×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा घोटाला प्रकरणको फलोअप : कर्मचारीले दिए यस्तो बयान (पूर्णपाठसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

कामना सेवा घोटाला प्रकरणको फलोअप : कर्मचारीले दिए यस्तो बयान (पूर्णपाठसहित)

काठमाडौं । कामना सेवा विकास बैंकमा किर्ते कागज प्रयोग गरी करोडौंको ऋण प्रवाह भएको थियो । सोही प्रकरणबारे कर्मचारीले बयान दिएका छन् । झापाको दमक शाखाबाट प्रवाह भएको एक करोड ५० लाख ऋण घोटालामा बैंककै उच्च अधिकारीको मिलेमत्तो रहेको खुलासा भएको छ । सोहि प्रकरणमा बैंकले ऋणी प्रेम बहादुर लामामाथि मुद्दा चलाएको छ ।  तर सरकारी वकिल समक्ष बैंककै पूर्व सहायक कर्जा अधिकृतले दिएको बयान अनुसार कामना सेवा विकास बैंकका उच्च अधिकारीले उक्त ऋण घोटालामा चरम अनियमितता गरेको बताएका छन् ।

उनले बयानमा आफूलाई कर्जा सम्बन्धी काम नै नसिकाई हस्ताक्षर र औँठाछाप गर्न लगाएको बताएका छन् । बैंकले कर्जा अधिकृत समेत नियुक्त नगरि आफुलाई नै सहिछाप गर्न लगाएर ऋण प्रवाह गरेको पनि बयानमा बताएका छन् । साथै उनले  धेरै तनावकै कारण आफूले जागिर छाडेको समेत बयानमा बताएका छन् ।

पूर्ण पाठ जस्ताको त्यस्तै

म कामना सेवा विकास बैंकमा रहँदा सो बैंकको तत्कालिन बैंक म्यानेजरको रुपमा जिल्ला मोरङ उर्जाबारी नगरपालिका वडा नम्बर ७ घर स्थित बस्ने संजिव निरौला रहनु भएको थियो । म सहायकको रुपमा काम गर्दै थिएँ, मैले कामना सेवा विकास बैंकमा ऋण शाखामा काम गरेता पनि मेरो अनुभव नभएको हुँदा सम्पूर्ण निर्देशन तथा प्रशिक्षण दिने काम शाखा प्रमुख संजिव निरौलाले गर्नु हुन्थ्यो । उक्त बैंकमा रहँदा छुट्टै ऋण अफिसरको रुपमा काम गर्ने कर्मचारी थिएनन् । सहायकको रुपमा मैले नै शाखा प्रमुखको निर्देशन अनुसार गरिरहेको थिएँ । बैंकको अन्य काम समेत मैले नै गर्दथेँ । मलाई मैले बैंकमा काम शुरु गरेको मिति २०७६।०५।११ गते देखि शुरुको ५/६ महिनासम्म पनि ऋण फाँटमा काम सिकाइएन, सो समयमा म घर दैलो कार्यक्रम अन्तर्गत घर-घरमा गई बैंक खाता खोलाएको हो ।

बैंकमा रहँदा ऋण फाँटमा रहेपनि काम अन्य धेरै भएकाले तनाव धेरै भएको र ऋण अफिसर पनि नियुक्त गर्न आनाकानी गरिरहने, नियुक्ती नगर्ने भएकाले मैले एक वर्ष भन्दा अगाडी जागिर छाड्दा रकम छाड्नुपर्ने भएकाले जागिर खाएको एक वर्ष ४ महिना पछि ३१ डिसेम्बर २०२०(२०७७ पुस १६ गते) बाट बैंकबाट राजिनामा दिएको हो । दमक शाखा प्रदेश १ कै धेरै ऋण प्रवाह गर्ने शाखा थियो, ऋण लिने दिने बेलामा घर जग्गा, व्यापार तथा कामना सेवा विकास बैंक दमकबाट जारी हुने सम्पूर्ण ऋण प्रवाहमा घर जग्गा र व्यापारको फिल्डको भ्रमण साथै कागजातहरुको अध्ययन शाखा प्रमुख संजिव निरौला र प्रदेश प्रमुख सुजन छाराहाङ राईले नै गर्नुहुन्थ्यो ।

