
काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै आजदेखि कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुसमेत बढेका छन् ।
नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर बसपार्कका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको बताउनुहुन्छ । “बसको टिकट लिन लाइन बस्दा कोरोना सङ्क्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेका हौँ, आगामी दिनमा अनलाइन र एप्समार्फत टिकट काट्ने व्यवस्था गर्नैछौँ,”–उहाँ भन्नुहुन्छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण तीब्र गतिमा फैलिरहेको बेला ल्होत्से बहुउद्देश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कम्युटर प्रणाली जडान गरी टिकट बुकिङको व्यवस्था मिलाएको हो । यस्तै, अबको केही दिनभित्र नै ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेको छ ।
प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल यात्रुको सहजताका लागि नयाँ बसपार्कमा अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था मिलाइएको बताउनुहुन्छ । “विगतमा विभिन्न व्यक्तिबाट यात्रु ठगिने, महङ्गो बसभाडा तिर्नुपर्नेलगायत समस्या आएकाले अब त्यस्तो हुन नदिन अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाएका हौँ,”–उहाँ भन्नुहुन्छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले कम्युटर प्रणाली र अनलाइनमार्फत टिकट बुकिङको व्यवस्था शुरु गरेसँगै विभिन्न बस कम्पनीहरु अनलाइन माध्याममा जान शुरु गरेका छन् । आजैदेखि काठमाडौँबाट प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम र उदयपुर र प्रदेश २ को सिरहा र सप्तरी जाने ५४ बस कम्पनीले कम्युटर प्रणालीमार्फत अनलाइन टिकट बुकिङ शुरु गरेका हुन् ।
उक्त ५४ कम्पनी मिलेर बनेको काठमाडौँ–पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रुलाई सुरक्षित र भरपर्दो तवरले पूर्व लैजानका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर तयारी अवस्थामा बसेका छन् । प्रालिका अध्यक्ष श्री श्रेष्ठ कोरोना सङ्क्रमण फैलिन नदिन सामाजिक दूरी कायम गरी अन्तर्राष्ट्रिय स्तरको बससेवा प्रदान गर्नका लागि आफूहरुले अनलाइनमार्फत टिकट बुकिङ खुला गरेको बताउनुहुन्छ । अनलाइनमार्फत टिकट बुकिङ शुरु गरेपछि यात्रु नठगिने उहाँको भनाइ छ ।
उक्त प्रालिमार्फत काठमाडौँबाट पूर्वाञ्चल क्षेत्रमा २७५ सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । सो प्रालिमा डिलक्स, एसी र सामान्य बसहरु सञ्चालित छन् । प्रालिका सचिव रुद्रबहादुर कार्की सरकारले तोकेको मापदण्डलाई पूर्ण रुपमा पालना गरेर बस सञ्चालनको तयारी गरेको बताउनुहुन्छ । “कोभिड–१९ का कारण ६ महिनादेखि अस्तव्यस्त रुपमा रहेको यातायातलाई पूर्ववत अवस्थामा फर्काउनका लागि अनलाइन माध्यामबाट टिकट बुकिङ गरी सरकारले तोकेअनुसारको भाडादरमा यात्रु बोक्छौँ”,–उहाँ भन्नुहुन्छ । सरकारले एक सिटमा एक यात्रुमात्र राख्न पाउने र ५० प्रतिशत भाडा बढाएर लिनपाउने व्यवस्था मिलाएपनि सो निर्णय व्यवहारिक नभएको उहाँको भनाइ छ ।
चालकको लापरवाही तथा बाटोको दूरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँ बसपार्कबाट आवतजावत गर्छन् । उक्त बसपार्कबाट दैनिक झण्डै दुई हजार सवारी साधन ओहोरदोहोर गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर बताउनुहुन्छ ।
सार्वजनिक सवारी साधन फोहर हुँदा भाइरसको सङ्क्रमण दर बढ्ने भन्दै हरेक दिन सरसफाइ र स्यानिटाइजर प्रयोग गर्न लगाईने ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ । यात्रुले बसभित्र प्रवेश गरेपछि अनिवार्यरूपमा स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्नेछ । ल्होत्से बहुउद्देश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्दै आएको छ । काठमाडौँको गौशाला, कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुका मुख्य सडकबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन् । सबै सवारी साधनलाई एकै ठाउँबाट सञ्चालन गर्न सकिए कोरोना सङ्क्रमण फैलने क्रममा कमी आउने देखिन्छ ।–रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्