×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको उपस्थिति बेच्ने नेफ्टाको प्रयास तुहियो, आयोजकको वैधतामाथि प्रश्नै-प्रश्न !

LAXMI SUNRISE BANK
GLOBAL

प्रधानमन्त्रीको उपस्थिति बेच्ने नेफ्टाको प्रयास तुहियो, आयोजकको वैधतामाथि प्रश्नै-प्रश्न !

२९ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को ११ औँ नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा जेठ १३ गते (२७ मे २०२३) मा हुने औपचारिक रुपमा घोषणा तथा उद्घाटन कार्यक्रममा जानकारी दिइयो । पाँचतारे होटल सोल्टीमा रातो कार्पेटको तामझामका साथ आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र अमेरिकी राजदूत डिन आर थम्पसन विशेष उपस्थिति हुने भन्दै पत्रकार र सहभागीलाई मौखिक जानकारी दिइएको थियो ।

दिउँसो १२ः३० बजेका लागि तय गरेको कार्यक्रममा प्रधानमन्त्री आउनेबारे बिहान १० बजेसम्म पनि आयोजकहरूले सामाजिक सञ्जाल र केही अनलाइन सञ्चार माध्यम मार्फत प्रचार गरिरहेका थिए । त्यस्तै उनीहरूले राजदूतको सहभागिताको विषय पनि मौखिक रूपमा सहभागीका बीचमा चर्चा गराएका थिए । तर, प्रधानमन्त्री र राजदूत दुबैले उक्त कार्यक्रममा सहभागिता जनाएनन् ।

गैर नाफामुलक संस्थाले गर्दै आएको अवार्ड यस पटक व्यापारिक कम्पनीलाई बिक्री गरिएको संघका अध्यक्ष पुस्कर लामाले बताएका थिए । उनले बिक्रीको मूल्य नखुलाए पनि अवार्ड अमेरिकाका केही कम्पनीलाई बेचेको स्वीकार गरेका थिए । संस्थाका अन्य सदस्यहरुले नाफाका लागि हुने साझेदारी संस्थाको नीति, विधान र नेपालको कानुनविपरीत भएको भन्दै विरोध जनाएका छन् ।

अवार्डमा प्रधानमन्त्री र अमेरिकी राजदूतको उपस्थिति देखाएर बढीभन्दा बढी मानिस अमेरिका पुर्याउने संघ र उसँग जोडिएका अन्य कम्पनीको प्रयास असफल भयो । किनकी अवार्ड विवादित भैसकेको जानकारी पाएको प्रधानमन्त्रीको सचिवालयले बैठकको बहाना देखाएर प्रधानमन्त्रीलाई कार्यक्रममा जान रोकेको थियो ।

यसअघि मिडिया अवार्डका नाममा नेपाल पत्रकार महासंघको लोगो र त्यस संस्थाको महासचिव रोशन पुरीको कीर्ते हस्ताक्षर बेचेर गरिएको गतिबिधिको पूर्व जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले सोल्टी होटलमै भएको कार्यक्रममा अनुपस्थिति जनाएका थिए । र अहिले पनि नेफ्टाको बेचिएको अवार्डको ओपनिङ भनेर उद्घाटनका लागि बोलाइए पनि कार्यक्रममा प्रचण्डले सहभागिता जनाएनन् । योसँगै प्रधानमन्त्रीको उपस्थिति देखाएर धेरै जनाको भिसा लगाएर अमेरिका पुर्याउने नेफ्टाको ११ औँ संस्करणका प्रमुख पात्रहरूको प्रयास असफलप्रायः भएको छ ।

के भयो सोल्टीमा ?
अवार्डको ओपनिङ भनेर रेड कार्पेट बिछ्याएर गरिएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड नपुगेपछि हलमा प्रधानमन्त्री नआउनेबारे चर्चा भयो । त्यसपछि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि बनाइयो । मदनकृष्ण श्रेष्ठले पनि प्रधानमन्त्री बस्ने तय भएको कुर्सीमा आफू बस्न पाएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको छ ।’

करिब १ सय पचास जना मानिसहरूको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएका प्रधानमन्त्री नै अनुपस्थित भएपछि पुरै कार्यक्रम उत्साहप्रद देखिएन । आयोजकले नेपालको पछिल्लो पटक कायम भएको नक्साको साटो पुरानो नक्सा नै राखेपछि किन यस्तो गरेको होला भन्दै अतिथिहरूको बीचमै कानेखुसी समेत चलेको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठले ११ औँ संस्करणको ट्रफी आयोजकमध्येका एक नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामालाई हस्तान्तरण गरेका थिए । अध्यक्ष लामाले फेम नेपालका विमल पछाई र यूएस खबरका ओम आचार्यलाई हस्तान्तरण गरे । कार्यक्रममा उपस्थितमध्ये एक सहभागीले दैनिकीसँग भने, ‘यहाँ उपस्थितमध्ये एक चौथाई मानिसहरू इबी वान (अमेरिका ग्रीनकार्ड भिसा) भएर अमेरिका बसोवास गरेका मानिसहरू छन् भने आधाजसो यही प्रक्रियामा जान चाहनेहरू छन्,’ उनले भने, ‘यसमा पनि आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)का पदाधिकारी र कार्यकारी सदस्यहरू उतै (अमेरिका)तिर जान मरिहत्ते गरेका र त्यस प्रक्रियाका लागि पेपर (कागजात) तयार पारेर बसेकाहरू छन् ।’

नेपाली चलचित्रमा क्रियाशिल प्राविधिकहरूको हकहित संरक्षणमा काम गर्नुपर्ने संस्थाको क्रियाकलापमाथि यसअघि पनि पटकपटक प्रश्न उठ्ने गरेको थियो । उसले नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने भन्दै विदेशीभूमिमा नेफ्टा अवार्ड आयोजना गर्दै आएको छ । यसअघि मलेसिया, हङकङ, कतार र संयुक्त अरब इमिरेट्स (दुबइ) मा अवार्ड आयोजना गरेको थियो । विदेशमा अवार्ड कार्यक्रम गर्ने उद्देश्य कहिल्यै पुरा नभएको बारे संघका एक सदस्यले भने, ‘संस्थाले आजसम्म नेपाली कला संस्कृतिको उत्थान र प्रचार गर्ने भन्दै विदेशमा कार्यक्रम त गर्दै आयो तर उद्देश्य प्राप्त भयो वा भएन त्यो एकिन छैन, केही व्यक्तिको उत्थान र समृद्धि भने भएको छ ।’

सोल्टी होटलमा भेटिएका ती सदस्यले भने, ‘चर्चित मानिएका कलाकारहरूले नेपाली झण्डा, नक्सा, नेपालको प्रधानमन्त्री र राष्ट्रपति त चिन्दैनन् भने यिनले विदेशमा के को कला र सँकृतिको प्रवर्धन गर्लान् ? के कुरा उजागर गर्लान् ? उनको सुवाझ थियो, बरू यिनले पहिले नेपाल चिनुन् ।’

११ औं नेफ्टा अवार्डको प्रमुख आयोजकहरू अमेरिकामा बसोबासरत नेपाली भाषीहरू हुन् । नेफ्टासहित यस अवार्डलाई आर्यन फिल्म्स, फेम नेपाल र युएस खबरले आयोजना गर्दैछ । जसमा नेफ्टा अध्यक्ष पुष्कर लामा, रमेश एमके पौडेल, विमल पछाई र ओम आचार्य संलग्न छन् ।

यसअघि अमेरिकामै रहेको एक ओएस नेपाल नामक कम्पनीले अमेरिकामा महिला सम्बन्धी अन्तरक्रिया गर्ने भनेर मानवतस्करी गर्न लागेको सूचना पाएपछि अमेरिकी दूतावासले तत्कालीन नेकपाका दुई सांसदसहित कार्यक्रममा जान खोजेका १५ जनालाई नै भिसा दिन अस्वीकार गरेको थियो ।

उक्त कार्यक्रमा सांसद पनि जानेभन्दै अन्य मानिसहरूलाई पनि अमेरिका पुर्याइदिन्छु भन्दै ८ देखि १५ लाख रूपैयाँसम्म ठगी गरिएको थियो । पछि ती भिसाका नाममा ठगिएकाहरू प्रहरीकोमा समेत पुगेका थिए । नेपाल प्रहरीको अपराध अनुसन्धान माहाशाखाले ठगीमा संलग्न खोजे पनि एकजना अमेरिका र एकजना भारत भागेपछि उनीहरूलाई फारर सूचीमा रोखर कारबाही अघि बढाएको थियो । हालका प्रहरी प्रमुख धिरजप्रताप सिंह त्यतिखेर सोही महाशाखाको प्रमुख रहेका थिए ।

यस अवार्डमा निर्देशक नारायण पुरीको पनि सहभागिता रहेको हल्ला चलेको थियो तर नेफ्टा अध्यक्ष लामाविरुद्ध विपक्षी व्यक्तिलाई अध्यक्षको उम्मेदवार बन्न उक्साएको भन्दै पुरीलाई निकालिएको थियो । नेफ्टाले आगामी फागुन ११ गते महाधिवेशनको मिति तोकेको छ ।

११ औं संस्करणको आधिकारिक वेवसाइट नेफ्टाअवार्डयुएसए डकटकममा अवार्ड बारे पुरै प्रोपोजल प्रस्तुत गरिएको छ । जसमा संस्थाको उद्देश्य बमजिमको भन्दा फरक पाइन्छ । आजकल नेफ्टा भित्र दिनानुदिन विवाद र समस्या देखिने गरेको छ । यसको मुख्य कारण यही अवार्ड हो । संघका अध्यक्षले यो अवार्ड नेफ्टाको रहेको बताए पनि वेबसाइटका अनुसार यो अवार्ड वास्तवमा कस्को हो भन्नेमा शंकास्पद छ । एक सदस्यका अनुसार यहाँ नेफ्टाको ब्राण्डको दुरुपयोग भएको छ । किनभने वेबसाइटले प्राविधिक संघको स्पष्ट सम्बन्ध कतै पनि उल्लेख गर्दैन ।

नेफ्टाको वैधतामा प्रश्न
नेफ्टाको बैधतामा प्रश्न उब्जिएको छ । संघकै पदाधिकारीहरूले हरेक वर्ष हुनुपर्ने साधारणसभा र तीन वर्षमा हुनुपर्ने अधिवेशन दुबै नभएको बताएका छन । संघका पदाधिकारीका अनुसार वि. सं. २०७५ मा भएको अधिवेशनको माइन्यूट समेत जिल्ला प्रशासन कार्यालयको रेकर्डमा रहेको छैन ।

कार्यसमितिका पूर्व पदाधिकारी तथा अहिले अध्यक्षमा उम्मेदवार रहेका अनन्त तिमिल्सिनाले आफ्नो फेसबुक पेजमा लेख्दै संस्थामा गैरकानुनी धन्दा बढ्दै गएको र यसमा कार्यसमितिका पदाधिकारी संलग्न रहेको संकेत गरेका छन् । उनले मनपरि ढंगले संस्थालाई नाफामुखी बनाएको, विधिपूर्वक सञ्चालन नभएको, बार्षिक साधारणसभा र वार्षिक आयब्ययको विवरण नदेखाएको, कोठे राजनितिक दलदलमा फसेकोलगायत २३ बुँदे विषयहरू उठाएका छन् ।

यस्तै अर्का प्राविधिक विनोद लामा पाख्रीनले नेफ्टा अवार्डले मात्र हामी चलचित्र प्राविधिकको रोजीरोटी चल्दैन भन्दै यसले संस्थालाई भलो नहुने कुरा फेसबुक पेजमा लेखेका छन् । उनले चलचित्र प्राविधिकहरु एकजुट हुने बेला आएको भनेर पनि प्रष्ट्याएका छन् । संघ गैरजिम्मेवार र गैरकानूनी धन्दामा संलग्न हुनु प्राविधिकहरूका लागि दुर्भाग्यपूर्ण कुरा त हुँदै हो, यो उस्कै विधानविपरीत पनि हो । यसैका कारण पनि प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा नआएको चलचित्र फिल्म जानकारहरू बताउँछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी