×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जडीबुटीको व्यावसायिक खेतीबाट वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्दै म्याग्दीका १ कृषक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जडीबुटीको व्यावसायिक खेतीबाट वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्दै म्याग्दीका १ कृषक

Artha Sarokar

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल हुनुभएको हो । जिल्लामा नमूना टिमुर कृषकको रुपमा चिनिनुभएका उहाँले दुई टनेलमा ४० हजार टिमुरको बिरुवा बिक्रीका लागि तयारी अवस्थामा राख्नुभएको छ । त्यसैगरी घरमै नर्सरी स्थापना गरेर आयुर्वेदिक औषधिका लागि प्रयोग गरिने बहुमूल्य जडीबुटी सतुवाका बिरुवा पनि उत्पादन गर्नुभएको छ । उहाँले टिमुरका बिरुवा, फल र सतुवाका बिरुवा बेचेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी हुने जानकारी दिनुभयो । 
सतुवाका बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउनेको घुइँचो लाग्न थालेको उहाँँले बताउनुभयो । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीलाई प्राथमिकतामा राखेर तीन रोपनी जमिनमा बिरुवासमेत लगाउनुभएको छ । उहाँले पहिलो वर्ष ग्रीन हाउस निर्माण, जग्गाको माटो परीक्षण गरी बाहिरी जिल्लाबाट सतुवा ल्याएर लगाउनुभएको थियो । “इन्टरनेटको प्रयोग गरी धेरै ज्ञान सिके, सीप भए सतुवाबाट राम्रो कमाइ हुने रहेछ”,कृषक बानियाँले भन्नुभयो । उहाँले समूहमा आउनेलाई रु ३५ र व्यक्तिगतरुपमा आउनेलाई प्रतिबिरुवा रु ५० का दरले सतुवाका बिरुवा बिक्री गरेको जानकारी दिनुभयो । अनुकूल हावापानी हुने र बाँझो जमिनमा सतुवा खेती गर्ने गरिएको छ ।
गत वर्ष करिब रु १५ लाख बराबरको सतुवा र टिमुरका बिरुवा बिक्री गरेका उहाँले यस वर्ष त्योभन्दा बढी आम्दानी हुने आशा गरेको बताउनुभयो । “राम्रो आम्दानी हुने टिमुरसँगै सतुवा खेतीतर्फ लागेको छु, यस वर्ष रसुवाबाट अर्डर आएको छ”, उहाँले भन्नुभयो । निजी र सामुदायिक संस्थामार्फत सतुवा खेतीका लागि बिरुवा माग्ने गरेको उहाँको भनाइ छ । समुद्री सतहदेखि एक हजार ५०० मिटरमाथि उचाइसम्म सतुवा खेतीका लागि उपयुक्त हुने भएकाले तोरीपानी आसपासका क्षेत्र सतुवाका लागि उपयुक्त हावापानी, माटो भएकाले सोचेजस्तो आम्दानी भएको कृषक उहाँको भनाइ छ ।
उहाँले हरेक वर्ष रु छ लाखभन्दा बढीको टिमुरको बिरुवा र टिमुर बिक्री गर्ने गरेको जानकारी दिनुभयो । एक वर्षमै ४० पाथी टिमुर घरबाटै बेच्ने गरेका उहाँको खेतबारीमा रहेको बोटमा नफल्दै स्वदेश तथा विदेशबाट बुकिङ हुने गरेको जानकारी बताउनुभयो । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिको रूपमा प्रयोग गरिने भएकाले पनि टिमुरको बजार एशियाली र युरोपेली मुलुकमा समेत अत्याधिक माग रहेको छ ।
टिमुरपछि उहाँ पछिल्लो समय सतुवा खेतीतर्फ आकर्षित हुनुभएको छ । उहाँले तीन वर्ष अगाडि इलामबाट रु एक लाख ११ हजारको एक केजी सतुवाको बीउ लिएर शुरु गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक सतुवा खेतीमा लाग्नुभएको हो । टनेलमा सतुवाको नर्सरी बनाएका बानियाँ जिल्लामा सतुवाको व्यावसायिक बिरुवा उत्पादन गर्ने पहिलो कृषक हुनुहुन्छ । उहाँका अनुसार बजारमा सतुवाको माग र मूल्य टिमुरको जस्तै उच्च छ । सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ । वनजङ्गलमा पाइने सतुवाको आधुनिक खेतीलाई समुदायमा एकल वा सामूहिकरुपमा करिब १० रोपनी जमिनमा अब छिट्टै खेती गर्ने योजना रहेको कृषक बानियाँले जानकारी दिनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी