कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उनले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिएका छन् । लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको चानदेवमा रहेको छ । किसान रानाको खेतबारीमा बढी उत्पादन दिने जी नौ जातको केरा रोपिएको छ ।
रोपिएको केराको बोटमा घडी (फल) लाग्न सुरु भइसकेको छ । “खेतबारीमा रोपिएका सबै केराका बोटमा फल लाग्न सुरु भएको छ,” रानाले भने, “निकै खुसी छु । केराबाट चाहेजस्तो आम्दानी हुनेमा ढुक्क छु ।” केरा खेतीका लागि उनले रु. १२ लाख लगानी गरेका छन् । “आठ वर्षअघि देखि खेतबारीमा थोरै केरा रोप्दै आएको थिए,” उनले भने, “खासै गतिलो आम्दानी हात पार्न सकिएन । दुई वर्ष हावाहुरीले खेतमा लगाएको केरा खेती पूरै सखाप पार्यो । हरेस खाइनँ ।”
परम्परागत रुपमा केरा रोप्दा लगानीसमेत उठ्न मुस्किल हुन्थ्यो । कृष्णपुर नगरपालिकामा सञ्चालित व्यावसायिक केरा खेतीबारे आयोजना गरिएको तालिममा सहभागी हुने अवसर किसान रानालाई अवसर जुर्यो । उनले केरा खेतीबारे तालिम लिए । तालिममा सिकेको सीपको सदुपयोग गर्दै केरा खेती गर्न थालेपछि रानाको आम्दानी बढ्न थाल्यो ।
“पूँजी बढ्न थालेपछि केरा खेती गर्ने हौसला बढ्दै गयो । त्यसपछि केरा खेतीलाई नै मुख्य व्यवसाय बनाएर काम गर्न थालेको छु । अब विगतको जस्तो घाटा व्यहोर्नु पर्दैन,” उनले भने, “केरा खेतीबाटै वार्षिक रुपमा रु. १५ देखि रु. २० लाखसम्म आम्दानी हुने अपेक्षा राखेको छु ।” एउटै केराको बोटमा १२ देखि १८ दर्जनसम्म केरा फलेको उनले बताए । विगतमा केरा खेतीबाट रु. पाँच लाख जति आम्दानी हुैँदै आएकामा केरोको क्षेत्रफल बढाएपछि आम्दानीसमेत सोही अनुरुप हुने उनी बताउँछन् । किसान रानाको केराप्रतिको लगनशीलतालाई दृष्टिगत गर्दै नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा रु. छ लाख बराबरका सामग्री उपलब्ध गराइएको छ ।
उनले दुईवटा पावर टिलर, एकवटा टी बोरिङ, रासायनिक मल, विषादी र आठ हजार केराका बोट ५० प्रतिशत अनुदानमा पाएका छन् । अनुदानमा सामग्री पाएपछि राना निकै सन्तुष्ट छन् । “परिश्रम गरेर सफल हुनेलाई समाजबाट वाहवाही पाइने रहेछ,” उनले भने, “व्यावसायिक काम गर्ने भएकाले नै कृषि शाखाले बोलाएरै अनुदानमा यति बढी सामग्री दिएको छ ।”
केरा खेती गर्नुअघि किसान रानाले खेतमा धान गहुँ लगायतको खेती गर्दै आएका थिए । धान खेतीबाट परिवार पाल्नका लागि मात्रै खर्च उठने गरेका थिए । केरा खेतीलाई व्यावसायिक बनाएर अगाडि बढेपछि आम्दानी तीन गुणाले बढेको राना सगर्व सुनाउँछन् । साधारण लेखपढ मात्रै गर्न जान्ने रानाले व्यावसायिक केरा खेती गरेपछि १० जनाभन्दा बढीलाई रोजगारीसमेत दिएका छन् ।
परिवारका सदस्यसँगै केरा गोडमेल गर्न, सिँचाइ गर्न, काटछाँट गर्न, बजार लैजान ठिक्क भएको केरालाई बारीबाट काटेर ट्रकमा राख्ने कार्यका लागि उनले युवाहरुलाई अल्पकालीन रुपमा रोजगारी दिँदै आएका छन् । चलनचल्तीको दररेटमा युवाहरुलाई दैनिक ज्यालादारीमा काममा राख्ने गरेको रानाले बताए । मोहन वडामै व्यावसायिक रुपमा केरा खेती गर्ने एक्लो किसान भएको वडाध्यक्ष नवल सिंह राना बताउँछन् ।
“युवाहरुको प्रेरणाको स्रोत भएकाले अरू युवाहरुलाई समेत उनको जस्तै कार्य गर्नका लागि प्रेरित गर्न वडा कार्यालयका तर्फबाट कार्यक्रम सञ्चालन गर्नका लागि प्रतिबद्ध रहेको छु,” उनले भने, “नगरको नीति तथा कार्यक्रममा समेत एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने कुरा उल्लेख छ । वडाको खेतीयोग्य जग्गाको माटो परीक्षण गरी सोही अनुकूलको खेतीलाई बढावा दिइने छ ।” विगतको जस्तो हचुवाको भरमा अनुदान बाँडेर अनुत्पादक क्षेत्रमा लगानी नगरिने उनी बताउँछन् ।
नगरपालिकाको कृषि शाखाका प्रमुख करनबहादुर बुढाऐरले व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहित गर्नका लागि आउँदो आवमा समेत कृषि उपकरण, औजार, रासायनिक मलखाद, विषादी, उन्नत बीउलगायत आधुनिक कृषि प्रविधिमा अनुदानका कार्यक्रमलाई निरन्तरता दिने बताउँछन् । “मोहन जस्तै अन्य वडामा समेत सफल किसान तयार गर्नका लागि तालिम, अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्छौ,” उनले भने, “कामको आधारमा मात्रै उपयुक्त अनुदान लगायतका कार्यक्रम सञ्चालन हुन्छन ।” –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्