दमक स्थित रहेको छिरिङ इन्टरप्राइजेजको तर्फबाट राजु लामा र प्रकाश लामा प्राय जसो शाखा प्रमुख संजिव निरौलालाई भेट्न आइरहनु हुन्थ्यो । निजहरुबीच के कुरा हुन्थ्यो मलाई थाहा भएन । निजहरु बिचमा एउटै नगरबासी भएकाले पुरानो मित्रता रहेको कुरा मैले शाखा प्रमुखबाट जानकारी पाएको थिएँ । सोही कारण ऋण प्रक्रिया शुरु हुनु पूर्व नै शाखा प्रमुख संजिव निरौलाले घर जग्गा, व्यापार सम्बन्धि सम्पूर्ण कागजातको अध्ययन गरेको र निज राजु लामा तामाङ र प्रकाश लामाको व्यापार व्यावसाय राम्रै भएको भन्ने कुरा मलाई शाखा प्रमुखले जानकारी गराउनु भएको थियो । साथै सो घर जग्गा र व्यापारको स्थलगत अध्ययन भ्रमण गरि सो को रिपोर्ट इस्वि संवत २५।०५।२०२० (वि।स २०७७ जेठ १२ गते) को collateral site report (CSVR) र ईस्वि सम्बत २९।०६।२०२० (विस २०७७ असार १५ गते) बिजनेशको रिपोर्ट तत्कालिन प्रदेश प्रमुख सुजन छाराहाङ राईले अध्ययन गरि सक्नु भएको हुँदा तिमीले अध्ययन गर्नु पर्दैन सहिछाप मात्रै गर्नु भन्नु भएको थियो । नयाँ ऋण अधिकृतको नियुक्ती नहुँदासम्म सम्पूर्ण डकुमेन्टहरुमा ऋण फाँटबाट मैले नै सहिछाप गर्नु भन्ने निर्देशन थियो । ऋण प्रवाह गर्दा घर जग्गाको मुल्यांकन बैंकले छानेको ईन्जिनिरिङ कन्सल्टेसीजहरुबाट हुने गर्छ । राजु लामा तामाङ र प्रकाश लामाको व्यापार व्यावसायले पेश गरेको छिरिङ ईन्टरप्राइजेजले पेश गरको सबै डकुमेन्टहरु सबै सक्कली भएको जस्तो लागेको थियो ।

सक्कली डकुमेन्टहरुको चेकजाँच गर्ने सम्प्पूर्ण काम तत्कालिन शाखा प्रमुख संजिव निरौलाले गर्नु भएको हो । फिल्ड भिजिट शाखा प्रमुख र प्रदेश १ प्रमुख सुजन छाराहाङले गर्नु भएको हो । उक्त डकुमेन्टहरु लिएर बैंकमा आई प्रेम लामा समेतले ऋण पास गराएको हुँदा सो कुरा निजलाई नै थाहा होला । उक्त डकुमेन्टहरु किर्ते गरेको ल्याएको हो होइन हाल निजको बुवा अनुसन्धानका क्रममा रहेको कुरा प्रहरी कार्यालयमा आएपछि थाहा पाएको हो । उक्त डकुमेन्ट हर्दा सक्कली जस्तै देखिन्थ्यो । ऋण लिने बेलामा निजहरु प्रकाश लामा, प्रेम कुमार लामाले पेश गरेको कागजातहरुको फोटोकपी राखेर सक्कल सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिन्छ ।

