स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर १५ का दरले ७८ लाख ९९ हजार नौ सय २० अनुदान उपलब्ध गराएको पशु विकास शाखाप्रमुख सुशील अर्यालले बताउनुभयो ।
अर्यालका अनुसार नगरका विभिन्न वडामा आठ सय २१ पुरुष र तीन सय ५८ महिला गरी कूल एक हजार एक सय ७९ जना किसान लाभान्वित भएका छन् । “समूह, सहकारी तथा सङ्कलन केन्द्रहरुमा आबद्ध भएका किसानसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएका छौँ,” शाखाप्रमुख अर्यालले भन्नुभयो, “उहाँहरुले संस्थामार्फत दूध बिक्री गर्नुहुन्छ र बिक्री भएको दूधका आधारमा प्रतिलिटर १५ का दरले किसानलाई सङ्कलन केन्द्रमार्फत एकमुष्ट अनुदान उपलब्ध गराउँछौँ ।”
सङ्कलन केन्द्रमा दूध बिक्री गरेका एक हजार एक सय ७९ जना किसानलाई पाँच लाख ३३ हजार तीन सय २८ लिटर दूधको प्रतिलिटर १५ का दरले गत आवमा उक्त रकम अनुदानस्वरुप वितरण गरेको हो । दूध उत्पादक किसानलाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ बाट उत्पादनमा प्रतिलिटिर १५ अनुदान दिन सुरु गरेको थियो । दूग्ध विकास संस्थानले निर्धारण गरेबमोजिमको मूल्यमा सङ्कलन केन्द्रमा दूध उपलब्ध गराउने किसानलाई मात्रै नगरपालिकाले अनुदान दिने गरेको हो ।
यहाँ उत्पादन भएको दूध सङ्कलन केन्द्रमार्फत बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा र केही गल्याङ तथा स्थानीय बजारमा खपत हुने गरेको शाखाप्रमुख अर्यालले बताउनुभयो । नगरपालिकाले अनुदान, पशुधन बीमा तथा लागत साझेदारीका कार्यक्रमहरु अगाडि बढाएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा पशु सुरक्षण बीमाका लागि २० लाख अनुदान दिएको थियो जसमा एक हजार दुई सय पाँच जना किसान लाभान्वित भएका थिए ।
किसानहरुलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्नका लागि नगरस्थित बैंक तथा सहकारी संस्थाहरुसँग समन्वय गरी कृषि कर्जामा चार प्रतिशत व्याजदरमा अनुदान उपलब्ध गराएको थियो । व्याज अनुदानमा नगरपालिकाले गत आवमा १५ लाख विनियोजन गरेको थियो । उक्त ऋणमा प्रत्यक्ष दुई सय ८१ जना लाभान्वित भएका थिए ।
गल्याङ नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउँदै किसानको आर्थिकस्तर उकास्नका लागि पशुपालनमा जोड दिएको नगरप्रमुख भूपराज अधिकारीले बताउनुभयो । गल्याङलाई सेतो सहर र दूधको सहरका रुपमा पहिचान दिलाउने गरी गाई तथा भैँसीपालनतर्फ किसानलाई प्रेरित गरिएको प्रमुख अधिकारीले बताउनुभयो ।
दूधमा प्रतिलिटर १५ अनुदान उपलब्ध गराउन थालेपछि सङ्कलन केन्द्रमा स-सानो परिमाण पनि दूध सङ्कलन हुन थालेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनुभयो । शर्माका अनुसार अनुदान कार्यक्रमले पशुपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गएको छ । दूध उत्पादन गरेर पनि बजारीकरणको समस्यामा रहेका यहाँका किसानलाई बजारको समस्या नभएपछि पनि थप आकर्षित भएका हुन् ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्