×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराजमा शपिङ गर्दै हुनुहुन्छ ? होसियार ! ठगिनुहोला नि !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

दराजमा शपिङ गर्दै हुनुहुन्छ ? होसियार ! ठगिनुहोला नि !

काठमाडौं । केहि समयअगाडीसम्म तिहारमा भाई मसलाका नाममा बाहिर बाहिर चिटिक्क पार्ने र भित्र भित्र कुहिएका छोकडा र काजु राखेर ठग्नेहरु सक्रिय थिए । अहिले पनि बजारमा ठेलामा बेचिने कतपय फलफूलहरु कुहिएको ठाउँ छोपेर राम्रोचाहिं देखाएर राख्ने चलन छ । नबुझी किन्नेहरु ठगिईरहेका छन् । बजारमा बेचिने फलफूलमात्र होइन, मिठाई, अन्य समानहरुमा पनि यस्तो ठगी भईरहेको छ । अझ पछिल्लो समय त जमाना अनलाइन शपीङको छ ।

अनलाइनमा अर्डर गर्यो, सामान लियो । तर यस्ता अनलाइन शपीङका नाममा ग्राहकहरु ठगिएका उदाहरणहरु पनि हामीसँग प्रसस्तै छन् । मेला भन्ने, समान भिडाउने । सग्लो सामान अर्डर गर्यो, फुटेको ल्याईदिने । अनि फुटेको रहेछ भन्दा फिर्ता नगरिदिने । एउटा सामान अर्डर गर्यो, अर्को ल्याइदिने अनि यहि हो भनेर फिर्ता नगरिदिने । अझ बजारमूल्यभन्दा बढी अनलाइनको दाम हुने । र पनि मेलाका बेला सस्तो हो भनेर भ्रममा परेका नागरिकलाई समान भिडाईदिने । यस्तो काम केहि अनलाइन शपीङ प्लेटफर्महरुले गरिरहेका छन् । र यसैमध्येको एक हो दराज, जसले नोभेम्बर ११ मा यस्तै मेला लगाईरहेको छ ।

बिगतमा ग्राहकको अनुभवले भन्छ, ‘मेलाका नाममा दराजले कमजोर समान र बजारमा पाइने दामभन्दा बढी मूल्य लगाएर बेचिरहेको छ ।’ अघिल्लो पटक सामसुङ मोबाइलको हकमा बजारमा पाइने मूल्यभन्दा दराजको यो मेलामा राखिएको मूल्य बढी भएको तथ्य बाहिरिएको थियो । मोबाइलमात्र होइन अन्य धेरै इलोक्ट्रोनिक्स सामानहरु दराजमा भन्दा सस्तो अन्त पाइन्छ । यो आरोप होइन, देखिएको प्रमाणित तथ्य हो । त्यसैले ११.११ का नाममा दराजले चलाउने मेलामा सामान किन्दा एक पटक होइन, दुई पटक होइन १० पटक सोच्नुपर्छ ।

उपभोक्ता ठगेको भन्दै कार्वाही
यसो त यो दराज नामको कम्पनीलाई यस अघि ठगी गरेको भन्दै सरकारी निकायले कारवाहीसमेत गरिसकेको छ । उपभोक्ता ठगीको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कम्पनीलाई यसअघि आर्थिक जरिवाना गरेको थियो। अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दराजलाई ३ लाख रुपैयाँ जरिवाना गरेको थियो। फुटेको सामान फिर्ता नगरेको तथा एउटा सामान भनेर अर्कै सामान बेचेको भन्दै उपभोक्ताको गुनासो आएपछि विभागले गत कात्तिक अन्तिम साता अनुगमन गरेको थियो ।

