Skip to content
LAXMI SUNRISE BANK

‘तुरून्तै विद्यालय खोल्न सकिने अवस्था छैन’ : शिक्षा मन्त्री पोखरेल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा गत चैत २२ गतेदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा उनले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था छिट्टै नआउने भएकाले सिकाइ क्रियाकलाप वैकल्पिक विधिबाट सञ्चालन गर्नुपर्ने उल्लेख गरेका हुन् ।
शिक्षाको वैकल्पिक धारको नेतृत्व गरी शिक्षकलाई प्रविधिसँग नजिक बनाउन प्रयत्नशील रहेकामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन परिवारलाई उनले धन्यवाद व्यक्त गरे । विद्यालय तहको कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सकिएको भए पनि कक्षा १०, ११ र १२ को परीक्षा हुन नसकेको अवस्थामा सरकारद्वारा गठित समितिको प्रतिवेदनको आधारमा स्थगन परीक्षा कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गरिने उनले बताए ।

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको धारण :   
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले कोरोना महामारीको विद्यमान अवस्थामा शिक्षण सिकाइ क्रियाकलापका वैकल्पिक उपायको आवश्यकता रहेको बताउँदै त्यसको नेतृत्व गर्ने सङ्गठनको कास्की समितिलाई धन्यवाद व्यक्त गरेका छन् । शिक्षक महासङ्घले कक्षा १० का विद्यार्थीको एसइई परीक्षालाई मध्यनजर गरी गठित विद्यार्थी हेल्प डेस्कमा बसी सहयोग गर्ने ३५ शिक्षकको सम्पर्क फोनलाई टोल फ्रि बनाउने कुरा सरकारका प्रतिनिधिसँग भए पनि कार्यान्वयनमा नआएको बताए ।
उनले सबै विद्यार्थी पैसा तिरेर शिक्षकलाई फोन गर्न सक्ने अवस्थामा नभएकाले तुरून्त शिक्षकहरूका तोकिएका सम्पर्क फोनलाई टोल फ्रि बनाउन आग्रह गरे । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले शिक्षकलाई प्रविधिमैत्री बनाउन कास्कीले लिएको अग्रसरताको प्रशंसा गर्नुभयो । कोरोना कहरले बन्दाबन्दीको अवस्थामा देशैभरिबाट एकाएक शिक्षक प्रविधिको उपयोगप्रति उत्सुक देखिएको उनले बताए ।
सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले प्रशिक्षणको शुरूदेखि आजसम्मका कार्यक्रम, सहभागी, उपलब्धि तथा चुनौती सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला सचिव तीर्थराज ढकाल, सङ्गठनका उपाध्यक्षद्वय वसुन्धरा पौडेल र हर्कबहादुर लामिछाने, गण्डकी प्रदेश अध्यक्ष रामप्रसाद पोखरेल, वरिष्ठ उपाध्यक्ष केशवराज घिमिरेलगायतले कोरोना महामारीमा अनलाइन शिक्षाको आवश्यकता तथा औचित्य बढ्दै गएकामा जोड दिएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK