×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर भाउमा एनआईसी एशियाले नबिल बैंकलाई जित्यो, अर्को बर्ष आउला त बम्पर लाभांश ? (भिडियो विश्लेषण)

PRIME CA
GLOBAL IME BANK

सेयर भाउमा एनआईसी एशियाले नबिल बैंकलाई जित्यो, अर्को बर्ष आउला त बम्पर लाभांश ? (भिडियो विश्लेषण)

१९ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै नेपाली सेयर बजार निरन्तर उकालो यात्रामा छ । यसअघि पनि पौडेलकै पालामा सेयर बजार मापक नेप्से परिसूचकले अल टाइम हाई चुमेकाले यसपटक पनि यस्तै हुन्छ भन्ने लगानीकर्ताहरुको मनोविज्ञान हावी हुँदा बजार निरन्तर उकालो यात्रामा देखिएको हो । त्यसमाथि पनि तरलता अभावको समस्या समाधान हुनु, नेपाल राष्ट्र बैंकले अव सेयर बजार विरोधी नीति नल्याउने विश्वास लगानीकर्तामा देखिएपछि सेयर बजार निरन्तर उकालो लागेको हो । र अघिल्लो पटक नन फण्डामेन्टलमा डुब्नसम्म डुबेका लगानीकर्ताहरु यसपटक भने फण्डामेन्टल कम्पनीतर्फ मोडिएका छन् । र त सेयरधनीका लागि निकै राम्रो कम्पनीका रुपमा रहेको एनआईसी एशिया बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

अझ खास कुरा त के छ भने, पछिल्लो समय निकै एग्रेसिभ मुभ लिईरहेको एनआइसी एशिया बैंकको सेयर नेपाली सेयर बजारमा बाणिज्य बैंकहरुमध्ये सबैभन्दा महँगो सेयर भएको छ । नबिल बैंकको सेयर मूल्यलाई जित्दै एनआईसी एशिया बैंकको सेयर बाणिज्य बैंकहरुमध्येकै महँगो सेयर भएको हो । यस अघि नबिल बैंक लिमिटेडको सेयरमूल्य बाणिज्य बैंकहरुमध्येकै सबैभन्दा महँगो सेयर बन्न सफल भएको थियो । अव नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंकमध्येबाट सेयर किन्दा एनआईसी एशिया बैंकको सेयरमा सबैभन्दा बढी मूल्य हाल्नुपर्ने भएको छ ।

नबिलको भन्दा एनआइसी एशियाको सेयर मूल्य बढी 

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ रहेको छ भने एनआइसीको ७६५ रुपैयाँ रहेको छ । अर्थात सोमबारकै आंकडा हेर्ने हो भने एनआईसी एशियाको सेयर मूल्य नबिल बैंकभन्दा ३० रुपैयाँले बढी छ । नबिल बैंक लिमिटेडले हरेक बर्ष सेयरधनीलाई राम्रो लाभांश दिए पनि एनआईसी एशिया बैंकले बिगत दुई बर्षदेखि सेयरधनीलाई लाभांश दिएको छैन । दुई बर्षदेखिको लाभांशवापतको रकम अर्को बर्ष लाभांशको रुपमा बम्पर लाभांश बाँड्ने संकेत देखिएपछि सेयर लगानीकर्ताहरु एनआईसी एशिया बैंकको सेयरमा झुम्मिएका हुन् ।

किन दिएन एनआइसी एशियाले यसवर्ष लाभांश ?

गत मंसिर ५ गते साँझ बसेको एनआइसी एशिया बैंक सञ्चालक समितिलको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम गर्न नसक्दा एनआईसीले लाभांश दिन नपाएको हो । मनग्गै नाफा कमाए पनि नियामकीय निर्देशन अनुसार तोकिएको पूँजी कोष अनुपात कायम नगर्दा बैंकले लाभांश बाँड्न पाएन । अर्को बर्ष पूँजीकोष अनुपात पनि राष्ट्र बैंकले तोके अनुसार नै हुने, बैंकले लाभांश दिन पनि पाउने, त्यो पनि बम्पर लाभांश आउने र अर्कोबर्षसम्म यो बुलिस यात्रामा बैंकको सेयर मूल्य पनि निकै माथि जाने संकेत देखिएपछि लगानीकर्ताको आकर्षण एनआईसी एशिया बैंकमा देखिएको हो ।

दुई बर्षसम्म एनआईसी एशिया बैंकले लाभांश नदिंदा धेरैले यो दुध नदिने मोटो गाई के काम भनिरहेका थिए । तर गाई पनि मोटोघाटो अनि अव दुध पनि टन्न आउनेगरी अर्को बर्ष गाई ब्याउने भएपछि लगानीकर्ताहरु यहि एनआईसी एशिया नामको दुधालु गाईप्रति आकर्षित भएका छन् ।

दुई बर्षदेखि सेयरधनीले गरेको लगानीभन्दा बैंकले लिएको दायित्वको अनुपात बढी भएको हुँदा एनआईसी एसिया बैंकले लाभांश वितरण गर्न पाएको थिएन । जसका कारण नियमित लाभांशको अपेक्षा गर्ने सेयरधनीहरु निराश बनेका थिए र छन् । तर केहि समय कुर्दा निकै बढी नाफा हुने देखेपछि सेयर लगानीकर्ताहरु एनआईसी एशिया बैंकमा झुम्मिएका छन् ।

नियामकीय नीतिअनुसार प्राथमिक पुँजीको ८.५ प्रतिशत र पुरक पुँजी गरेर न्यूनतम ११ प्रतिशत पुँजीकोष नपुग्नेले लाभांश दिन पाउँदैन । अझ सहज भाषामा भन्दा नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार आर्थिक वर्षको कुनै एक त्रैमासमा प्राथमिक पुँजीकोषको अनुपात ८.५ प्रतिशतभनदा कम भएमा कुनै पनि बैंकले लाभांश वितरण गर्न नपाउने व्यवस्था छ । एनआईसी एशिया बैंकको यहि अनुपात नमिल्दा यसपटक पनि सेयरधनीहरुले लाभांश नपाएका हुन् ।

नियामकीय नीतिअनुसार बैंकहरूले प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत पुर्याउनुपर्छ । बैंकहरूले यसलाई टायर १ क्यापिटल भन्छन् । यसमा बैंकको चुक्ता पुँजी, बाँड्न लागिएको लाभांश, सेयर प्रिमियम, रिजर्भ, रिटन्ड अर्निङ, चालु वर्षको अडिट नभएको नाफालाई जोडेर आउने रकममा कर एसेट लगायत लगानी भएका इक्विटी एक्सेसको सीमा घटाएपछि आउने रकमलाई टायर १ क्यापिटल अर्थात् प्राथमिक पूँजी भनिन्छ ।

टायर २ भने ऋणपत्र, लोन लस प्रोभिजनको रकम, लगानी गर्दाको रिजर्भ र अन्य रिजर्भ जोडेर आउने रकम हो । यसरी टायर १ र २ पुँजी जोडेर आउने रकमलाई पुँजीकोष भनिन्छ ।

अव चालु आर्थिक बर्षमा बैंकले जसरी पनि नियामकीय नीति अनुसारको अनुपात पुर्याएर लाभांश दिने लक्ष लिएको छ । अव दुई बर्षदेखि खल्तीमा राखेको पैसा बाँड्न पाउने भएपछी बैंकले लाभांश बाँड्दा बम्पर बाँड्ने निश्चित देखिएको भन्दै लगानीकर्ताहरु उत्साहित छन् । बम्पर लाभांश पनि पाइने, क्यापिटल गेन पनि पाइने भएपछि सेयर लगानीकर्ताहरु भन्न थालेका छन्, एनआईसी एशिया बैंक, बैंक पनि साथी पनि, हामी सेयर धनीलाई अर्को बर्ष बम्पर लाभांश पनि, मिठो क्यापिटल गेन पनि ।

यसो त सेयर बजारमा अध्ययन विना आएका केहि लगानीकर्ताहरुले बैंकले लाभांश दिएन भनेर लाभांश नदिने घोषणा गरेको भोलिपल्ट नै एनआईसी एशिया बैंकको सेयर बेचे । जवकी लाभांश नदिनुका पनि फाइदा छन् लङ टर्म सेयरधनीहरुलाई । अहिले नदिएर के भो त, सेयरधनीलाई दिन मिल्ने लाभांश कतै जाने होइन क्यार १ अझ सेयर धनीलाई बाँड्न नपाएको सो लाभको अंशले त बैंकले अझ राम्रो बिजनेश गर्न सकिरहेको पनि हुन सक्छ । आखिर अर्को पटक लाभांश आउनु नै छ ।

यसो भन्दैमा फेरी गुटुङटुङ दौडिएर भएभरको पैसाले भोलि नै एनआईसी एशियाको सेयर किन्नुपर्छ भन्नेचाहिं नबुझौँ । किन कि सेयर बजार जोखिमको क्षेत्र हो । यसमा बुझेर सहि समयमा, सहि कम्पनीमा, सहि तरिकाले, सहि पैसाले सहि टार्गेट राखेर, बेच्ने सहि समय पहिला नै पहिल्याएर लगानी गरे मात्र कमाई हुने हो । त्यसैले सुरक्षित रुपमा अध्ययन गरेर मात्र सेयर बजारमा लगानी गर्नुहोला । गाईको व्यापार नै गर्नुपरे पनि दुध दिने गाईको व्यापार गर्दा गाई बिकेन भने पनि दुध त खान पाइन्छ नि भन्नेचाहिं जरुर सोच्नुहोला । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: