
गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट असार १ गते ल्याउने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि ल्याउने बजेट २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आगामी आव ०७८/७९ का लागि ल्याउन लागेको बजेट चालू आवको भन्दा कम आकारको हुने जनाइएको छ । प्रदेश सरकारले चालु आव २०७७/७८ मा साढे ३३ अर्बको बजेट ल्याएको थियो । मन्त्रालयका अनुसार आव २०७८/७९ को बजेट २८ देखि २९ अर्बका बीचमा आउनेछ ।
मन्त्रालयका अनुसार सङ्घीय सरकारबाट प्रदेश सरकारले पाउने समानीकरण अनुदान र विशेष अनुदान कम हुुनाका साथै चालू आवको बजेटमा बचतसमेत कम हुने देखिएकाले आगामी आवको बजेटको आकार घट्नेछ । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले कोरोना महामारी रोकथामका लागि लामो समयसम्म जारी निषेधाज्ञाका कारण विकास निर्माणका योजनासमेत प्रभावित भएकाले चालु आवको बजेटमा रु डेढ अर्बदेखि रु दुई अर्ब बचत हुने बताउनुभयो । अघिल्लो आव २०७६/७७ मा कोरोना महामारी रोकथामका लागि भएको लकडाउनका कारण विकास निर्माणका योजनासमेत प्रभावित हुँदा १० अर्ब ५७ करोड बचत भएको जनाइएको छ।
चालु आवमा जारी निषेधाज्ञामा पनि प्रदेशमा विकास निर्माण कार्य नरोकिएकाले बजेट खर्च ९० प्रतिशतभन्दा बढी हुने मन्त्रालयका सूचना अधिकारी साउँदको भनाइ छ । मन्त्रालयले दिएको जानकारीअनुसार आगामी आवमा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन हुनेछ । सो मन्त्रालयले ८ अर्ब ४३ करोडको बजेट सिलिङ पठाएको छ । चालु आवमा भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट रु साढे ११ अर्बको रहेको छ । प्रदेश सरकारले आगामी आवमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयका लागि ४ अर्ब ४५ करोड बजेट विनियोजन हुने मन्त्रालयका सूचना अधिकारी साउँदले बताउनुभयो । चालु आवमा सामाजिक विकास मन्त्रालयको बजेट करीब ६ अर्बको छ ।
यसैगरी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु दुई अर्ब ३४ करोडको बजेट सिलिङ पाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक अर्ब ५० करोड, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रु एक अर्ब १३ करोड, आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई रु ३७ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई रु ३१ करोडको बजेट विनियोजन गर्ने तयारी गरिएको जनाइएको छ । सङ्घीय सरकारबाट आगामी आव २०७८÷७९ का लागि प्रदेश सरकारलाई समानीकरण अनुदानतर्फ ८ अर्ब ५४ करोड ४० लाख, ससर्ततर्फ ४ अर्ब १९ करोड ३३ लाख, विशेष अनुदानतर्फ ६१ करोड ३५ लाख र समपूरक अनुदानतर्फ १ अर्ब २२ करोड ९४ लाख विनियोजन गरिएको छ ।
प्रदेश सरकारले आगामी आवमा सङ्घीय सरकारबाट १० अर्ब ६३ करोड १७ लाख चालुतर्फ र तीन अर्ब ९४ करोड ८५ लाख पूँजीगततर्फ गरी जम्मा १४ अर्ब ५८ करोड दुई लाख अनुदान पाउने जनाएको छ । प्रदेश सरकारको आन्तरिक राजश्व परिचालनबाट ८० करोड, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट रोयल्टी बाँडफाँडबापत प्राप्त रकम र चालु वर्षको बजेट बचतलाई समावेश गरी आगामी वर्षको बजेट निर्माण गरेको जनाइएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्