जग्गा धनीको पुर्जा र नक्सा सक्कल हुन्छ । अन्य डकुमेन्टहरु सबै फोटोकपी गरेर राखिन्छ । उक्त समयमा कामना सेवा विकास बैंकमा ईस्वि संम्बत २५।०५।२०२० (विस २०७७ जेड १२) गते को सिएसभिआर, इस्वि सम्ब्त २९।०६।२०२० (बि.स २०७७ असार १५ गते) को बिजनेश रिपोर्ट र मिति २०७७। ४।९ गते तयार गरिएको कर्जा तमसुक, जमानत करार सम्बन्धी लिखतहरु तयार गरि काम तामल गर्नेमा भएको सहिछाप मेरो नै हो । म फिल्ड र बिजनेश भिजिटमा गएको होइन शाखा प्रमुख संजिव निरौला र प्रदेश प्रमुख सुजन छाराहाङ राईले भिजिट गरि रिपोर्ट तयार मलाई पनि सहिछाप गर्न भन्नु भएको हो र सोही अनुसार मैले सहिछाप गरेको हो । कर्जा तमसुक र करार सम्बन्धी लिखतहरु ऋण पास भइसकेपछि प्रधान कार्यालय काठमाडौांबाट तयार भई शाखा कार्यालयमा आएपछि मैले मेरो रोहबरमा ऋण लिने र सो ऋणमा जमानत बस्नेहरुको सहिछाप समेत गरिदिएको हो । उक्त सहीछाप समेत मेरो नै हो । उक्त ऋण पास गरिसकेपछि मैले कुनै कमिशन बापतको पैसा लिएको छैन ।

बैंकबाट कमिशन बापतको रकम भनेर मलाई कसैले दिएको पनि छैन । बैंक म्यानेजरले कमिशन खाए नखाएको मलाई थाहा भएन । कामना सेवा विकास बैंकलिमा ऐ. दमक नगरपालिका वा न १० स्थित छिरिङ इन्टरप्राइजेजका प्रपाईटर मोरङ जिल्ला उर्लाबारी नपा ५ बस्ने प्रकाश लामाले आफ्नो एकाघर सगोलका बाबु प्रेम कुमार तामाङ र आमा सनजिता घिसिङ तामाङको संयुक्त नाममा दर्ता श्रेस्ता कायम रहेको मधुमुल्ला ५/ढ र ५/च स्थित कित्ता नम्बर ३४ र २९१ को जग्गा र सोमा बनेको घर समेत धितो सुरक्षण स्वरुप पेश गरि उक्त फर्मको नाममा कर्जा माग गर्नु भएकोमा कर्जा प्रवाह गरिएको हो । सो सम्बन्धि कागजात चेकजाँच गर्ने र फिल्ड भिजिट गर्ने शाखा प्रमुख संजिव निरौला र प्रदेश प्रमुख सुजन छाराहाङ राई हो ।

मैले निजहरुले भनेबमोजिम सहिछाप गरिदिएको हो । सो समयमा धितो सुरक्षण स्वरुप पेश गरिएको कागजात मध्ये घर सम्पन्न अभिलेखिकरणको कागजात, घर नक्सा पास लगायतको कागजात डकुमेन्टहरु नक्कली तयार गरि किर्ते गरेको भन्ने कुरा हाल आएर थाहा पाएको हो । उक्त डकुमेन्टहरु ऋणीले ल्याएको हुँदा सो सम्बन्धमा हाल पक्राउ परेका प्रतिवादी प्रेम कुमार तामाङ, प्रकाश लामा समेतको परिवारलाई उक्त डकुमेन्टहरु के कुन ठाउँमा बनाएको हो निजहरुलाई नै थाहा हुनुपर्छ । सो कार्यमा सहयोग गर्ने सम्पूर्ण समेतलाई लिखित किर्ते मुद्दामा कानुन बमोजिम कारबाही गरि निजहरुले लिएको अनुचित फाइदाको रकम समेत सम्बन्धित विकास बैंकलाई दिलाई भराई कानुन बमोजिम होस् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: