउन भरपुर प्रयास गर्छन् । नियम विपरित कार्यकाल थपिएको मुद्धा अख्तियारमा पुगेको छ, राष्ट्र बैंकमा आधा दर्जन बढी उजुरी छन् । तर उनलाई कसले रोक्ने, कसले छेक्ने ? चिरन्जीवी नेपाल गभर्नर हुँदा ‘झन्डै गभर्नर’ बनेका उनी त्यहि गभर्नर बन्न नपाएको झोंक अहिलेसम्म पोखीरहेका छन् । जसले जनताको बढी ब्याज पाउने अधिकार आफ्नो हातमा लिएको छ भने नेपाली बैंकिङ क्षेत्रलाई आफ्नो मुठीमा राखेको छ ।
बैंकिङ क्षेत्रको बिल्ला भिरेर आफु सीइओ रहेको बैंक, ‘नेपाल बंगलादेश बैंक’को राम्राका लागि जनताको अधिकारमाथि धावा बोल्ने ज्ञानेन्द्र सरकारको युगको पनि अन्त्य हुन जरुरी छ । खुला अर्थतन्त्रमा जनताले पाउने अधिकार र स्वतन्त्र प्रतिष्पर्धाको नियमविपरित उनले चालेका थुप्रै कदमहरुका विरुद्ध सबैजना एक हुन आवश्यक छ । ढुंगाना बैंकर्स संघको अध्यक्ष छन् तर बैंकिङ क्षेत्रमा खुब दास मानसिकता छ । कर्मचारीहरु पेलानमा परेका छन् तर उचित पारिश्रमिक अझै छैन । धारा बनाउने एउटा मजदुरले २ घण्टा ‘कसकास’ गरेको भरमा २००० को बिल बनाउने समयसम्म आइपुग्दा पनि बैंकिङ क्षेत्रमा दिनभर काम गरेर १००० रुपैयाँ नपाउनेहरु धेरै छन् । सीइओको चाकडी गरेमात्र जागिर जोगिने समस्या छ । सीइओहरुले जे गरेपनि हुन्छ भन्ने भ्रम छ । बैंककै चेलीहरु सुरक्षित छैनन् कतिपय ठाउँमा । अपार्टमेन्टमा ‘लड्की’ राखेर आफु जनताको पक्षमा लडिरहेको ‘ढोंग’ पिट्नेहरुका दिन सक्किन आवश्यक छ ।
सन्दर्भ ज्ञानेन्द्र ढुंगानाको मात्र कदापी होइन, थुप्रै आउन सक्ने अरु ज्ञानेन्द्रहरुको हो । ज्ञानेन्द्र पात्र होइन ज्ञानेन्द्र प्रवृतिको हो । त्यसैले यो प्रवृतिको निर्मूलीकरण हुनुपर्छ ।