दराज फुटेका सामान पठाउछ अनि भन्छ तपाईंले फुटाउनुभयो होला । अनि ग्राहकले कहाँ भन्नु ? केहि ग्राहकहरु सरकारी निकायमा उजुरी गर्न गए । त्यहि उजुरीका आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दराजमा अनुगमन गर्यो । अनुगमन गर्दा दराजको ठगी भेटियो र जरिवानासमेत तिराइयो । अनि बल्ल दराजले विज्ञप्ति निकालेर भन्यो हाम्रो ७ दिनको सजिलो ‘रिटर्न’ र ‘रिफन्ड’ नीति छ, तर हामीलाई मौका नै दिइएन । ग्राहकले पहिला दराजमै भन्ने हो । भनेका पनि थिए। सुरुमा ठुला कुरा गर्ने अनि सरकारी निकायले कारवाही गरेपछि झन् ठुला कुरा गर्ने दराजको पारा अव धेरैले बुझिसकेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागले उपभोक्तामार्फत् परेको उजुरीका आधारमा स्थलगल अनुगमन र दराजले गरिरहेको व्यापारको वैधताका विषयमा कम्पनीसँग सम्बन्धित विभिन्न कागजात झिकाएर अध्ययन गरेको र स्थलगत अनुमगन, त्यसपछि विभिन्न समयमा दराजका प्रतिनिधिसँगको सोधपुछ र उसले उपलब्ध गराएका कागजातको अध्ययनपछि उपभोक्ता ठगी गरेको पुष्टि भएको र त्यसैअनुसार विभागले कारबाही गरेको बताएका थिए ।

अझ अर्को खास कुरा के छ भने उद्योग विभागमा दर्ता भएको कम्पनीले व्यापार गर्न पाउँदैन । यस विषयमासमेत विभागले दराजलाई उबेला नै सचेत गराएको थियो । तर केहि नेताहरुलाई मुट्ठीमा लिएर दराजले निरन्तर गैरकानुनी काम गरिरहेको आरोप सरोकारवालाहरु छ ।

विभागले करिब ३ महिना अवधि लगाएर दराजको व्यापारको वैधता, उसले गरिरहेका क्रियाकलाप र त्यसका कानुनी आधारका विषयमा अध्ययन गरेको थियो । विभागले दराजलाई उपभोक्ता अधिकारका विषयमा सचेत हुन र उसले कानुनी रुपमा जुन व्यवसाय गर्न पाउँछ, त्यही मात्र गर्न निर्देशन दिएको थियो ।

ग्राहकका केहि पूराना किनमेल अनुभव हेरौं…
दराज अनलाईनबाट विराटनगरका एक ग्राहकले केटिएम ग्लोबस् र हेलमेट अर्डर गरेका थिए । ग्लोबस्को अनलाईनमा बजार मूल्यभन्दा ५७ प्रतिशत छुट दिई ७ सय ३९ रुपैयाँमा विक्रि भएको देखाइएको थियो । यस्तै, हेलमेट १ हजार ५० छ । तर, दराजले हेलमेटमा बजार मुल्यभन्दा ८ सय रुपैयाँ महँगो पर्यो । दराजले यी दुवै सामानको मूल्यअभिवृद्धि कर भ्याट बिलसमेत दिएन । भ्याट विलका नाममा सामान खरिद गरेको नयाँ बानेश्वरको तेडी ट्रेडर्सले खाली बिल पठाईदिए ।

त्यस्तै, एकहजार ५० रुपैयाँ रहेको हेलमेटको बजार मुल्यमा १२ सय ५० बढी अर्थात २४ सय रुपैयाँ लिएको पाइएको थियो । ल्यापटप सप्लाई गर्ने पसलले एसर नाइट्रो ५ ल्यापटपको मूल्य ८७ हजार राख्दा दराजले भने सोही ल्यापटलाई ९८ हजार मूल्य राखेको पाइएको थियो । दराजले गत कातिक २५ गते भएको मेगा सेलडेमा पनि १० हजार रुपैयाँ बढाएर राखेको थियो । अर्थात मूल्य बढायो, अनि डिस्काउन्ट भनेर थोरै घटायो । किन्नेलाई मुर्ख बनायो र सामान बेच्यो दराजले ।

नियम विपरित दराजको व्यापार
अर्कोतर्फ दराजले गरिरहेको व्यवसाय गर्न पाउँछ कि पाउँदैन भन्ने विषयमा पनि प्रश्न उठेको छ । द्योग विभागमा दर्ता भएको कम्पनीले व्यापार गर्न पाउँदैन भनी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यस अघि नै दराजलाई सचेत गराईसकेको थियो । दराज उद्योगमा दर्ता छ । तर, उद्योगमा दर्ता भई वाणिज्य सम्वन्धी काम गरीरहेको छ दराजले । जानकारहरु यसलाई यो नीतिगत ठगी भन्छन् । तर पनि दराज चलिरहेको छ । नीति सिति यत्रै सिति भनेझैं गरी दराजको कामले सरकारी संयन्त्र र नेपालको कानुनलाई गिज्याईरहेको सरोकारवालाहरुको दाबी छ ।

