बलेवा । सदरमुकामबाट भौगोलिक हिसाबले नजिकै भए पनि सडक विकासका दृष्टिले टाढा रहेको गाउँपालिका हो बरेङ गाउँपालिका । विसं २०६३ मा पहिलोपटक छिमेकी जिल्ला गुल्मी हुँदै कच्ची सडक बरेङ पुगेको थियो । गुल्मीको शान्तिपुरबाट सातदोबाटो हुँदै बरेङ कच्ची सडक पुग्दा गाउँमै सवारी देखेका बरेङवासीले अब भने कालोपत्र सडकको सपना देख्न थालेका छन् । आफ्नै जिल्ला सदरमुकाम बागलुङ बजार र गण्डकी प्रदेश मुकाम पोखरा पुग्ने सडकसँग जोडिने गरी बरेङले अबको दुई वर्षमा कालोपत्र सडक पाउने छ ।
एसियाली विकास बैंकले नामकरण गरेको बागलुङ-कमुश्मीशेरा-बरेङ-शन्तिपुर सडकखण्डअन्तर्गत विभिन्न खण्डमा कालोपत्रका लागि विनियोजित योजना बरेङका सपना हुन् । “एसियाली विकास बैंक हाम्रोसम्म आई नै पुगेन, कुश्मीशेरासम्म विस्तार भएको बाटोले केही आशा भने जगाएको थियो”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, “अहिले यही सडक कालोपत्रको योजना विनियोजन भएर काम सुरु भएको छ, हाम्रा लागि खुसीको कुरा हो ।”
यो सडकखण्डअन्तर्गत बागलुङ नगरपालिका–१३ को पाग्जादेखि टाकुरीसम्म १० किलोमिटर र जैमिनी नगरपालिकाको कुश्मीशेरादेखि राङ्खानी देवलधारासम्म अर्को १० किमी खण्ड कालोपत्रको काम चलिरहेको छ । पाग्जातर्फको काम सकिएकाले निर्माण कम्पनी हस्तान्तरणको चरणमा छ भने कुश्मीशेरा देवलधारासम्मको खण्डमा केही संरचना निर्माण भएका छन् । बरेङ पुग्न देवलधारादेखि बरेङको लिउँवा गाउँसम्म ११ किलोमिटर खण्डमा कालोपत्र गर्न यसै वर्षदेखि काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ३४ करोड बजेट विनियोजन गरेपछि काम सुरु भएको हो । विसं २०७८ असार ३० गते निर्माण कम्पनीसँग सम्झौता गरेको पूर्र्वाधार कार्यालय बागलुङले दुई वर्षमा काम सकिने जनाएको छ ।
पूर्वाधार कार्यालयका इञ्जिनीयर श्यामप्रसाद भण्डारीका अनुसार २०८० साल असार ३० गतेसम्ममा बरेङ गाउँपालिका कालोपत्र सडकसँग जोडिने छ । उक्त खण्ड कलोपत्रको जिम्मेवारी पाएको रौताहा-खानी-धुलीखेल कम्पनीले काम सुरु गरेको जनाएको छ । सडक कालोपत्रका लागि आवश्यक ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधनका लागि जग्गाको खोजी भइरहेको कम्पनीले जनाएको छ । उक्त खण्ड कालोपत्र हुँदा जैमिनी नगरपालिकाको कुश्मीशेराबाट २१ किलोमिटरको दूरीमा लिउँवा जोडिने छ भने बागलुङ बजारबाट ४२ किलोमिटर कालोपत्र सडकमा बरेङ पुग्न सकिन्छ ।
“अहिले आफ्नै जिल्लाको बाटोभन्दा गुल्मीको बाटो सहज भनेर हिँड्नुपरेको छ”, बरेङ-५ सुखौराकी रचना पौडेल भन्नुहुन्छ, “सडक कालोपत्र भए सदरमुकामबाट छोटोबाटो घर पुगिन्थ्यो ।” सडक फराकिलो र पक्की हुँदा गाउँपालिकाका अन्य पूर्वाधार विकास, स्वास्थ्यको पहुँच र स्थानीय उत्पादनको बजारीकरणमा सहज हुने गाउँपालिकाको विश्वास छ । प्रत्येक स्थानीय तहको मुकाम जोड्ने कालोपत्र सडक बनाउने गण्डकी प्रदेशको बहुवर्षीय योजनाअन्तर्गतको काम शुरु भइसकेकोे निर्माण कम्पनीका साइड इञ्चार्ज सुवेदीले बताउनुभयो । हाल बरेङ बजारमा गाउँपालिकाकै स्रोतसाधनको प्रयोग गरेर निर्माण गरिएको एक किलोमिटर सडक मात्रै कलोपत्र छ ।
सदरमुकामसँग जोडिएको सडक कालोपत्र नभएका कारण बरेङवासीले वर्षेनी सास्ती खेप्दै आएका छन् । वर्षायाममा बाढी, पहिराका कारण सबै सडक अवरुद्ध हुँदा बरेङ सडक सम्पर्कबाट टाढा रहने गरेको छ । गाउँपालिका प्रवेशका लागि छिमेकी जिल्ला गुल्मीको शान्तिपुर, छिमेकी नगरपालिका जैमिनीको नाम्दुक, गलकोटको भित्रीवन तथा दुदीलाभाटी तथा गुल्मीकै सातदोबाटो हुँदै पाँच वटा नाका छन् । पाँचवटै नाकाहुँदै चल्ने सडक साँघुरा र कच्ची भएका कारण साना सवारी मात्रै सञ्चालन हुने गरेको स्थानीय बताउँछन् । सडक कालोपत्र भएमा यहाँ उत्पादन हुने दूध, आलु, अलैँची, फलफूल र अन्य कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा सहज हुने बरेङ गाउँपालिका–५ सुखौराका शिक्षक दुर्गाप्रसाद शर्माले बताउनुभयो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्