काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । पोखरा उपमहानगरपालिका वडा नं. १७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको मिति २०७९/१०/०१ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा असामायिक निधन भएको थियो ।
बालाजु शाखामा आयोजित एक कार्यक्रमकाबीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
आफ्नो जीवनकालमा स्व: संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बालाजु शाखा कार्यालयबाट मिती २०७९/०५/२९ गते ५० लाख बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिएकी थिइन् । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख र दुर्घटना मृत्यु दावी बापत ५० लाख गरी कुल १ करोड १ लाख इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ ।
२०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १५०.८५ अर्ब रुपैयाँ र सेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीले ग्राहकहरूको हितलाई ध्यानमा राखी समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।