काठमाडौं । कुमारी बैंकले ग्लोबल मनी वीक २०२३ को आवसरमा लोपोन्मुख जातीय समुदाय, महिला समूह, खेलकुद टोली समेत गरी ५० विविध स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमीक समुह, खेलाडीहरु, सुगम तथा दुर्गम क्षेत्रमा अवस्थित समुदायहरुलाई लक्षित गरी सम्पन्न गरिएको थियो । बैंकको कार्यक्रममा तीन हजार भन्दा बढीको सहभागिता रहेको थियो ।
बैंकले कर्णाली, सुदूरपश्चिम, मधेसका दुर्गम क्षेत्र लगायत देशका सबै भागमा समान रूपमा कार्यक्रम सञ्चालन गरेको थियो । बैंकले रुकुम, दैलेख र कर्णाली प्रदेश साथै अन्य क्षेत्रहरुमा वित्तिय सचेतना कार्यक्रम सञ्चालन गरेको छ । छनोट गरिएका क्षेत्रहरूमा युवा, महिला, वृद्ध लगायतका समुहका सहभागीहरु समावेश भएका थिए ।
त्यस्तै, बैंकले वित्तीय साक्षरताको महत्व युवा विद्यार्थीहरुका साथै अन्य वर्ग, समुदायमा पनि समान रहेको आवश्यकतालाई आत्मसात गर्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी कार्यक्रमहरु सञ्चालनमा ल्याएको थियो । श्रमिक समूह, पेशाकर्मी, खेलाडी, सामुदायिक सदस्य, कृषक र अवकाश प्राप्त व्यक्तिहरु सम्म पुगेर बैंकले आर्थिक रुपमा सचेत समाज निर्माण गर्ने दिशामा पाइला चाल्दै आएको छ ।
बैंकले महिला समूहको महत्वलाई परिवारको आर्थिक व्यवस्थापन र तिनीहरू संलग्न संस्थाहरूको अभिन्न अंगको रूपमा महसुस गरेको छ, त्यसैले कुमारी बैंकका कार्यक्रमहरू पनि सबै क्षेत्रहरूमा महिला समूहहरूलाई लक्षित गरि संचालन गरेको थियो ।
कुमारी बैंकको यस प्रयासले आर्थिक रूपमा सचेत समाज निर्माण गर्नेमा बैंक विश्वस्त छ । बैंकले आफ्नो अभियानलाई निरन्तरता दिँदै थप अभियानहरू सञ्चालन गर्दै लैजाने प्रतिबद्धता रहेको जनाएको छ ।