काठमाडौं । खोपिएर, पटक पटक चोटले कुँदिएको ढुङ्गाले नै मूर्ति बनेर पुजिने सौभाग्य पाउँछ । जीवन एक त्यस्तै ढुंगा हो । विपतीले चुट्दा पनि, दुः खले खोप्दा पनि, अभावले हिर्काउँदा, तनावले ठटाउंदा पनि जो धैर्यवान बनिरहन्छ, उ नै सफल बन्छ । जति पीडाले चुटिरहन्छ, जति समस्याले कुटीरहन्छ, लेखेटिरहन्छ, कर्मले कुंदीएका तिनै ढुङ्गा मूर्ति बनेझैं मान्छे सहि अर्थमा सफल मान्छे बन्छ । र त बुढापाकाले भन्छन् नि, ढुंगा नखोपी मूर्ति बन्दैन, काम नगरी कोहि मान्छे सफल बन्दैन ।
कर्म, कर्म नै हो । भाग्यमा छैन के गर्नु भनेर कर्म नगर्नेहरु झन् झन् दुखी हुँदै जान्छन, र जीवन सकिन्छ । भाग्य पनि चाहिन्छ, नत्र दिनरात भारी बोक्ने सबै भरिया किन करोडपति बन्दैनन् ।तर भाग्य राम्रो छ भनेर सोचेर, जीवनमा निरन्तर कर्मशील बन्नेहरुले नै आफ्नो जीवनलाई खास बनाउँछन् । अँधेरी रात पछि डाँडाबाट सुरजको मधुर प्रकाश निस्कन्छ र तेज दिने त्यहि शक्ति हो भन्ने थाहा पाएकाहरुले जीवनको दुखलाई सुखअघिको अँधेरी रात सम्झन्छन् र निरन्तर हिंडीरहन्छन् कर्मको बाटोमा । अँधेरोले मार्ने भो, अव उज्यालो हुँदैन भनेर हरेश खानेहरु नै आत्तिएर अँधेरीमा लड्छन् र सिद्धिन्छन् । जीवनसार यति नै हो, र त गीतामा पनि यहि भनिएको छ- ‘कर्म गर, फलको आशा नगर ।’
चन्द्र ढकाल, अर्थात आईएमई ग्रुपका अध्यक्ष । अवको उनको परिचय झन् खास बनेको छ । चन्द्र ढकाल अर्थात नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष । सैद्धान्तिक रुपमा महासंघ फगत एउटा प्रेसर ग्रुप जस्तो देखिन सक्छ, तर शक्तिका हिसावले उद्योग बाणिज्य संघ छायाँ सरकार पनि हो, र तगडा प्रतिपक्षी पनि हो भन्ने कुरामा कुनै दुईमत छैन । यस्तो शक्तिशाली महांसघको शक्तिशाली अध्यक्ष बनेका छन् ढकाल । उनको जीवनका संघर्ष र सफलताका कथा सुनाउनु अघि उनलाई असीम बधाई छ, महासंघको अध्यक्ष बनेकोमा ।
चन्द्र ढकाल कुनै व्यवसायीक घरानामा जन्मिएका मान्छे होइनन्, बरु उनले आफ्नै तागतले आईएमई ग्रुपको विशाल साम्राज्य खडा गरेका हुन् । उनी सम्पन्न परिवारका सन्तान होइनन्, तर सम्पन्नता के हो भन्ने कुरा आफ्नै कर्मले आर्जन गरेका छन् ढकालले । र त कुनै व्यवसायीक घरानामा जन्मिएर महासंघको नेतृत्वमा पुगेकाहरुभन्दा उनको महासंघको जिम्मेवारी बोक्ने काँध धेरै गुणा खास छ ।
कस्तो छ चन्द्र ढकालको पृष्ठभूमी ?
परिवारको जेठो सन्तानका रुपमा चन्द्र ढकाल बाग्लुङको विकट गाउँमा एक सामान्य परिवारमा जन्मेका थिए । अहिले त घरसम्मै मोटरबाटो पुगेको छ, तर जव ढकाल साना थिए उउनले गाडी हेर्नमात्र पनि एक दिन हिड्नुपर्थ्यो। बाल्यकाल सार्है दुखजिलो गरेर बिताए ढकालले । दुखले घेरेको जिन्दगीमा पढाईका लागि खास समय र स्रोत हुने कुरै भएन । त्यसमाथि उनका एक भाई र दुई बहिनी थिए । ४ सन्तानको लवाई खवाई पढाई धान्न घरमा उबेला सहज हुने कुरै भएन । रै पनि जिन्दगी, दुखसुख चलेकै थियो ।
मान्छेको जीवनमा दुख आउँछ नै । कहिलेकाहीं फगत हावा बनेर आउने त्यहि दुख कहिलेकाहीं हुरीबतास बनेर आउँदा हो सम्हालिनुपरने । चन्द्र ढकाललाई पनि कालिको उमेरमै त्यस्तै बज्रपात पर्यो । एसएलसी दिन सदरमुकाम बसेर पढिरहेका बेला, चन्द्र ढकाललाई गाउँबाट दुखको खबर आयो । बाबु, राम्रोसँग जाँच दिनु है भनेर हौसलाका शब्दहरु खर्चेर छोरालाई सदरमुकामसम्म पढ्न पठाउने घरका खम्बा बा नै रहनुभएन भन्ने खबर आएपछि उनले आँखा अगाडी अँधेरो सिवाय केहि देखेनन् । भाई भर्खर १० बर्षको छ, दुई बहिनीहरु छन्, बुबा रहनुभएन, आफु भर्खर १६ बर्षको हुँदा परेको यो बज्रपातले उनलाई नमिठोसँग नमज्जाको पीडा दियो ।
आफ्ना बा बितेको खबर सुनेपछि कुन छोराको ध्यान पढाईमा जान सक्छ र ! चन्द्र ढकालको परिक्षा पनि सोचेजस्तो भएन । एसएलसीमा उनी फेल भए । १६ बर्षको कलिलो उमेर, नतिजा बिग्रिएको तनाव, बा बित्नुभएको पीडा, भाई, आमा र बहिनीहरुको जिम्मेवारी एकैपटक काँधमा आएपछि कतिपटक त आत्तिए उनी । र पनि जीवन न हो, अघि बढ्नुको विकल्प थिएन । बा बितेपछि घरमा सबैको जिम्मेवारी चन्द्र ढकालकै काँधमा आईपुग्यो । सबैजना घरमा कसरी पालिने भन्ने ठुलो तनाव थियो । गाउँघरमा डोको, नाम्लो, भकारी, थुन्से जस्ता सामान किन्नसमेत पैसाको अभाव हुन्थ्यो ढकाललाई । परेपछि मान्छेले सबै सिक्छ, सबै गर्छ भनेजस्तै चन्द्र ढकाल सबै सामान आफैं बनाउँथे, पैसा एक त छँदै थिएन, भएका सुकामोहोरका खपटाहरुको मूल्य खास थियो जिन्दगीमा ।
दुख गर्नेहरुको दुख भगवानले पनि हेर्छन् भनेजस्तै उनी अर्कोपटक एसएलसी पास भए । केहि गर्ने दृढ इक्षाशक्ति भएका चन्द्र ढकाल अव काठमाडौँ आउने भए । तर काठमाडौँको बसाइ सजिलो थिएन । घरको भाडा तिर्नु परिहाल्यो, पढाई खर्च, खाने खर्च पनि चाहियो । घरबाट पैसा ल्याउने स्थिति थिएन । जसैगरी पनि सानोतिनो जागिर त खानु नै पर्ने थियो । त्यसैले, उनले ठमेलमा एक कोल्डस्टोर सुरु गरे । आकारमा कोल्ड स्टोर सानै भए पनि लुक्लासम्म व्यापार हुन्थ्यो त्यहाँ । त्यहाँ काम गर्दा गर्दै राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो । ओहो एउटा सरकारी जागिर भए त कति आड हुन्थ्यो जीवनमा, कति सहज हुन्थ्यो बाँच्न यो शहरमा । यहि सोचेर उनले बैंकको सहायक पदमा आवेदन दिए, लिखित परीक्षामा नाम पनि निकाले, अन्तर्वार्ताका लागि थप मेहनत गरे र त्यहाँ पनि नाम निकाले र जागिर सुरु गरे । त्यसबेला सो बैंकको सीइओमा पृथ्वीबहादुर पाँडे थिए । पाँडे हाल नेपाल इन्भेष्टमेन्ट मेगाका अध्यक्ष छन् भने सहायक पदमा जागिर खाने उनै ढकाल अहिले ग्लोबल आईएमई बैंकका अध्यक्ष मात्र छैनन्, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत छन् । २०४५ साल जेठ २ गतेको कुरा हो, चन्द्र ढकाल अझै सम्झन्छन्– उनलाई न्युरोडको विशालबजार शाखामा पठाइदा उनको तलव महिनाको ५४५ रुपैयाँ थियो ।
५ सय ४५ रुैपैयाँको जागिरदेखि अर्बपतिसम्मको यात्रा
आजकल मान्छेहरु फगत जागिरका जागिर खान्छन्, सिक्न खोज्दैनन् । तर चन्द्र ढकालको स्वभाव केहि फरक थियो । कार्यालय समय १० देखि ५ भएपनि उनी बढी नै काम गर्थे । कार्यालय समयबाकेहको अवधिमा उनले राष्ट्र बैंकमा रिपोर्टिङ गर्न आवश्यक डक्कुमेन्ट तयार गर्थे । साथीहरुले ओभरटाइम काम गर्दा पनि पाउने भनेको ५४५ रुपैयाँ मात्र त हो भनेर खिसी गर्थे । खिसी गर्नेहरु अहिले पनि बैंकर छन्, कोहि रिटायर भएर केहि हजार जमाएर बसेका होलान् । तर निरन्तर काम गर्ने बानी भयो भने आफैंलाई लाभ हुन्छ भन्ने सोचेका उनी निरन्तर मेहेनतमार्गमा खटिईरहे ।
राष्ट्रिय बाणिज्य बैंकको विशालबजार शाखामा गार्मेन्ट र कार्पेट निर्यातको काम गर्ने व्यक्तिहरु आउने गरेका थिए । हरेक नयाँ दिनमा केहि न केहि नयाँ सोच्ने उनलाई पनि सो व्यवसाय गर्ने सोच आयो । काम गर्नेको पारा नै बेग्लै हुन्छ, उनले निर्यातसम्बन्धी काम गर्न संस्था दर्ता गरे र काम सुरु गरे । सुरुका दिन सहज हुने कुरै भएन । व्यवसाय आफैंमा जटिल विषय हो । त्यसमाथि पनि सुरुवाती दिनमा खासै सहयोग कसैको मिल्दैन । पहिलोपटक नेपालबाट उनले ५ सय किलो कार्पेट पठाउँदा नेपाल वायु सेवा निगमले उनको कम्पनीको सामान नै लैजान मानेन । किनकि उनको कम्पनीले पठाउन लागेको सामान नलैजानू भनेर निगमका हाकिमलाई अन्य पुराना व्यवसायीले खबर गरिसकेका थिए । भर्खर काम सुरु गर्दैछु, मलाई सहयोग गरिदिनुस न, यो समान लैजान दिनुहोस् न भन्दा त्यतिबेला हाकिमले गलहत्याएर निकाल्न नपरोस्, बाहिर जाउ भनेर थर्काए । त्यो दिन उनले यति अपमानित भएको महसुस गरे कि के भन्ने । र पनि त्यो ठिटोले हरेश खाएन, निराश भएन ।
अनेक दुख र हण्डर खाएर काम गरेपछि उनको कम्पनीले गति लियो । विस्तारै उनको व्यवसाय फष्टायो । राम्रो हुँदै गयो । त्यतिबेला नेपालबाट विदेश जानेहरु बढ्दै थिए, तर विदेशबाट नेपाल पैसा पठाउन सजिलो थिएन । नेपाल पैसा पठाउने नाममा कति ठगीमा परे, कतिको पैसा चोरी भयो, कति लुटिए । यस्तै खबर सुनेका चन्द्र ढकालले सोचे– वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएको पैसा उहाँहरुको घरसम्म पुग्ने प्रणाली बनाउन सक्यो भने देशलाई पनि फाइदा, व्यवसायलाई पनि फाइदा ।
उनले सोचेनन् मात्र, काम सुरु गरे । त्यसपछि उनले २००१ मा मलेसियाबाट औपचारिक प्रणालीबाट पैसा ल्याउन आईएमई सुरु गरे । हुण्डी कारोबारीको चंगुलमा परेको रेमिट्यान्स व्यवसायका सुरुवाती दिनहरु सहज थिएनन् । अनेक मान्छेले अनेक टिप्पणी गरे । नेपाल राष्ट्र बैंकका एक डेपुटी गभर्नरले त गार्मेन्ट र कार्पेटमा कमाएको पैसा ढकालले डुबाउने भयोसमेत भने । राष्ट्र बैंकमा मान्छेहरुले नै औपचारिक माध्यमबाट पैसा ल्याउन सम्भव छैन भनेर उनलाई निरुत्साहित गर्न खोजे । तर सपना त देख्नेहरुले पूरा गर्ने हुन्, र ढकाल त्यहि मार्गमा थिए । सार्है दुखले सुरु गरेको आईएमई पछिल्लो समय ब्राण्ड बन्यो । अहिले त रेमिट्यान्स गर्नुपर्छ भन्दा पनि आइएमई गर्नुपर्छ भन्छन् सेवाग्राहीहरु । राष्ट्र बैंकमा समेत रेमिट्यान्सको लाइसेन्स लिनुपर्यो भन्दा पनि आईएमईको लाइन्सेन्स लिनुप¥यो भनेर व्यवसायी पुगेको समेत देखियो ।
चन्द्र ढकाल जहाँ जहाँ जान्थे, त्यहींबाट सपनाको आकार बुन्थे । सधैं नयाँ–नयाँ काम गर्नुपर्छ भन्ने सोच्ने ढकाल मलेसियाको गेन्टिङ हाइल्यान्डस् पुगेपछि नेपालमा पनि सहर नजिकै ठूलो पर्यटकीय पूर्वाधार बन्न सक्छ भन्ने सोच्न थाले । त्यसपछि उनी पर्यटन क्षेत्रमा लागे र उनको सपना हाल चन्द्रागिरि हिल्स लिमिटेडको रुपमा खडा छ ।
यो बीचमा उनले अनेकौं सफलताहरु चुम्न पाए । दुख दुख अनि दुख गरेर उनी सुखमहलमा पुगेका छन् । र पनि काम गर्ने मान्छेको मन कहाँ मान्छ र, उनी अहिले पनि रातदिन खट्छन् । फरक यति हो, कुनै बेला पैसाका लागि उनी चल्थे, अहिले पैसा आफैं चल्छ, मात्र उनी दिमाग चलाउँछन् । यसरी बस भाडा, घर भाडा कसरी तिर्ने भन्ने स्तरबाट निरन्तरको मेहनतले अहिले उनी अर्वपति चन्द्र ढकाल बनेका छन् । अहिले उनका कम्पनीहरुमा हजारौंले रोजगारी पाएका छन् । र इतिहासमा लेखिने गरी उनको परिचय बनेको छ – अर्वपति व्यवसायी चन्द्र ढकाल, जो अर्वको होइन अरवौंको मालिक छ ।
आज उही चन्द्र ढकाल नेपाल उद्योग बाणिज्य महासंघमा अध्यक्ष बनेको छ । फेरी पनि बधाई चन्द्र ढकाललाई । चन्द्र ढकालको जीवन धेरैका लागि प्रेरणादायी बनेको छ, अझै बनोस् । शुभकामना ।