काठमाडौँ । काठमाडौँ सहित देशभर यतिबेला व्यवसायीहरु आन्दोलित छन् । बैंकले बढी ब्याज लिए, किस्ता तिर्न नै नसकिने भयो भनेर एकातर्फ बैंकका ऋणीहरु आन्दोलित छन् भने अर्कोतर्फ लघुवित्तले आफुलाई उठिबास लगाएको भन्दै साना ऋणीहरु पनि सडकमा छन् । दुई भिन्न किसिम र वर्गका ऋणी भए पनि दुबैको माग उहि छ, अहिले ऋण तिर्न सकिने अवस्था छैन । फरक यति हो, बैंकका ऋणीहरु ब्याज कम गर, ऋण तिर्छौँ भनिरहेका छन् भने साना ऋणीहरु पैसा नै छैन, अव ऋण तिर्न सक्दैनौं, सो ऋण मिनाहा गरिदेउ भनिरहेका छन् ।
बैंक र लघुवित्तविरुद्धको आन्दोलन फगत माग, र धर्नामा मात्र सिमित छैन, बरु खुलेआम माइतीघरबाट, नयाँ बानेश्वरबाट ठुला व्यापारीहरुले नै बैंकहरुलाई कसैको सम्पत्ति पनि लिलाम नगर्न चेतावनी दिईरहेका छन् । कसैको सम्पत्ति लिलाम गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र होइन, सो सम्पति लिलाम सकार्नेहरुको पनि घर घेरिन्छ भनेर उद्घोष गरिरहेका छन् व्यवसायीहरु । यहि यसको परिणाम, अहिले बैंकहरुमा किस्ता उठाउन सकिने अवस्था छैन । सर किस्ता तिर्नुपर्यो भनेर कोहि बैंकरले फोन गर्नु भनेको सानोतिनो अपराध नै हो जसरी व्यवहार गरिरहेका छन् ऋणीहरु । अझ धेरै बैंकरहरुको गुनासो त यस्तोसम्म छ कि, ‘सर कता हुनुहुन्छ ? भनेर सोध्यो भने पनि ‘दुर्गा प्रसाईंको आन्दोलनमा छु, भाई पछि कुरा गर्छु ल’ भनेर फोन काटिदिन्छन् ऋणीहरु । आफुले दिएको ऋणको किस्ता माग्नु भनेको किड्नी माग्नुजस्तो भएको छ बैंकरहरुलाई ।
व्यवसायीहरुको पनि पीडा कम छैन । दिनभर काम गर्यो बोहोनीसमेत हुँदैन । यसै तनाव उसै तनाव, बरु आन्दोलनमा गए आफुजस्तै अरु पीडीतहरु त भेटिन्छ, मन त बुझाउने मेलो हुन्छ । नहुने व्यापारको तनाव भन्दा आन्दोलनको गीत र डान्स नै मज्जा । बैंकको किचकिच भन्दा आफ्ना नेताको भाषण नै प्यारो छ व्यवसायीहरुलाई । पसलमा सामानको दाम सोध्न कोहि नआएको हेर्नुभन्दा, तपाईंको स्थिति के छ भनेर सोध्ने पत्रकार नै प्यारो भएको छ व्यवसायीहरुलाई । र त व्यवसायीहरुसँग बिजनेश छैन, बैंकहरुमा रिकभरी सून्य प्राय छ । बैंकरको तनाव फेरी छुट्टै छ । एनपीएलको ग्राफले सगरमाथा छुने हो कि भन्ने पीर छ। भएको एउटा जागिर पनि कुनदिन खुस्केला भन्ने तनाव छ । उही त हो, व्यवसायीलाई बोहोनीसमेत भएन, भएको एउटा पसल जोगाउन पाए हुन्थ्यो भन्ने पीर, जागिरेलाई भएको एउटा जागिर जोगाउन पाए हुन्थ्यो भन्ने पीर ।
दुर्गा प्रसाईंको आन्दोलनले बैंकरलाई तनाब !
यतिसम्म त अवस्था नै यस्तै छ भन्ने ठाउँसम्म थियो, तर अव त बैंक तथा वित्तीय संस्थामा काम गर्छु भन्न पनि डरमर्दो हुन थालेको छ धेरै ठाउँमा । गाउँघरमा लघुवित्तमा काम गरेको भन्नै नहुने, ऋणी र लघुवित्तविरुद्धको आन्दोलनमा रहेकाहरुले भकुरीहाल्ने, शहरमा फलानो बैंकमा काम गर्छु भन्दा पनि कालोमोसो दल्ने हुन् कि भन्ने पीर छ धेरैलाई । अनि यस्तो भयावह स्थितिका बीच बैंकरहरुका लागि यो देशमा सरकार छ कि छैन भनेजस्तै भएको छ यति बेला ।
हुन त गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षा दिनु भनेर ७७ वटै जिल्लामा परिपत्र गरिसकेको छ । तर परिपत्र गरेर मात्र नहुने रहेछ, परिपत्र गरेकै भोलिपल्ट जीवन बिकास लघुवित्तका कर्मचारीहरुले कुटाई खाए । लघुवित्तको किस्ता नतिरेको भन्ने विषयमा भएको सामान्य भनाभन, अव जसले जहाँ जसलाई भेट्यो, त्यहीं गोदीहाल्नेसम्मको स्थिति पैदा भयो । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा ‘अलर्ट’ रहन मातहतका निकायलाई परिपत्र गरेर के गर्नु, यहाँ पाइला पाइलामा आफैं अलर्ट नभए जुनसुकै बेला कुटाई खाने डर छ बैंकरहरुलाई ।
बैंकरहरु यतिबेला यो हदसम्मको त्रासमा छन् कि उनीहरुले आफ्नो गाडीमा रहेको बैंकको स्टिकर निकाल्न थालेका छन् । बाहिर कतै हिड्दा बैंकको आइडी कार्ड खल्तीमा हाल्नु भनेको कोरोना कालमा मास्क लगाएजस्तै अघोसित अनिवार्यजस्तै भएको छ । रिकभरीका कर्मचारीहरुको दैनिकी, दिनभर अरु बैंकको रिकभरीका साथीलाई फोन गरेर, मेरो त बिजोग छ, तिम्रो कस्तो छ भनेर सोध्ने र उताको, तिम्रो जस्तो छ हाम्रो पनि त्यस्तै छ भनेको सुन्नेमात्र हुने गरेको छ । न ज्यानको सुरक्षाको प्रत्याभूति छ बैंकरलाई न बैंकको ऋण उठ्ने विश्वास नै । र पनि यस्तो जटिल अवस्थाका बीच उनीहरुका पीडा सुनिदिने कोहि छैनन् अहिले यो देशमा ।
दिनप्रतिदिन बैंकरमाथिको दुर्व्यवहार बढ्दै !
देशभर भुसको आगो जसरी सल्किएको बैंक तथा लघुवित्तविरुद्धको आन्दोलन अहिले उत्कर्षमा झैं छ । केहि समयअगाडीमात्र जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएपछि त झन् लघुवित्तमा काम गर्ने कर्मचारीहरुको मनोबल सार्है खस्केको छ । जाजरकोट घटनापछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले गृह सचिव विनोद सिंहलाई भेटेर सुरक्षा दिन माग गरेका त थिए, गृहले पनि आवश्यक निर्देशन दिएको पनि हो । तर के गर्नु, फेरी जीवन बिकास लघुवित्तका कर्मचारी फेरी कुटिएका छन् । गर्भवती महिलामाथि हातपात गरेको आरोप लगाएर किस्ताको निहुँमा कर्मचारी कुटिदा पनि संस्थासँग पत्रकार सम्मेलन गरेर दुखेसो पोख्नुबाहेक कुनै विकल्प छैन ।
लघुवित्त वित्तीय संस्थाका गौरीगञ्ज शाखामा कार्यरत कर्मचारी त्रिदेव मण्डलमाथि मोरङको धनपालथान गाउँपालिकामा कुटपिट भएको घटनाले झन् अहिले लघुवित्त क्षेत्र स्तब्ध बनेको छ । संस्थाका सीइओ मण्डलका अनुसार जीवन बिकास लघुवित्तका कर्मचारी त्रिदेव मण्डल हाट बजारमा किनमेल गर्दै थिए । यहि क्रममा लघुवित्त संघर्ष समितिमा संलग्नहरुले उनीमाथि हातपात गरे । उनको दाबी अनुसार कुटपिट गर्नेहरुले मादक पद्धार्थसमेत सेवन गरेका थिए । कुटपिटपछि गाउँलेहरु जम्मा हुन थालेपछि कुटपिट गर्नेहरुले लघुवित्तका कर्मचारीहरुले गर्भवती महिलामाथि हातपात गरेको झुटो दाबी गरेको मण्डलको भनाई छ । घटनास्थलबाट प्रहरीलाई झैँझगडा भईरहेको जानकारी गएपछि प्रहरी आएर ती कर्मचारीलाई पक्राउ गरी लगेको थियो । जीवन बिकास लघुवित्तका अनुसार उदयपुरकी शशिला थापाको समूहले संस्थाका कर्मचारीमाथि आक्रमण गरेका थिए ।
यता स्थानीयको तर्क भने बेग्लै छ । स्थानीयका अनुसार लघुवित्तका कर्मचारीले त्यसअघि पनि थुप्रै पटक गर्भवती महिलामाथि किस्ता नतिरेको भन्दै अभद्र व्यवहार गर्दै आएका थिए । यहि विषयमा शनिबार लघुवित्तका कर्मचारी र संघर्ष समितिका सदस्यहरुबीच उग्र भनाभनसमेत भएको थियो । भनाभनका क्रममा लघुवित्तका कर्मचारीहरुले अपशब्दसमेत बोलेको र त्यहि रिसमा उनीहरुमाथि स्थानीय जाई लागेको स्थानीयको भनाई छ । घटनास्थलबाट प्रहरीलाई पनि स्थानीयले नै बोलाएका थिए ।
मान्छे कुट्नु परे पनि लघुवित्तका कर्मचारी बाहाना !
हुन पनि अहिले क्या सजिलो छ गाउँमा, फलानोले मलाई हातपात गर्न खोज्यो, फलानोले मलाई थुकिदियो, हिर्काईदियो, झाप्पु हान्यो, घुरेर हेर्यो, जे भन्दा पनि भयोजस्तै भएको छ । माओवादीले गरेको युद्ध ताका आफ्ना दुश्मनलाई ठेगान लगाउनुपर्यो, पिटाउनुपर्यो, दुख दिनुपर्यो भने फलानो त माओवादी हो नि भनिदिए मात्र हुन्थ्यो भनेजस्तै अहिले अनेक बहानामा लघुवित्तका कर्मचारीहरु कुटिन थालेका छन् । अवस्था यस्तो सम्म नआउला भन्न सकिन्न, कि कसैले व्यक्तिगत रिसमा गुण्डा लगाएर मान्छे कुट्यो भने पनि, लघुवित्तका कर्मचारी रहेछन् भने, यसले ज्यादती गर्यो त्यहि भएर जनताले कुटे भन्न मिल्ने जस्तो व्यवहार देखिएको छ बजारमा ।
जीवन बिकास लघुवित्तका कर्मचारीहरु पनि कुटिएपछि अहिले संस्थामा सन्नाटा छाएको छ । गर्न पनि के गर्नु ? भन्नु, कसलाई भन्नु ? जागिर गरौँ, आफ्नो ज्यानको पीर भो, जागिर छोडौं, घरमा बच्चाबच्ची केटाकेटीको भविष्यको पीर भो । किस्ता माग्नु त जागिर नै हो, त्यहि जागिर खाँदा पनि हातमा हतकडी लाग्यो, छुटाउन आउने कोहि छैन । मान्छे मारेर कैदी बनेकोझैं व्यवहार भयो । र पनि जागिर खानु नै छ लघुवित्तका कर्मचारीहरुलाई ।
होइन, अव त अत्ति भयो, सार्है भयो, अत्याचार नै भयो भनेर लघुवित्तले पत्रकार सम्मेलन गरेर दुखेसो पोख्यो, विज्ञप्ति जारी गर्यो । तर विज्ञप्ति जारी गरेर के गर्नु, अझै प्रहरी कसैलाई पक्राउ नै गरिएको छैन भन्छ, हातमा हतकडी लगाएर कर्मचारी लगिएको भिडियो सामाजिक संजालमा छरपष्ट हुँदा पनि प्रहरी झुट बोलिरहन्छ, किस्ता उठाउँदा हातपातको बात लाग्छ, अनि यो विज्ञप्ति मात्रै हेरेर कसरी चित्त बुझाउन् लघुवित्तका कर्मचारीले । र पनि, संस्था बोल्न त बोल्यो नि भनेर यहि विज्ञप्ति नै पढेर पनि मन बुझाईरहेका छन् लघुवित्तका कर्मचारीहरुले ।
जे भयो, गलत भयो । अव जे नहोस भनिएको छ, त्यो नहोस् नै भनेर कामना गर्नुबाहेक तपाईंहामीसँग कुनै विकल्प छैन । ऋण लिएपछि तिर्नुपर्छ भन्ने जान्दाजान्दै ऋण तिर्दिन भन्नु गलत छ, कानुन विपरित छ । कि यो देशमा कानुन नमाने पनि हुन्छ भनिदिनु पर्यो, होइन भने सरकारले मान्छे कुट्ने अराजकहरुलाई समातेर खोरभित्र कोच्नुपर्यो । होइन भने, भोलिको दिन अझै अत्यासलाग्दो हुने कुरामा कुनै दुईमत छैन । (भिडियो)