×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

Artha Sarokar

३० श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहीका स्थायीबासी ८ वर्षीय बालक विजय महतोलाई उपचारमा सहुलियतसँगै पूर्ण रुपमा निको बनाई घर पठाएको हो ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ८ वर्षीय बालकको पेटको अगाडिको भागको मांसपेशीमा एक्कासी पिप जम्मा भएको थियो । उनका बुबा शिवशरण महतोका अनुसार जनकपुरका अस्पतालमा देखाउँदा त्यहाँका चिकित्सकले उपचार गर्न नसक्ने बताएपछि बालकलाई काठमाडौँ ल्याइएको थियो । आर्थिक अवस्था कमजोर रहेका कारण राम्रो अस्पताल लैजानसक्ने अवस्था आफ्नो नरहेको, तर आफू नर्भिकमा आएर कुरा गर्दा उपचारमा सहुलियतसँगै राम्रो उपचार सुविधा पाएको बताए ।

महतोले भने, ‘नर्भिकले उपचार खर्चमा समेत निकै छुट दिएर म जस्तो गरीबलाई गुण लगाएको छ । उपचारमा संलग्न डा. अभय यादवले समेत हामीलाई छुटदिनुभयो। उहाँहरुकै सहयोगले आज मेरो छोरा ठीक भएको छ ।’  पेटको मांसपेशीमा जमेको पिप र त्यसको पीडाका कारण नर्भिक आउँदा विजय महतो हिँड्नसक्ने अवस्थामा थिएनन् । उपचार गरेर निकै ठीक भएपछि घर फर्किनु अघि सोमबार उनी ठमठमी हिँड्नसक्ने भएका थिए । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीको निर्देशनमा बालकको उपचार व्यवस्था मिलाइएको थियो । डा. अभय यादव नेतृत्वको टिमले महतोको उपचार गरेको अस्पतालले जनाएको छ ।

यादव नेतृत्वको टिममा सहभागी चिकित्सक डा. सुशील कायस्थले गम्भीर अवस्थाका बालकले उपचारपछि नयाँ जीवन पाएको बताए । इन्फेक्सनका कारण बालकको अवस्था निकै गम्भीर बनेको स्मरण गर्दै उनले भने, ‘बेलैमा उपचार भएको थिएन भने अवस्था निकै गम्भीर बनिसक्थ्यो । उपचारपछि अहिले उनको अवस्था निकै राम्रो भएको छ । तर ती बालकले एन्टीबायोटिक चाहिँ निकै लामो समयसम्म खानुपर्ने हुन्छ ।’

नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले अस्पतालले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत वर्षेनी गरीब र निमुखा नागरिकहरुको उद्धार गरी निःशुल्क उपचार सेवा दिँदै आएको बताएकी हुन् । आगामी दिनमा पनि अस्पतालले खर्चकै अभावमा उपचार गर्न नसक्नेहरुलाई सहयोग गर्ने उनको प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी