सहकारीका बारे कुरा गर्नुअघि आजलाई एउटा गुड न्युज छ । आजचाहिं देशभर कहीं कतैको कुनै सहकारी पनि भागेको खबर छैन । हिजो पनि सहकारी भाग्यो, अस्ति पनि सहकारी भाग्यो, हरेक दिनजसो फलानो सहकारी भाग्यो, फलानोले बचतकर्ताको पैसा फिर्ता दिन सकेन, फलानोले बचत रकमको सट्टा जग्गा दिन्छु भन्ने आश्वासन दियो लगायतका समाचार सुनिरहेका तपाईं हामीलाई अव आजचाहिं कुनै पनि सहकारी भागेन है भन्ने खबर नै शुभ खबर हुने दिन आयो । कठै हाम्रो सहकारी क्षेत्र, कठै हामी बचतकर्ताको भाग्य ।
दर्शकवृन्द, पछिल्लो तथ्यांक हेर्ने हो भने बचतकर्ताको पैसा दुरुपयोग गर्ने सहकारीको संख्या दिनानुदिन बढीरहेको छ । सुरुमा हामी अरु जस्तो होइनौं, हामी त आफ्नै आफ्नै मान्छेले चलाएको सहकारी भन्ने, केहि समयसम्म राम्रो ब्याज पनि खुवाउने, साधारणसभामा ठुला ठुला सपना पनि बाँड्ने, अनि जव अलि बढी रकम बचत हुन थाल्छ, त्यसपछि सो रकम घर-जग्गामा लगाउने, आफ्नो व्यापारमा लगाउने, सेयर बजारमा लगाउने, वा अझ बढी ब्याज खान अन्त लगाउने, अनि जव पैसा डुब्छ, त्यसपछि भाग्ने । भाग्न नसके तपाईंको पैसा फिर्ता गर्छु भनेर फेरी बचतकर्तालाई बेवकुफ बनाउने, अनि कुनै ठुला नेताको चाकडी गरेर संरक्षण लिएर बस्ने । पछिल्लो समय मै हुँ भन्ने सहकारी र तिनका मालिकको हर्कत यस्तै छ । स्थिति यस्तो भईसकेको छ कि, घरगाउँमा फलानोको छोरो फलानीकि छोरी लिएर भाग्यो रे भन्ने खबर बरु कम सुनिन थाल्यो, फलानो सहकारी यति पैसा गुटमुट्याएर भाग्यो रे भन्ने खबर हरेक दिनजसो सुन्नु परेको छ । सहकारीमा राखेको रकम, टाँट पल्टेको साथीलाई दिएको सापटीजस्तै भएको छ, फिर्ता आउँछ- आउँदैन, पत्तो नै छैन ।
काठमाडौँमा मात्र दर्जनौं सहकारीहरु बचतकर्ताको पैसा गुटमुट्याएर भागिसकेका छन् । न्युरोडमा मात्र पछिल्लो १ बर्षमा मात्र ३२ सहकारी भागिसकेका छन् । देशभर सयौंको संख्यामा सहकारी भागिसकेका छन् । डुबेका सहकारी र ती सहकारीमा डुबेको बचतकर्ताको अरवौं रुपैयाँ बेहिसाब छ । स्थिति यतिसम्म भईसक्यो कि, सहकारी भनेका लुट्नकै लागि हुन्, ठग्नकै लागि हुन्, ढिलो चाँडो सबै सहकारी भाग्ने नै हो भन्नेसम्मको भ्रम पर्न थालिसकेको छ जनतामा ।
दिनदिने सहकारी भाग्ने क्रम नरोकिनु अनि ती भागेकाहरुलाई सरकारले नभेट्नु, वा नखोज्नुले कतै अहिले भईरहेका सहकारीका संचालकको मनमा पनि पाप पलाएको त छैन ? वा उनीहरु पनि भाग्ने छाँटकाँट त गरिरहेका छैनन् भन्ने शंका गर्ने ठाउँहरु प्रसस्तै छन् । तर यति हुँदा पनि, सरकार निरिह छ, नाममात्रको सहकारी विभाग लाचार छ, भाग्नेहरु भागेको भाग्यै छन् । २ पैसा बढी ब्याजको लोभमा सहकारीमा पैसा राखेकाहरु, अव त सावाँ मात्र आए पनि हुन्थ्यो भनेर देउता भाक्न थालिसकेका छन् । अनेक परिवारको बिल्लीबाठ भएको छ, सहकारीमा पैसा राखेका धेरैको स्थिति चौटा खान गएकी बुढी, झोलमा डुबेर मरी भनेझैं भएको छ ।
तर सबैचाहिं त्यस्ता छैनन् है, केहि राम्रा सहकारी पनि छन् । यो तर्क, तर्क त हो, तर आजकल यो तर्कमा पनि दम देख्दैनन् बचतकर्ता । किनकि हिजो भाग्ने सहकारी पनि अस्तीसम्म राम्रै सहकारी कहलिन्थ्यो । उदाहरणका लागि गौतमश्री सहकारी डुब्ला भन्ने कसलाई पो थियो र । तर अस्तीसम्म खुबै राम्रो भनिएको सहकारी हिजो बचतकर्ताको रकम कुम्ल्याएर टाप कसेपछि अस्तीसम्म राम्रो सहकारी, हिजोबाट खत्तम बन्यो । अहिले राम्रो सहकारी भनिएकाहरु भोलि भाग्दैनन् भन्ने ग्यारेन्टी कसले लिने ? र त भागेको सहकारीका बचतकर्ताहरु टाउकोमा हात लगाएर भनिरहेका छन्- ‘पैसा डुबाउने धेरै तरिका थिए, सायद मैले सहकारीमा बचत गर्ने काम रोजेछु।’
र पनि भन्न छोड्नुचाहिं हुँदैन हामीले जरुर केहि राम्रा सहकारी पनि छन् । सबैलाई उही भाँडोमा राखेर हेर्दा केहि राम्रा गरिएकाहरुलाई पक्कै अन्याय हुन्छ । तर न्याय दिनुपर्ने सहकारी विभाग नै लाचार भएको देशमा सहकारीलाई विश्वास गर्न सकिने अवस्थाको लगभग लगभग अन्त्य भएको महसुसचाहिं धेरैले गरेका छन् ।
समृद्धिका लागि सरकारले कुनै बेला नारा लिएको थियो, गाउँ-गाउँ सहकारी, घरघर भकारी । तर अहिले स्थिति यस्तो भएको छ- एक घर एक सहकारी, १० सहकारी १ भ्रष्टाचारी अनि २५ सहकारी १ अत्याचारी । सहकारी विभाग लाचारी, जनताको बचतमाथि छैन जिम्मेवारी, अनि त के गर्नु, पैसा लिएर भागेपछि बचतकर्तालाई तनावको भारी, फुलिसक्यो दारी, डुबिसक्यो घरबारी तर फिर्ता आएन भागेको सहकारी । ए ! सरकार जनता यसरी डुब्दा पनि खै त तिम्रो खबरदारी ?
सहकारी क्षेत्र यो हदसम्म बदनाम हुँदा पनि सरकारले उचित कदम चालेको देखिंदैन । बरु सरकारले लाज नै पचाएर, अलिकति पनि अफ्ट्यारो नमानी सूचना निकालिदियो र भन्यो- ‘सहकारी लगायत वित्तीय संस्थामा रकम जम्मा गर्दै हुनुहुन्छ ? यदी त्यसो हो भने, त्यस्ता संस्थाको वित्तीय विश्वसनीयताको परिक्षण गर्न नबिर्सौं, बढी ब्याजको लोभमा नफसौँ, ब्याजको लोभमा साँवासमेत नगुमाऔँ ।’
यसै त सहकारीप्रति जनताको विश्वास घटीरहेका बेला सरकारी निकाय बिज्ञापन बोर्डले नै यस्तो सूचना जारी गरेपछि त बचतकर्ताहरु त्राहिमाम बने । राम्रै भनिएका सहकारीबाट पनि यतिबेला भकाभक पैसा झिक्नेहरु बढेका छन् । पैसा झिक्नेहरु यसरी बढेका छन् कि, सहकारीले बचतकर्ता कै रकम भनेको समयमा दिन सकिरहेका छैनन् । सहकारी क्षेत्रमा बलिरहेको अविश्वासको आगोमा सरकारले घ्यू थप्दा सहकारीमा जनताको बचत नै रित्तिने स्थिति नआउला भन्न नसकिने स्थिति आएको छ । चौतर्फी दबाबपछि सरकारले सो सूचना त खारेज गरेको छ, तर जनतालाई दिइएको अव सरकारी रिस्की भए भन्ने सरकारी आशय बचतकर्ताको दिमागमा गढेर बस्दा यसले सहकारीको बदनाम मात्र गरेको छैन, बरु बचतकर्ताको भएको अलिकति विश्वास पनि माटोमा मिलाईदिएको छ ।
विज्ञापन बोर्डले निकालेको सूचना भुसको आगोसरी फैलिएपछि सहकारीमा बचतकर्ताहरु पैसा झिक्न आउने क्रम बढ्यो । यसै पनि अहिले धेरै सहकारीहरु भनेजति पैसा तिर्न सक्ने अवस्थामा छैनन् । विज्ञापन बोर्डले नै यस्तो सूचना निकालेपछि आत्तिएका सहकारीका संचालकहरुले विज्ञापन बोर्डमा सूचना सच्याउन दबाब दिन थालेका थिए ।
दबाब सहन नसकेर सहकारी विभागले सूचना केहि त सच्यायो, तर सूचना सच्याएपछि पनि यो विवाद रोकिएन । विवादमात्र होइन, सहकारीबाट पैसा झिक्ने क्रम नै रोकिएन । त्यसपछि विज्ञापन बोर्डले सूचना नै खारेज गर्यो । तर एक पटक सूचना निकालेको विज्ञापन बोर्डको आशय सहकारीहरु सुरक्षित छैनन् भन्ने नै थियो । त्यहि सूचनाको ‘ह्याङ्गओभर’का कारण अहिले पनि सहकारीबाट पैसा झिक्नेहरु बढेका छन् । बचतकर्ता भएर यसो सोच्दा त हुन पनि हो, बिज्ञापन सच्याए पनि सरकारले बुझाई नै आखिर त्यस्तै रहेछ, सहकारी रिस्की नै रहेछन् अनि किन राख्ने बचत सहकारीमा ? र त सहकारीबाट अस्ती भन्दा हिजो बढी, हिजो भन्दा आज बढी पैसा झिकिएको छ । लाग्दैछ, सहकारीहरु अव एक दिन पैसा तिर्न नसक्नेगरी हात उठाउने तयारीमा छन् । यदी यस्तो भयो भने यसको जिम्मेवारी कसले लिन्छ कसैलाई थाहा छैन ।
बैंक डुब्यो भने राष्ट्र बैंकले जनताको निक्षेपको ग्यारेन्टी लिन्छ । नेपाल बैंकका कर्मचारीले जनताको पैसा चोरेर, निक्षेपकर्ताको बचत खाएर भागे । तर बैंकले पैसा तिर्छु भन्यो । बैंकले तिर्दीन भन्यो भने पनि राष्ट्र बैंकले त्यसको ग्यारेन्टी लिन्छ । तर सहकारीमा त्यस्तो हुँदैन । सहकारी भाग्यो भने बचतकर्ताको पैसा कसैले फिर्ता दिनेवाला छैन ।पैसा फिर्ता भईनै हाल्यो भने पनि सो पैसा फिर्ता हुन्जेलसम्म बाचिन्छ, मरिन्छ थाहा छैन । र त बचतकर्ताहरु भकाभक पैसा निकालिरहेका छन् सहकारीबाट । एक त बैंकले पनि राम्रो ब्याज दिन थालिसकेको छ, अर्कोतिर सहकारीको भर नै नहुने भो । र त जनजन सोधिरहेका छन् प्रश्न यतिबेला सहकारीमा पैसा राख्नु कतै मुर्खता त होइन ?
दिनानुदिन सहकारीहरु भागेको खबरले यतिबेला सहकारी क्षेत्रमै राम्रो गर्छु भन्नेहरुलाई पक्कै अफ्ट्यारो परेको छ । भाग्ने सहकारीहरु कानुनी दायरामा नआउँदा बरु, सहकारी ठगेर भाग्नेहरुलाई नेताहरुकै संरक्षण हुँदा, अझ तपाईंको सावाँ तिर्छु, ब्याज तिर्नचाहिं सक्दिन भन्नेहरुलाई खादा र माला लगाएर स्वागत गर्ने प्रवृति बढ्दा सहकारीहरुप्रतिको विश्वास माटोमै मिलेको छ । यसले सहकारी क्षेत्रमा आफ्नो जीवन दिएका केहि राम्रा मान्छेहरुलाई असर गरेको छ । र त सरकारले अव सोच्नुपर्ने स्थिति आएको छ, सहकारीबाट जनताको अरवौं रुपयाँ स्वाहा हुने स्थिति आउँदा पनि सरकार गम्भीर नबने कहिले बन्ने त ?
जसले जस्तोसुकै तर्क गरोस्, सत्य यहि हो, अव सहकारीप्रति जनताको विश्वास निकै घटिसकेको छ । सहकारी पनि पैसा लिएर, लगानी गरेर बचतकर्तालाई ब्याज खुवाउने भन्दा पनि अलिअलि बटुल्ने अनि कुम्ल्याएर भाग्ने रणनीति बनाईरहेका झैं देखिन्छन् । यसले राम्रा गरिरहेका सहकारीहरुलाई सार्है अफ्ट्यारो परेको छ । र त अव सरकारले पनि राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्नेहरुलाई कारवाही गर्न ढिलो गर्ने हो भने एक दिन नेपालमा सहकारीहरु पनि थिए र सबै डुबे भन्ने स्थिति नआउला भन्न सकिन्न ।