×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन साह र बिशाल भण्डारीको जुहारी, को सहि ? को गलत ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

बालेन साह र बिशाल भण्डारीको जुहारी, को सहि ? को गलत ?

काठमाडौं । एकोहोरो  आफ्नो काममा लागिरहेको मान्छेलाई क्याउं क्याउं गरेर कसैले कराईरह्यो, अनेक बहानामा कनाईरह्यो, सामाजिक संजालमा खिसिट्युरी गरिरह्यो, नचाहिने बात लगाईरह्यो भने जो कोहिलाई पनि रिस उठ्छ । आफ्नो काममा लागिरहेकाहरुलाई डिस्टर्ब गर्नेहरुसँग झनक्क रिस उठ्नु स्वाभाविक मानवीय स्वभाव हो । तर, कहिलेकाहीं यस्तै-यस्तै हुँदा दिएका प्रतिक्रियाका कारण काम गर्नेहरु पनि विवादमा तानिन्छन् । रोइलो गरेर उनीहरुलाई डिस्टर्ब गर्नुको कारण पनि उनीहरु विवादमा परुन् भन्ने हुन्छ कतिपयको । र यसपाली काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह पनि एकोहोरो काम गरिरहेका बेला आएको बेतुकको गाली आएको भन्दै प्रतिक्रिया दिँदा चर्चामा छन् । धेरैले बालेन्द्र शाहकै सपोर्ट लिए पनि उनले प्रतिक्रिया नै नदिएको भए उनको हाइट ठुलो हुन्थ्यो भन्नेहरु छन् । र धेरै हदसम्म यो सत्य पनि हो ।
बालेन्द्र को हुन् ? के गरिरहेका छन् ? कसका लागि गरिरहेका छन् भन्ने तथ्य सबैलाई जगजाहेर छ । काठमाडौँबासीको अपार माया पाएका बालेन्द्र शाह काठमाडौँलाई सुन्दर बनाउने अभियानमा छन् भन्ने सबैजसोलाई थाहा छ । बालेन्द्रको कामबाट आत्तिएकाहरु, आफुले गलत काम गरेकाहरु, बालेन्द्रले अव हामीलाई पनि सिध्याउने भए, हाम्रो गलत कामलाई पनि भत्काउने भए भनेर आत्तिएकाहरु अहिले बालेन शाहको खुलेर बिरोध गरिरहेका छन् भन्ने बुझ्न गाह्रो छैन । जति ताली बालेन्द्रको कामका प्रति वाह वाह भनेर जनताले दिईरहेका छन्, त्यति नै उनको कामबाट आत्तिएकाहरुले उनको विरोध गरिरहेका छन् भन्ने बुझ्न गाह्रो छैन ।
बालेन्द्र हत्तपत्त कतै प्रतिक्रिया दिंदैनन् । तर जव दिन्छन्, तव उनले सात पुस्तालाई पुग्नेगरी दिन्छन् । यसअघि हर्क साम्पाङ विवादमा होस् वा यसपाली बिशाल भण्डारी विवाद प्रकरणमा । उनले दिनुपर्ने जवाफ पुग्नेगरी नै दिएका छन् । आफ्नो काममा डिस्टर्ब गर्नेहरु, र बेतुकको आफ्नो खिसिट्युरी गर्नेहरुलाई बालेन्द्रले दिने दनक यसपाली पनि गज्जबकै थियो ।  र अहिले सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अकाउन्टबाट बिशाल भण्डारीलाई गरिएको कमेन्ट भाइरल बनेको छ । कमेडी च्याम्पियन लगायत दर्जनौं म्युजिक भिडियोका डाइरेक्टरसमेत रहेका विशाल भण्डारीले शुक्रबार आफनो फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मेन्सन गर्दै केही प्रश्नको जवाफ दिन भनेका थिए ।
एउटा म्युजिक भिडियो बनाउन गर्नुपर्ने मेहेनतजतिकै मेहेनत गरेर डिजाइननै बनाएर प्रश्नहरु गरेका थिए भण्डारीले । र बालेन्द्र शाहलाई मेन्सन गर्दै तयार पारिएका प्रश्नको जवाफ खोज्दै थिए उनी । उनले ती प्रश्नहरु आफैंले तयार गरेका थिए वा अरु कसैले तयार गरेर दिएका थिए, त्यो त उनी नै जानुन्, तर उनले रक्षक नै भक्षक भएको भन्दै बालेन्द्र शाहलाई करचाहिं असुल्ने, निजी सम्पत्ति विना पूर्जी, विना अधिकार गुण्डागर्दी शैलीमा डोजर आतंक गर्ने लगायतका प्रश्न गरेका थिए ।
कसरि सुरु भयो जुहारी ? 
विशाल भण्डारीले राखेको यो प्रश्न त्यतिबेलासम्म कसैको चासोमा थिएन, जवसम्म त्यहाँ बालेनले प्रतिक्रिया जनाएका थिए । तर बालेन्द्र शाहले जव जवाफ मागिएको प्रश्नमा ‘ तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्त्वि पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।’ भनेर कमेन्ट गरिदिए, त्यसपछि दुई जनाको जुहारी सुरु भयो ।
बालेन्द्र शाहले यस्तो कमेन्ट गरेपछि भण्डारी थप तात्तिए ।  अर्कोमा स्टाटसमा बिशाल भण्डारीले- “मैले प्रश्न सोधेको माफ पाउँ श्री ८ बालेन शाह । भत्काउनु बाहेक के बनाउनुभयो ? भनेर प्रतिप्रश्न गरे त्यसपछि बालेन्द्र शाहले  “प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिरहेको मान्छेलाई दारु खाएर राति राति दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दै छ थाहा छ ?’ भन्दै प्रतिप्रश्न गरेपछि यो प्रकरण थप चर्चामा पुग्यो ।
बिशाल भण्डारीले दारु खाएका थिए कि थिएनन्, त्यो तिनै जानुन, तर बालेन शाहको आरोप भने भण्डारीले काम गरिरहेका बालेन्द्र शाहलाई दारु खाएको लहडमा रातीराती दुख दिएको भन्ने थियो । र यो प्रकरण अहिलेसम्म पनि सेलाएको छैन । बरु बिशाल भण्डारीका पक्षमा उनका वरपरका मान्छे र बालेन्द्रका पक्षमा बालेन्द्रले काम गरिरहेका छन् है भन्ने मान्छेहरु विभाजित भएका छन् ।
प्रतिक्रिया दिन बालेनले हतार गरे 
तर यो प्रकरणमा बिशाल भण्डारी अलि बढी मर्यादा बाहिर जान खोजेको र बालेन्द्र शाह प्रतिक्रिया दिन हतार गरेको देखियो । सयौं म्युजिक भिडियो बनाएका बिशाल भण्डारीलाई पक्कै थाहा छ, एउटा म्युजिक भिडियो बनाउँदा त कति ठाउँमा काट्नुपर्छ, नमिलेको ठाउँमा मिलाउनुपर्छ, अरुले ओहो क्या दामी सिन है भनेको सिन त कथा सुहाउँदो भएन भनेर फाल्नुपर्छ भने यहाँ त विधिको कुरा छ । कानुनले नदिएको ठाउँमा, नदिएको तरिकाले बनाईएका संरचनाहरु भत्काउनुनै पर्छ । र बालेन्द्रले त्यहि गरेका थिए । एउटा एपिसोड कार्यक्रम बनाउँदा त कतिले के भन्छन्, कतिले के भन्छन् अन्तिममा सहि कुरा नै गर्नुपर्छ भने यहाँ त एउटा कार्यक्रम वा एउटा म्युजिक भिडियो होइन, सिंगो महानगर बनाउने कुरा छ । यहाँ कतिलाई मन नपर्न सक्छ, तर बालेन्द्र शाहले काम त गर्नु नै छ ।
बालेन्द्रप्रति विशालको खिसिट्युरी 
विशाल भण्डारीले यो कुरा बालेन्द्रलाई व्यक्तिगत नै भन्न पनि सक्थे । किनकि उनीहरुबीच दोहोरो चिनजान थियो । तर उनले बालेन्द्र शाहको खिसिट्युरी गर्ने तरिकाले सामाजिक संजालमा पोष्ट गरिदिए, त्यो पनि रातीराती । त्यसपछि बालेन्द्र शाहलाई पनि झोक चलेछ, फर्काईदिए जवाफ । यतिसम्ममा नै सबै कुरा रोकिदिएको भए कुरा सकिन्थ्यो, किनकि उनले बालेनले सुनुन भनेर सोधेको प्रश्नमा बालेन्द्रले जवाफ दिईसकेका थिए । तर उनले पुन: श्री ८ बालेन्द्र शाह भनेर बालेन्द्र शाहको खिसिट्युरी गरे । यो बालेन्द्रप्रतिमात्र होइन, बालेन्द्रलाई जिताउने काठमाडौँ महानगरबासीप्रतिको अपमान थियो र हो । र त अहिले जति गाली बालेन्द्रले यो प्रकरणमा खाईरहेका छन्, त्यो भन्दा धेरै गुणा बढीले बिशाल भण्डारीलाई गाली गरिरहेका छन् ।
यसो त यो प्रकरणमा बालेन्द्र पनि चुके । बालेन्द्र खुरुखुरु काम गरिरहेका छन् भन्ने सबैलाई थाहा छ । गलत कामविरुद्ध कसैले आवाज उठाउँदा कोहि जरुर बोल्छ भन्ने पनि उनलाई थाहा थियो । बालेन्द्रलाई केहि छोडेर काठमाडौँबासीको साथ छ भन्ने पनि थाहा थियो र छ, यसरी प्रतिक्रिया  नदिंदा नै ठिक हुन्छ भन्ने पनि थाहा थियो र छ, र पनि बालेन्द्रले आफुलाई सम्हाल्न सकेनन् र जवाफ फर्काईदिए । एक पटक जवाफ फर्काईसकिएको थियो, ठिकै थियो, तर विशाल भण्डारीले जुहारी खेल्न खोज्दा उनले पनि जुहारी नै खेल्न खोजे । ब्याटल फर्काउँदाको मज्जा सम्झे सायद बालेन्द्रले, र फर्काए जवाफ ।
पटक-पटक विवादमा बिशाल भण्डारी 
हुन त विशाल भण्डारीले यसरी आफुलाई चित्त नबुझेको कुरा यस्तै शैलीमा राखेको पहिलोपटक होइन । आफ्नो कार्यक्रम प्रायोजन गर्ने संस्था वा आफु नजिकका मान्छेले गरेको गल्तीका समाचार आउँदा उनी सो समाचार लेख्ने पत्रकार र संचार संस्थाहरुलाई यसरी नै आफ्नै पाराले अमर्यादित जवाफ दिन्थे, हल्का टिप्पणी गर्थे । तर यसपाली उनी बालेन्द्र शाहकै फेला परे । यो पटक पनि मैले बोलेपछि मै हिरो हुन्छु भन्ने सोचेका भण्डारी उनले बनाएको कोहलपुर् एक्सप्रेस भन्ने फिल्म फ्लप भए भन्दा बढी चिप्लिए ।
र त अहिले बालेन्द्रका समर्थकले बिशाल भण्डारीलाई सोधिरहेका छन्- ‘तिमीले चाहिं भारतीय शो कपि गर्ने बाहेक के गर्ह्यौ र ?’ धेरैले भनिरहेका छन्- ‘बालेन्द्रलाई गाली गर्न अलि हतार भएन र ?’ कतिपयले उनलाई उनको शो कमजोर हुँदै गए पनि चर्चा बटुल्न स्टन्ट गरिरहेकोसमेत भनिरहेका छन् । तर, उनले पनि जवाफ फर्काउन छोडेका छैनन्, मैले भारतीय शोको कपि गरेको भन्नेहरुले सिङ्गापुर र स्वीजरल्याण्डको बिकासको मोडल कपि गरेर देश बनाउनु नि भन्ने आशयका स्ट्याटसहरु लेखिरहेका छन् । आफुलाई बालेन्द्रले भाई भनेर सम्बोधन गरेपछि उनले ब्यायाम गर्नुको फाइदा यहि रहेछ, आफु भन्दा कान्छोले पनि भाई भन्ने रहेछ भनेर रमाइलोसमेत गरिरहेका छन् ।
खैर, जे नहुनु थियो त्यो भईसक्यो । सबैले बुझेका छन्, भित्रैबाट भण्डारीले आफुलाई लागेको कुरा बोलेको भन्दा पनि उनका नजिकका नातेदार बालेन्द्रको कारवाहीको सिकार भएपछिको यो हुङ्कार थियो र हो । धेरैले बुझेका छन्, बालेन्द्र र महानगरको कारवाहीको सिकार उनका मान्छेहरु परे र उनले पनि सेलिब्रेटी हुनुको पावर देखाउन खोजे । बालेन्द्र पनि के कम थिए र फर्काईदिए जवाफ । तर बालेन्द्रले बुझ्नुपर्छ, यस्तो प्रतिक्रियाले मन हल्का त पार्छ तर त्यसले आफुलाई पनि हल्का बनाउन सक्छ । यसपाली भएको यती हो । काग कराउंदै गर्छ पीना सुक्दै गर्छ भन्ने शैलीमा काम गर्नुपर्छ बालेन्द्र शाहले ।
बालेन्द्र शाहलाई पनि स्वयम् थाहा छ, उनको काम आफ्नो संरचना भत्केकाहरुलाई मन परेको छैन । मन पर्ने कुरै पनि भएन । तर परिवर्तन सजिलो छैन भन्ने बुझेका बालेन्द्रले यहि तथ्य आत्मसाथ गर्दै अगाडी बढे राम्रो हुन्छ । बेला बेला यस्ता ससाना कुरामा कमेन्ट गरेर आफ्नो हाइट घटाउनु हुँदैन । यो मेरो वा हाम्रो मात्र होइन, बालेन्द्रका हजारौं भोटर र लाखौँ समर्थकको आवाज हो । (भिडियो)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: