काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ । पुल्चोक क्याम्पस (ईन्जिनियरिङ अध्ययन संस्थान) को इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना हुँदै गर्दा वर्ल्डलिङ्कले सहयोग गरेको हो ।
कात्तिक २० गतेदेखि २६ गतेसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा कक्षा ८ देखि १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई लक्षित गरिएको छ । यस सचेतना अभियानका क्रममा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिशिङ, अनलाइनमा सुरक्षित रहने तरिका, लगायतका विषयमा ज्ञान दिइने भएको छ । साथै आवश्यक स्रोत साधनको सरलीकरण र व्यवस्था गरि यस अभियानमा सम्बन्धित क्षेत्रमा रहेका वर्ल्डलिङ्कको शाखाले सहजीकरण गरेका छन् ।
देशको प्रमुख इन्टरनेट सेवाप्रदायकको हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको वर्ल्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताएका छन् । ‘वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी’ अन्तर्गत यस सचेतना अभियानलाई प्रायोजन गरेको हो जसमा आगामी दिनहरुमा डिजिटल साक्षरताका कुराहरुसँगै इन्टरनेटका महत्वपूर्ण विषयवस्तुहरू पनि समावेश गरिने भएको छ ।
यस कार्यक्रमलाई साथ दिँदै चाइल्ड सेफ नेट नामक संस्थाले आवश्यक सचेतनामूलक सामग्री तयार पार्न सहयोग गरेको छ । साथै लोकसको तर्फबाट कूल ५० जना कार्यक्रमका लागि परिचालित भई हरेक विद्यालयमा दुई घण्टाको सचेतना कार्यक्रम सञ्चालन गरिने लोकसका इभेन्ट म्यानेजर विपिन खनालले बताएका छन् ।