काठमाडौं । नेपाल बीमा प्राधिकरण र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) बीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक पत्रकाहरुको संगठन (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै प्राधिकरणले पुस १८ गते सोमबार संक्षिप्त अन्तरक्रिया गरेको हो ।
उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र विस्तारका लागि आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै आगामी दिनमा प्राधिकरणले पत्रकारहरुको क्षमता विकासको लागि वार्षिक कार्यक्रम नै बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका थिए । अध्यक्ष सिलवालले बीमाको दायरा र पहुँच विस्तारमा सरकार नै जिम्मेवार नभएको भन्दै त्यसको खबरदारी पत्रकारहरुले गर्नुपर्ने बताएका थिए ।
‘सरकारले आफ्नो सम्पत्तिकै बीमा गरेको छैन, बीमाको महत्व बुझेर सरकारले नै जोखिम ट्रान्सफर नगरेको अवस्थामा सर्वसाधारणलाई हामीले के उदाहरण दिने?’, अध्यक्ष सिलवालले कार्यक्रममा भने, ‘सरकारलाई बीमा क्षेत्रप्रति आफ्नो जिम्मेवारी महसुस गराउन तपाईंहरुको महत्वपूर्ण भुमिका हुन्छ । त्यसमा आवश्यक समन्वय गर्न प्राधिकरण तयार छ ।’
आम जनमानसमा पनि बीमासम्बन्धी सही बुझाइ नहुँदा समस्या बढ्दै गएको उनको भनाइ छ । सरकारले मोटर बीमा अनिवार्य गरे जस्तै घर तथा सम्पत्ति बीमा पनि अनिवार्य गर्नुपर्ने उनले बताए । ‘घरको बीमा गर्नुपर्छ भन्ने भूकम्पपछिमात्रै भएको हो । काठमाडौं उपत्यकाबाहिर अझै पनि कतिपय ठूला भवनहरुकै बीमा गरिएको हुँदैन’, उनले थपे, ‘यसका लागि स्थानीय सरकार/प्रत्येक पालिकाहरुले घरको बीमा अनिवार्य भनेर बाध्यात्मक नियम लागू गर्नसके बीमाको पहुँच थप बढ्छ ।’
उनले अहिलेसम्म राष्ट्रिय बीमा नीति नै नरहेको भन्दै प्राधिकरणले मस्यौदा गरेर पठाएको राष्ट्रिय बीमा नीति नेपाल सरकारले संशोधनसहित स्वीकृत गरेको भए पनि प्राधिकरणमा नपुगेको बताएका थिए । ‘हाल बीमाक्षेत्रमा धेरै परिवर्तन आएका छन् । सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बीमाका बारेमा बुझ्दै गएका छन् । राष्ट्रिय बीमा नीति कार्यान्वयनमा आएपछि सरकारका लागि समेत बीमा बाध्यकारी बन्छ । प्रदेश र पालिकाहरुले पनि बीमासम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिनुपर्छ । यसबाट हामी खोजिरहेको गन्तव्यमा पुग्नसक्छौँ ।’
प्राधिकरणले बीमा क्षेत्रको लगानी विविधीकरणका लागि निर्देशिकाहरु जारी गरी जलविद्युत लगायत सरकारबाट स्वीकृतिप्राप्त क्षेत्रमा बीमा कम्पनीहरुले लगानी गर्ने बाटो खुलाएको उनले जानकारी दिए । अध्यक्ष सिलवालले बीमाको पहुँच र दायरा विस्तारमा आर्थिक पत्रकारहरुको खबरदारीले महत्वपूर्ण भूमिका राख्ने हुँदा आगामी दिनमा प्राधिकरणले मासिक तथा त्रैमासिक रुपमा पत्रकारहरुको क्षमता विकासको लागि तालिम तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
‘आर्थिक पत्रकारको क्षमता अभिवृद्धि हुँदा प्राधिकरणले केही गुमाउँदैन । प्राधिकरणलाई फाइदा नै पुग्छ’, उनले भने, ‘सूचना दिने पत्रकारले क्षमता वृद्धि हुँदा उसले दिने सूचना पनि प्रभावकारी हुन्छ । जसले बीमाको दायरा र सूचना विस्तारमा नै सघाउँछ ।’