दराजले व्यवसाय गर्न पाउँछ, तर ठग्न पाउँदैन । उसले व्यापार गर्न पाउँछ तर व्यापार गर्न सोहि अनुसारको इजाजत लिनुपर्छ । कपाल काट्ने इजाजत लिएर कसैले कसैको टाउको काट्न पाउँदैन । अनि केहि हजार र केहि लाख रुपैयाँ जरिवाना गराएर बाँकी रकमचाहिं टेबलमुनिबाट लिएर सबै कुरा ओके छ त भन्ने बानी परेका सरकारी संयन्त्रहरु पनि यस्ता कुरामा गम्भीर हुनुपर्छ । कसैले व्यवसाय गर्ने नाममा कसैलाई पनि ठगी गर्न पाउँदैन । यसमा सबै सचेत हुनैपर्छ ।

हामीले ‘तपाईंहरुले त ग्राहक ठग्नुभयो भन्ने गुनासो छ, यस बारे बोलिदिनुपर्यो’ भनेर ग्राहकका प्रतिनिधीको धारणा खोज्ने प्रयास पनि गर्यौं । तर के बोल्ने भन्ने चीज नभएर हो कि, झुट बोल्न मन नलागेर हो, वा ढाँटेको कुरा काटेको मिल्दैन भनेर हो, दराजका प्रतिनिधि हाम्रो सम्पर्कमा आउनै चाहेनन् । खैर केही छैन, व्यापार गरेर पैसा कमाउने अधिकार दराजको छ, दराजको मेलाका लागि भव्य शुभकामना । सँगै यसपाली ग्राहकलाई प्लीज नठगीदिनुस, यो हाम्रो सविनय अनुरोध हो ।

अनि ग्राहकहरुलाई पनि अनुरोध, दराजबाट सामान किन्नुअघि एक पटक सो सामानको मूल्य अन्त कति छ भन्ने पनि हेर्नुहोस् । सस्तोमा पाइने सामानलाई महँगोमा किन्नु, धनी हुनुको प्रमाण होइन, आफैंप्रतिको धोका र धनलक्ष्मीको अपमान हो । पछि ठगिएं भनेर बिलौना गर्नुभन्दा आज सोचेर किनमेल गर्नु राम्रो हो नि होइन र ? यसतर्फ ग्राहकको पनि ध्यान जाओस् । पोहोर परारका उदाहरणले प्रष्ट पार्छ दराजमा सामान सस्तो खासै पाइने होइन, बरु कतिपय सामान महँगो पर्छ । सरकारी निकायले कम्पनीले ठग्यो भनेर जरिवानासमेत गराईसकेको छ । अनि यति हुँदा हुँदै पनि, तपाईंलाई किनमेल गर्न त्यो पनि दराजमै, ११ नोभेम्बरमै सामान किन्नु छ भने त हामी के नै भन्न सक्छौँ र ? अल द बेष्ट, जय राम जीकी, बमबम भोले, कि कसो त ?

दराजले ११ नोभेम्बरमा भव्य व्यापार गरोस्, टन्न कमाओस । तर भ्याट नछली व्यापार गरोस् । फुटेको सामान नपठाओस, फुटेको रहेछ भने तपाईंनै फुटाएको हो जिम्मेवारी लिन्नौं नभनोस् । ह्वात्तै मूल्य बढाएर स्वात्तै घटाएको जस्तो देखाएर ख्वातै बदमासी नगरोस् । बजार मूल्यभन्दा पनि बढी मूल्य राखेर सामान नाबेचोस । नेपाली ग्राहकलाई मुर्ख नासंझियोस् । तिहारमा कुहिएका छोकडा र काजुको स्टक क्लियरेन्स गरेझैं मेलाका नाममा झमेलाको ठगी कला नदेखाओस् । शुभकामना दराजलाई, सचेत हुन आग्रह ग्राहकलाई ।

र पोहोर परारजस्तै सचेत हुँदा हुँदै पनि तपाईंलाई यसपाली पनि दराजले ठग्यो भने, हामीलाई खबर गर्नुहोस् । हामी मिलेर लडौंला दराजका विरुद्ध र भनौंला ठग दराज मुर्दाबाद । होइन दराजको किनमेल अनुभव गज्जबको छ भने पनि खबर गर्नुहोला । भनौंला दराज सुध्रिएछ, दराज जिन्दाबाद ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: