×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायिक फूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

व्यवसायिक फूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

Artha Sarokar

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

देउखुरी । घर आँगनमा सयपत्री र मखमली फुल्दा तिहारको झल्को आउने गर्छ । यस्तै झल्को दिएको छ, दाङमा ढकमक्क फूलेका फूलले । रोल्पा सुन छहरी गाउँपालिका–७ मा जन्मिनुभएका लोकेन्द्र रोकामगर एक दशकअघि रोजगारीको सिलसिलामा कतार पुग्नुभएको थियो । स्वदेश फर्किएपछि उहाँलाई केही नयाँ व्यवसाय गर्ने सोँँच पलायो र दाङ आएर व्यावसायिक फूल खेतीमा लागेको उहाँले बताउनुभयो ।
विदेशमा श्रमको मूल्य बुझेपछि स्वदेशमै श्रम खर्च गर्न सके यहीँ सुन फलाउन सक्ने अठोट बनाउनुभयो । त्यही बेला उहाँको मनमा फूलखेती गर्ने अनौठो योजना बन्यो । सुरुमा उहाँलाई फूलखेती कस्तो होला भन्ने लागेको थियो तर बजारको माग र अवस्था बुझेर काम सुरु गरेपछि सात वर्षअघि घोराहीमा– ६ कट्ठा जग्गा भाडामा लिएर परीक्षणका लागि १ कट्ठाबाट फूलखेती सुरु गर्नुभएको रोकामगरको व्यवसाय फक्रिँदै गएको छ ।
सुरुवाती चरणमा बजारमा फूल बिक्रीका लागि लैजाँदा फूल पनि बेच्छन् ? भन्ने मानिस अहिले ग्राहक बनेको उहाँको भनाइ छ । फूल टिप्नु हुँदैन, पाप लाग्छ भन्ने समाजमा रहेको गलत मान्यतालाई चिर्दै फूलको व्यावसायिक खेती थालेको उहाँ अहिले सफल फूल व्यवसायी बनेको छ । घोराही– १४ झिङगौरामा रोकामगरले करिब एक बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । लगातारको परिश्रम, काममा विश्वास र श्रमको सम्मान गर्दै जाँदा अहिले फूल व्यवसायी बनेर परिचित हुन पाउँदा आफूलाई मनमा निकै सन्तोष मिल्ने गरेको उहाँको भनाइ छ ।
पहेँलपुर फुलेका सयपत्री फूलको बगैँचामा काम गर्दै रोकामगरले भन्नुभयो, “सुरुसुरुमा फूल संस्कृतिको विकास गर्न चुनौती सामना गर्नुप¥यो, विस्तारै सबैले यसको महत्व बुझ्दै गएपछि, अहिले राम्रो भएको छ, यसले पनि मलाई काम गर्नमा थप हौसला मिलेको छ ।” उहाँले सुरुआती चरणमा फूलको नर्सरी र मौसमी फूलखेती गर्दै आउनुभएको थियो । जिल्लामा दसैँ, तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेको उहाँले बताउनुभयो । “मैले सुरु गर्ने बेलामा दाङमा व्यावसायिक रुपमा फूलखेती कतै भएको थिएन, काठमाडौँतिर फूलखेती व्यावसायिक रुपमा गरेको देखेको थिएँ अनि मैले यहाँ गर्दा कसो नहोला र भन्ने सोँच बनाएँ”, रोकामगरले भन्नुभयो ।
लुम्बिनी प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि केही अनुदान सहयोग गरेको उहाँको भनाइ छ । “जलजला पुष्पखेती”को नामबाट नर्सरी स्थापना गर्नुभएका रोकामगरले विभिन्न प्रजातिका फूल बिक्री गर्दै आउनुभएको छ । दैनिकजसो फूल खरिद गर्न स्थानीय तथा जिल्ला बाहिरबाटसमेत ग्राहक आउने गरेको उहाँको भनाइ छ । रु एक लाखबाट सुरु गरेको फूलखेतीमा अहिले करिब रु सात लाख लगानी रहेको उहाँले जानकारी दिनुभयो । सुरुआतमा स्थानीय जातको फूल रोपेर खेतीको थालनी गर्नुभएका रोकामगर अहिले विभिन्न जातका फूलखेती गर्नुभएको छ । उहाँको फूलबारीमा तिहारका लागि सयपत्री फूलिसकेका छन् । तिहारका लागि सयपत्री फूलका माला बनाउन उहाँलाई भ्याइनभ्याइ छ । तिहारमा यो पटक करिब सात हजार माला बिक्री गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।
जिल्ला बाहिरबाट माग आएको भए पनि स्थानीय बजारमा खपत भइरहेको हुँदा जिल्लालाई प्राथमिकता दिएर फूल रोपेको बताउँदै उहाँले फूल व्यवसाय प्रवद्र्धनका लागि स्थानीय सरकारले पनि सहयोग गर्दै आएको छ भन्नुभयो । यसले आफू थप उत्साहित भएको रोकामगरको भनाइ छ । उहाँको फूलबारीमा सिजन अनुसार काम गर्ने मानिस थपेर राख्ने गरेपछि दैनिक रुपमा दुई जना कामदारले रोजगारी दिएको बताउनुभयो । जिल्लामा फूललाई टिपेर लामो समयसम्म राख्न मिल्ने चिस्यान केन्द्र यहाँ नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ फूलका लागि चिस्यान केन्द्र छैन, जसले गर्दा लामो समयसम्म फूललाई जोगाउन कठिन छ, फूलको स्टोर आवश्यक छ ।”
अहिले तुलसीपुर र घोराहीका अन्य स्थानमा पनि मौसमी रुपमा सयपत्रीको फूलखेती गरिएको छ । घोराहीका अन्य स्थानमा पनि व्यावसायिक फूलखेती गरिएको छ । तुलसीपुर– सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–८ दोघरेमा पनि सयपत्री फूलखेती गरिएको छ । स्थानीय पाँच जना युवा मिलेर संयुक्त लगानीमा फूलखेती गरिएको छ । करिब सात कठ्ठा क्षेत्रफलमा रोपिएको सयपत्री फूल अहिले फुलेर ढकमक्क बनेको फूलखेती गर्दै आउनुभएको झग्गु भण्डारीले बताउनुभयो ।
उहाँका अुनसार पाँच युवा मिलेर जग्गा भाडामा लिएर बेलुवामा तीन महिना पहिले सयपत्री फूलखेती गरिएको छ । तिहारलाई लक्षित गरी फूलखेती गरेको बताउनुभयो । दाङमा व्यावसायिक रुपमा फुलखेतीतर्फ युवाको आकर्षण बढ्दै गएको छ । बाणगङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पङ्गेनीले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्दै आउनुभएको छ । कपिलवस्तुमा चार वर्षदेखि फूलखेती गरिरहनुभएका पङ्गेनीले दाङमा १० कट्ठा जमिन मासिक दुई हजार भाडा दिने सर्तमा फूलखेती गर्नुभएको छ । स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले रु पाँच लाख लगानी गरेर खेती सुरु गरेको उहाँको भनाइ छ ।
अहिले विभिन्न स्थानबाट फूलको माग आएको हुँदा माला बनाउने काम पनि सुरु गरिएको उहाँले जानकारी दिनुभयो । करिब पाँच हजार माला बिक्री गर्ने लक्ष्यका साथ फूल रोपिएकोमा फूल निकै रामे्रासँग फुलेको पङ्गेनीको भनाइ छ । स्थानीय महिलालाई फूलका माला बुन्न उहाँले रोजगारीसमेत दिनुभएको छ । एउटा माला बुनेबापत रु पाँच दिने गरेको उहाँको भनाइ छ । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएको फूल विदेशमा निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको कृषि विज्ञको भनाइ छ । जग्गा बाँझो छोडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूलखेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार निर्माण हुनुका साथै देशको अर्थतन्त्रमासमेत सहयोग पुग्ने उनीहरुको भनाइ छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी