×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आमाको अर्थशास्त्र, आमाको महाशास्त्र…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार

PRIME CA
laxmi sunrise bank

आमाको अर्थशास्त्र, आमाको महाशास्त्र…

 मेरा आँखाले पहिलोपटक देखेको प्रेमको रुप हौ तिमी,
मेरो मुटुले पहिलो पटक स्पर्श गरेको ममताको स्वरुप हौ तिमी,
मैले  पहिलोपटक जानेको बासनाको सुगन्ध हौ तिमी,
मैले पहिलोपटक सुनेको साहित्यको मधुर छन्द हौ तिमी ।
मैले हिंडेको पहिलो पाइलाको सारथी हौ तिमी,
मैले उतारेको आस्थाको पहिलो आरती हौ तिमी,
मभित्रको म, म बाहिरको संसार, म भित्रको यर्थात फगत एउटा हौ,
देउताका देउता, तिनका पनि देउता, ती देउताका पनि देउता हौ,
आमा, तिमी देउताका पनि महादेउता हौ ।
मातातिर्थ औंशीको असीम शुभकामना ।
हुन त आमाका लागि कुनै दिन चाहिन्न । किनकि आमा स्वयम् नै हामीलाई दिन देखाउने देउता हुन् । रै पनि तिथि मितिले बर्षमा एक पटक आउँछ मातातिर्थ औंशी ।  आमाका नाममा जोडिएका बगरका ढुंगा त देउता हुन्छन् भने आमालाई जोडेर आएको औंशीको खास महत्व नहुने कुरै भएन । मातातिर्थ औंशीको यो पूर्वार्धमा यो संसारका सबै आमाहरु नमन । सन्तानलाई ९ महिनासम्म कोखमा राखेर, अस्यह्य प्रसवपीडा सही सन्तानलाई संसार देखाउने मात्र होइन, आफ्ना सन्तानका सुखका लागि हरेक सुख तिलान्जली दिन सक्ने महान आमामा समर्पित यो दिनमा आमा शब्द प्रति आभार, आमाको माया प्रति आभार, आमाको स्नेहप्रति आभार, अनि सिंगो आमाको स्वरुपप्रति आभार । आज छोरोलाई अर्थशास्त्र पढाउन शहर पठाएकी मेरी आमाको अर्थतन्त्रशास्त्रका कुरा गर्नेछौं ।
ए साँच्चै आमाको पनि अर्थशास्त्र हुन्छ र ? किन हुँदैन । अर्थभन्दा माथिको शास्त्र, शास्त्र भन्दा माथिको महाशास्त्र भन्दा पनि माथि हुन् आमा । आमाको अर्थशास्त्र मात्र बुझे, जीवनको महाशास्त्र बुझिन्छ । अर्थशास्त्रमा त फगत, माग र आपूर्तिको सिद्धान्त हुन्छ, तर आमाको अर्थशास्त्रमा माग हुन्न, मात्र प्रेमको आपूर्ति हुन्छ, स्नेहको आपूर्ति हुन्छ । माग नै नहुँदा पनि निरन्तर आपूर्ति हुन्छ मायाको, मूल्य नै तय नभई आपूर्ति हुन्छ, बहमूल्य ममताको  । जसले आमाको अर्थासाश्त्र बुज्झ्छ, उ कहिल्यै गरिब हुनै पर्दैन, जसले आमाको अर्थासाश्त्र बुझ्छ, उसले जीवनको सबै शास्त्र बुझ्छ । आमा तिमीले यो जीवनलाई यतिको बनाउन नपढेर पनि भोगेका सबै अर्थशास्त्रका सबै नीतिनियमलाई ढोग सलाम ।
मेरी आमा, जसले कालोपाटीमात्र कतै देख्नुभयो, छुन पाउनु भएन । तर पेटभित्र म आएको थाहा पाएपछि हरदिन अनि मैले संसार देख्न पाउने हर दिनको गन्ती थाहा भयो उहाँलाई । मलाई जन्माउन कति रात पीडाका सुस्केराहरु फेरिए, कति दिन अभावका स्वरुप फेरिए । मलाई खुवाउन कति दिन उहाँ भोकै बस्नुभयो, मलाई पढाउन कति भारी भारी बोक्नुभयो । गणितमा कतै गणना नहुने त्यो गणितको पनि गणित हुन् मेरी आमा । गणित त के गणितशास्त्र हो र ? मेरी आमा त महाशास्त्र हुन् ।
भन्नेले त मेरी आमालाई गणित आउँदैन भन्छन् । भन्नेले त मेरी आमाले हिसाब जान्दिनन् भन्छन् । तर मैले शहर पस्दा पोको पारिएका पोका पन्तराहरु एक एक नछुटाई गन्छिन् मेरी आमा । मैले विदाईका हातहरु हल्लाउँदा, मेरो झोलाभित्रको किताब र किताबभित्रको १९ नम्बर पानामा १९०० रुपैयाँ छ भनेर ठ्याक्कै भन्छिन् मेरि आमा । मैले ५०० अबर पर्यो आमा भन्दा पूरानो सन्नुसमा कतै कुनामा लुकाएर राखेको १००० रुपैयाँ झिक्छिन् मेरी आमा । म भन्छु, हिसाब मिलेन । उनी भन्छिन्, बेहिसाब स्नेहको हिसाब मिल्दैन । गणितमा कतै गणना नहुने त्यो गणितको पनि गणित हुन् मेरी आमा । गणित त के गणितशास्त्र हो र ? मेरी आमा त महाशास्त्र हुन् ।
मैले शहर आएर पढ्दा कति कोठा भाडा तिर्नुपर्छ,
पढ्न कलेज जाँदा कति गाडी भाडा तिर्नुपर्छ,
म त तिर्ने बेलामात्र सम्झन्छु, तर मेरी आमा, तिर्नुपर्ने बेला हुनुअगावै सम्झन्छिन् ।
मेरो कलेजको फी कति छ, म फि तिर्ने बेलामात्र सम्झन्छु, मेरो फी कहिले तिर्नुपर्छ, त्यसअघि नै आमा सम्झन्छिन्  । मैले माग नै नगरी जसले गाउँमा मागेरै भए पनि चामलको बोरामा सय- हजार पठाउँछिन
मेरै मागलाई धान्न उनी मागेरै किनेको बिउले फलाएको काँक्रा फर्सी बजार पठाउँछिन् ।
उनलाई दुखको हिसाब थाहा छैन, तर सन्तानले पाओस भन्ने सुखको एक एक हिसाब थाहा छ,
उनलाई आफ्नो पीडाको हिसाब थाहा छैन, तर सन्तानले पाओस् भन्ने सन्तुष्टीको किताब थाहा छ,
कष्ट खर्चेर भएको डेबिट, र सन्तान सुखको सन्तुष्टीको क्रेडिटको हर हिसाब थाहा छ,
लेखाशास्त्रमा कतै लेखा नराखिने, लेखाको पनि महालेखा हुन् मेरी आमा । लेखाशास्त्र त के शास्त्र हो र ? मेरी आमा त महाशास्त्र हुन् ।
छोरोलाई शहर पठाउन खुत्रुकेमा कति जम्मा छ,
कति जम्मा भएपछि खुत्रुके फुटाउदा, छोरोको बसको टिकट काटिन्छ,
सन्नुसमा राखेका सिक्का, खुत्रुकेमा राखेका खपटा, कति बेच्दा छोरोलाई लुगा आउँछ,
सुकाएर राखिएका कति फर्सीका बियाँ बेच्दा, कति बेरसम्म पुग्ने छोराको आहार आउँछ,
छोरो बिरामी हुँदा कति खर्च भो थाहा छैन, छोरो निको हुँदा खर्च बाँकी छ थाहा छैन,
तर निको भएसी छोरो कति पटक हाँस्यो थाहा छ, कति पटक मुस्कुरायो थाहा छ,
मेरी आमालाई सन्तानको हर सुखको हिसाब थाहा छ, आफ्नो दुखको दुखेको अंक थाहा छैन,
तर सन्तान दुखेको हर दिनको कहानी थाहा छ।
बाणिज्यशास्त्रमा कतै नभेटिने शास्त्रको पनि महाशास्त्र हुन्हु मेरी आमा । बाणिज्यशास्त्र त के शास्त्र हो र ? मेरी आमा त महाशास्त्र हुन्।
हो, मैले कहिल्यै नबुझेको हिसाबको अंक हुन् मेरी आमा ।
मैले कहिल्यै तिर्न नसक्ने ऋण हुन् मेरी आमा ।
म ढलेका बेला आफुलाई उठाउने जाँगर र फुर्ति हुन् मेरी आमा,
मैले माग नै गरेर पाइरहने ममताको आपूर्ति हुन् मेरी आमा,
माया, माया अनि असीम मायाको तलाउभित्रको पनि प्रेम मूर्ति हुन् मेरी आमा
प्रेम मूर्तिले पनि पूजा गर्ने, स्नेहको महामूर्ति हुन् मेरी आमा ।
मैले कहिल्यै चुक्ता गर्न नसक्ने भारको अंकभार हुन् मेरी आमा ।
मैले कहिल्यै नपढेको तर भोगेको सार हुन् मेरी आमा ।
बाणिज्य, अर्थ र समाजमात्र होइन, मैले पढेका हर अंकको आकार हुन् मेरी आमा,
आकारको पनि आकार छ भने, आकारभन्दा माथि निराकार हुन् मेरी आमा ।
मैले पैसा राखेको सहकारी डुब्यो भन्ने खबर,
खबर सुनेर होइन मेरो आँखा पढेर थाहा जसले पाउँछ
मैले पैसा हालेको सेयरको भाउ घट्यो भन्ने खबर,
खबर सुनेर होइन, मेरो मुख हेरेर थाहा जसले पाउँछ,
मेरो जागिरको तलव आयो भन्ने खुसीको मतलव छैन उनलाई,
तर मेरो हिसाब मिलेन भन्ने तथ्य, हिसाब नै नगरी जसले थाहा जसले पाउँछ,
म आफैंले थाहा नपाएको चीज, म भन्दा पहिला जसले थाहा पाउँछ,
मैले कसैलाई थाहा नहोस् भनेको चीज, सबभन्दा पहिला उनैलाई थाहा हुन्छ,
मेरो सब कुरा थाहा छ, उनलाई सब कुरा थाहा छ,
सन्तानको थाहा नहुने केहि रहेनछ, किनकि आमाको ममता अथाहा रहेछ।
आमा ! तिमीलाई मातातिर्थ औंशीको शुभकामना
आमा !! तिम्रो मुख हेर्ने दिनको तिमीलाई असीम शुभकामना
यो जुनीमात्र होइन, हर जुनी तिम्रै सन्तान भएर जन्मन पाउँ
तिमीलाई आजको यो खास दिनको महाखास शुभकामना
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: