कुनै बेला काठमाडौँको मुटुमा इच्छुमति नदी बग्थ्यो । इच्छुमति अर्थात टुकुचा । बुढानिलकण्ठबाट बग्न सुरु गर्ने टुकुचा, बागमतीमा आएर मिसिन्थ्यो । कुनै बेला मानिसहरु पौडी खेल्ने, माछा मार्ने गर्थ्य यहि टुकुचामा । विस्तारै शहरमा बस्ने मानिसहरुको संख्या बढ्दै जाँदा खोला धमिलो हुँदै गयो । खोलाको पानी फोहोर हुँदै गयो, माछा भेटिन छोडे । र पनि खोलाचाहिं बगीरहन्थ्यो । तर देशै बेचेर खानसमेत नछोड्ने केहि भूमाफियाले टुकुचा खोलाको अस्तित्वमाथि धावा बोल्यो ।
टुकुचाको किनारमा ठुल्ठुला घरहरु बन्न थाले । खोलाको चौडाई कम हुँदै गयो । विस्तारै खोला यसरी दुब्लायो कि कति थुंमा त खोला नै गायब भयो । टुकुचामाथि ठुला ठुला महल ठडिए । अनि त स्थिति यस्तो सम्म आयो, टुकुचा कहाँ छ, कहाँबाट कहाँ बग्छ भन्ने नै थाहा हुन धेरैलाई छोड्यो ।
गैह्रीधाराबाट टुकुचा खोला नारायणहिटी दरबार परिसरभित्र छिरेको छ । दरबारभित्र टुकुचा खोला खुला रुपमा छाडिएको छ । तर गैह्रीधारापछि एकैचोटी टुकुचा खोला कमलादीमा भेटिन्छ । अर्थात हात्तीसारदेखि कमलादीसम्मको करिब ५ सय मिटर क्षेत्रमा टुकुचामाथि अवैध संरचना बनेका छन्।र यस विषयमा जानकार बालेन्द्र शाह यतिबेला सोहि टुकुचालाई पुनर्जीवन दिने अभियानमा छन् ।
यहि अभियान अनुरुप बालेन्द्र शाहको निर्देशनमा काठमाडौँ महानगरपालिकाको आँगनमा डोजर चलेको छ । त्यहाँ डोजर चलाएर खोजी हेर्दा टुकुचा बगिरहेको भेटिएको छ । टुकुचा भेटिएपछि अहिले महानगर टुकुचालाई पुनर्जीवन दिने तयारी त गर्दै छ नै यसरी खोला नै बेचेर खानेहरुलाई कारवाहीको तयारीसमेत गर्दैछ ।
टुकुचा खोला मिचेर बनेका अवैध संरचनाहरुलाई महानगरले हटाउने अभियान सुरु गरिसकेको छ। चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोलामाथि अतिक्रमण गरेर ५८१ कित्ता जग्गामाथि बनेका घरहरुमा अन्तत: डोजर चल्ने भएको छ । महानगरले यसका लागि सम्पूर्ण तयारी गरिसकेको छ । टुकुचा खोलालाई पछ्याउँदै जाँदा गैह्रीधारा, हात्तीसार, लाजिम्पाटलगायतका क्षेत्रमा सो खोला कहाँ छ नै भेटिन्न । कतिका घरमुनि टुकुचा बगिरहेको छ, कति महल मुनि टुकुचा आफ्नै गतिमा छ ।
हात्तीसार क्षेत्रमा बढी नै मलहरु टुकुचा खोलामाथि बनेका छन् । बालुवाटारदेखि प्रदर्शनीमार्गसम्म टुकुचा पछ्याउने हो भने, कतै टुकुचा बग्छ, कतै हराउँछ । हात्तीसारदेखि कमलादीसम्म टुकुचा खोलामाथि सबैभन्दा बढी धावा बोलिएको छ । छोटोमा भन्दा यी ठाउँमा खोलामाथि भवनहरु बनेका छन् ।
तर अव यसरी टुकुचा माथि धावा बोल्ने घर, टुकुचा पर्ने जग्गाका कित्ताहरुमा डोजर चल्ने भएको छ । यहाँ घर पर्नेमध्ये कसैले अदालत गएर स्टे अर्डर नल्याएको खण्डमा अव महानगरले ती सबै कित्तामा बनेका घरहरु भत्काउनेछ ।
शहरी विकास मन्त्रालयको वाग्मती सभ्यताको लागि बनेको एकीकृत विकास उच्चस्तरीय समितिले तयार पारेको ८० पृष्ठ लामो प्रतिवेदनकै आधारमा काठमाडौं महानगरपालिकाले टुकुचा खोला करिडोर बनाउने अभियान सुरु गरेको हो । सो प्रतिवेदनमा टुकुचा खोला कहाँ कहाँ अतिक्रमण भएको छ भन्ने प्रष्ट पारिएको छ ।
महानगरले टुकुचाको उत्खनन गरिसकेको छ भने अव भत्काउनुपर्ने घरहरुको लिष्ट बनाउंदैछ। यसरि भत्किने घरहरुका मालिक भने देशकै भीआईपीहरु पनि छन् । सबै घर भत्किएको खण्डमा हाल लक्ष्मी बैंक बसेको घर, सिद्धार्थ बैंक बसेको घर, नेपाल एसबिआई बैंकको साखा रहेको घर, जय नेपाल हल लगायत थुप्रै संरचनाहरु भत्किनेछन् । यसरि सबै घर भत्किएको खण्डमा करिब १ खर्ब रुपैयाँ बराबरको सम्पति नष्ट हुनेछ ।
तर ती व्यापारीहरुको एक खर्ब रुपैयाँमात्र नष्ट हुने छैन, बरु उनीहरु थप कारवाहीको भागिदारसमेत बन्ने छन् । किनकि खोला मिचेर अवैध संरचना बनाउनु गैरकानुनी काम हो । महागरलाई प्राप्त प्रतिवेदनअनुसार टुकुचा खोलाको दायाँबायाँ रहेका ५८१ कित्ता जग्गा, त्यहाँ बनेका घर तथा टहरा र अन्य संरचनाले पनि शहरी विकासको मापदण्ड पूरा गरेका छैनन् । महानगरपालिकाले दसैँअगाडि नै हात्तीसारक्षेत्रमा टुकुचाको कुल चौडाइ १२ मिटर बनाउने लक्ष्य लिएको छ ।
महानगरले भत्काउन लागेका घरहरुमध्ये एअर अरेबिया तथा गल्फ एअरको कार्यालय रहेको भवन, एसबी डेभलपर्सले बनाएको लक्ष्मी बैंक रहेको स्थानको भवन टुकुचा खोलामिच्ने ठूला संरचना हुन् ।
काठमाडौंको हात्तीसार क्षेत्रको नापी २०३३ सालमा भएको थियो । २०३३ सालमा गैह्रीधारा क्षेत्र, नारायणहिटी दरबार र हात्तीसारको नापी गर्ने प्रमुख नापी अधिकृत राजेन्द्रप्रसाद मराठा थिए । उनले खोला भनेको भूमिगत मार्गमा पनि
बग्ने र आफुहरुले सतहमा देखिएकोमात्र नापीमा उल्लेख गर्न सक्ने बताउंदै हात्तीसार क्षेत्रमा टुकुचा नै नदेखिएको लजिक दिएर खोला नै गायब भयो ।
तर बालेन्द्रले खरबौंको अवैध संरचना हटाएर भए पनि टुकुचा खोलालाई संरक्षण गर्ने भएका छन् । भूमिसम्बन्धी ऐन २०२१, मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले ‘खोलो कसैले छोप्न पाउँदैन’ भन्ने स्पष्ट किटान गरेको त यदि कसैले खोला हडपेको, छोपेको वा मिचेको भए खोलो पूर्ववत् अवस्थामै फर्काउनुपर्छ भन्ने उल्लेख गरेकाले बालेन्द्रलाई कानुनी रुपमा यो काम अगाडी बढाउने बाटो खुलेको छ ।