×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई करोडभन्दा बढी लागतमा निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दुई करोडभन्दा बढी लागतमा निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ । शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले बताउनुभयो । ‘जोखिम मोलेर खोलामा जङ्घार तरेर आवतजावत गर्नुपर्ने बाध्यता छ’, उहाँले भन्नुभयो, ‘आलुलगायत कृषिउपज निकासी, खाद्यान्न र निर्माण सामग्री आयात ठप्प भएको छ ।’ शिख, किन्दु, स्वाँत, पाउद्वारका ३०० भन्दा बढी घरधुरी प्रभावित भएका छन् ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालयले विसं २०७३ मा शुरु गरेको ३० मिटर लामो यो पुलको निर्माणलाई विसं २०७६ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले पूर्णता दिएको थियो । स्वच्छन्द-गौचन जेभीले दुई करोड २५ लाखमा यो पुल निर्माणका लागि ठेक्का लिएको थियो । लक्ष्यभन्दा दुई वर्ष ढिला गरी निर्माण सकिएको पुल दुई वर्ष पनि प्रयोग गर्न नपाउँदै पहुँचमार्ग बगाएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

पुलको अभावमा शिखदेखि स्वाँत र किन्दु जाने आउने सवारी साधन खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ । खोलामा बाढी आउँदा स्थानीयवासीलाई आवातजावत र ढुवानीमा समस्या भएको छ । हालै स्वाँताखोलामा आएको बाढीले शिखतर्फबाट पुलसम्म पुग्ने सडक जगदेखिनै बगाएको थियो । निरन्तर पहिरो खसिरहने भएकाले पैदल हिँडेर आवतजावत गर्न पनि जोखिम र कठिनाइ भएको छ । बर्खा सकिएपछि पहिरो नियन्त्रण र वैकल्पिक सडक निर्माणको पहल गरिने शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: