×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ऋणको प्रेसरले न्युरोडका व्यवसायीले प्राण त्यागे, ‘उत्तरी नाकामा करोडौंको सामान अड्किएपछि व्यवहार बिग्रियो’ (भिडियो)

काठमाडौँ । बैंकले निरन्तर ब्याज तिर्न प्रेसर दिएपछि न्युरोडका एक व्यापारीले आत्महत्या गरेका छन् । बैंकको ऋण तिर्न नसकेको र आफ्ना सामान उत्तरी नाकामा अड्किएपछि व्यवहार बिग्रिएको भन्दै न्युरोड रन्जना मलमा व्यापार गर्दै आएका सुदर्शन घिमिरेले प्राण त्यागेका हुन् । उनले व्यवसाय बिग्रिएपछि प्राण त्याग गरेको र यसमा राज्यको नीति दोषी भएको भन्दै बिहीबार रन्जना मलका व्यवसायीहरुले एक कार्यक्रम गर्दै सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । बैंकको ब्याज महँगो भएको, सहकारीले आफ्नो पैसासमेत झिक्न नदिएको र आफ्नो सामान नाकामा अड्किएका कारण व्यापारीले आत्महत्या गरेको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनीहरुको तर्क थियो । घिमिरेले बैंक, र सहकारीबाट ऋण लिएर व्यवसाय गर्दै आएका थिए ।
‘अहिले बैंकको ब्याज एकदम महँगो भयो । सहकारीले आफ्नै बचतसमेत फिर्ता दिन नसक्ने अवस्था भयो । नाकामा समान अड्कियो । सबैतिरको व्यवहार बिग्रिएपछि व्यवसायी मित्र सुदर्शन घिमिरेले प्राण त्याग गर्ने निर्णय लिनुभएछ ।’ रन्जना व्यापार संघकि अध्यक्ष बिना श्रेष्ठले अर्थ सरोकारसँग भनिन्- ‘यस विषयमा सरकार गम्भिर नभए अरु व्यवसायीहरुको पनि यस्तै अवस्था आउन सक्छ । हामीले एक असल मित्र गुमाएका छौँ । सरकारले यसतर्फ सोच्न अव ढिलो गर्नुहुँदैन ।’
उनका अनुसार घिमिरे बिगत लामो समयदेखि सो स्थानमा व्यापार गर्दै आएका थिए । पछिल्लो समय उनी लगायतका व्यवसायीहरुको करोडौँको सामान उत्तरी नाकामा अड्किएको छ । ‘दशैं आईसक्यो, तर सामान नाकाबाट आएको छैन । सबै सामान नाकामै अड्किएको छ । यहिबेला बैंकले ब्याज बढाएको छ । सहकारीमा आफुले राखेको पैसासमेत झिक्न मिलेको छैन । व्यवसायीहरुको यस्तो समस्यालाई सरकारले छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्छ ।’ उनले भनिन् ।
यता जयन्ती व्यापार संघका अध्यक्ष समिर यादवले कहीं पनि नभएको ब्याज नेपालका बैंकहरुले लिंदा व्यवसायीहरुलाई अफ्ट्यारो परेको बताएका छन् । उनले बैंकहरुले ८ प्रतिशतमा दिएको ब्याजलाई अहिले १६ प्रतिशतसम्म पुर्याएकै कारण व्यवसायीहरु ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका हुनाले अहिलेको स्थिति आएकोसमेत बताएका छन् ।
‘कहीं नभएको ब्याज हाम्रो नेपालमा छ । १३-१४ प्रतिशत ब्याज बैंकले लिने भनेको कुरा सार्है नहुने काम हो । यहि कारण व्यवसायीहरु निकै ठुलो समस्यामा छन् । यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै यादवले भने -‘ सरकारले बेलैमा सोचेन भने यस्ता थप घटनाहरु पनि देख्नुपर्ने हुनसक्छ । त्यसैले सरकारले यस विषयमा छिटोभन्दा छिटो सम्बोधन गर्न आवश्यक छ ।’
यता रन्जना व्यापार संघका पूर्व अध्यक्ष अन्जन शाक्यले यस्ता घटना पहिलोपटक नभएको भन्दै सरकारले व्यवसायीका समस्यामा अव पनि ध्यान नदिए व्यवसायीहरु थप समस्यामा पर्ने बताएका छन् । ‘व्यवसायीहरुलाई व्यवसायहरुप्रति नै वितृष्णा आउने अवस्था छ । सरकारले व्यवसायमैत्री नीति नबनाउँदा थप समस्या भएको छ । यस्ता आत्महत्याका घटना कम गर्न सरकारले व्यवसायीका समस्या समाधान गर्न सक्नुपर्छ । व्यवसायीहरु मानसिक तनावमा छन् । व्यापार छोडौं भने के गर्ने, नछोडौं व्यापार गर्ने अवस्था नै छैन । कोभिडपछि झन् विकराल बनेको स्थिति तत्काल समाधान हुने स्थिति  देखिएको पनि छैन । अव पनि सरकारले  ख्याल नगरे अन्य व्यवसायीहरुले पनि आत्महत्या नगर्लान् भन्न सकिन्न ।’
बैंकको ब्याज तिर्न नसक्दा घिमिरे लामो समयदेखि मानसिक तनावमा थिए । दशैंको मुखमा नेपालआउनुपर्ने सामान उत्तरी नाकामा रोकिएकै कारण उनी थप तनावमा रहेको उनका आफन्तहरुको भनाई छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: