काठमाडौं । चिनियाँ विदेशमन्त्री तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं ओर्लिँदैछन् । परराष्ट्र मन्त्रालय चिनियाँ विदेशमन्त्री वाङ यीको तयारीमा जुटिरहँदा पोखरा विमानस्थलमा पनि कामको चटारो बढेको छ । सरकारले बहुमतका साथ अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अनुमोदन गर्दै कार्यान्वयनमा अघि बढेपछि चीन तनावमा आएको हो । चीनले एमसीसीलाई रोक्ने प्रयास नगरेको पनि होइन । अन्ततस् विरोधमा रहेका दलहरुले पनि ब्याख्यात्मक टिप्पणी गर्दै संसद्बाट अनुमोदन भएपछि चीनले एक विज्ञप्ति जारी गर्दै नेपालमा एमसीसी पारित भएकोप्रति आफू जानकार रहेको प्रतिक्रिया दिएको थियो ।
एमसीसी अनुमोदन भएलगत्तै चीनले नेपाल भ्रमणको तयारी थालेको हो। दक्षिण एसियाको एक साताको भ्रमणमा निस्किएका चिनियाँ विदेशमन्त्रीले एक दिन अफगानिस्तान र भारत भ्रमण गरे भने तीन दिन पाकिस्तानमा बिताए । त्यसैगरी तीन दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीबाट शुक्रबार बेलुका काठमाडौं ओर्लिँदैछन् । मुलुकमा अमेरिकी सहयोगले विकास परियोजना अघि बढ्ने सन्देश गइरहेको समयमा उक्त सन्देशरुलाई डाइभर्ट गर्न पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने भएको छ ।
चिनियाँ विदेशमन्त्रालयले पोखरा विमानस्थलको उद्घाटनको तयारी गर्न पनि नेपाल सरकारलाई दबाब दिएको थियो। नेपाल सरकारले काम अधुरै रहेको बताए पनि जति काम सकिएको छ, त्यति नै हस्तान्तरण गर्ने र उद्घाटन गरेर नेपालको विकासमा चीन पनि लागि परेको छ भन्ने सन्देश दिन चिनियाँ विदेशमन्त्री लागि परेका छन्।
राष्ट्रपति सी जिनपिङका विशेष दूत बनेर आउन लागेका विदेशमन्त्री वाङले चिनियाँ कम्पनीले काम समयमा नगर्दाको कुरा उठाउन चाहेनन् । बरु अधुरै काम अलपत्र छोडेर उद्घाटनका लागि तम्सिएका हुन् । विमानस्थलको निर्माण कार्य अझै सात प्रतिशत हुन बाँकी छ । चीनले यसअघि अमेरिकाले नेपालमा जबरजस्ती कूटनीति चालेको आरोप लगाएको थियो । तर, अहिले अमेरिका, भारत र अन्य पश्चिमा मुलुकहरुलाई देखाउन निर्माण सम्पन्न नभएको परियोजनाको उद्घाटनका लागि आफैं जबरजस्ती कूटनीतिको प्रयोग गरिरहेको छ ।