×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ढाका कुमार कि `डाका कुमार ?´ यस्तो छ डा.सापको विवादित पृष्ठभूमि, रविलाई अफ्ट्यारो पार्ने अरु को ? (भिडियो)

काठमाडौं । नेताले घुस खाए, यो कुनै नौलो कुरा होइन । तर नेताले घुस खाए, देश लुटे, जनता मारे, भनेर तिनकै विरोध गरि–गरी सुशासनको आश देखाएर सरकारसम्म पुग्ने पार्टीका सांसदले घुस मागेको कुरा भने जनताले सहने कुरै भएन । तर, यसपाली भयो यस्तै । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेस्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको खुलासा भएको छ । भन्न त उनले त्यो मेरो स्वर होइन पनि भन्न लाज मानेका छैनन्, तर लाजले नै लाज मान्नेगरी आएको उनको प्रष्टिकरण सुनेर भावुक बन्नुपर्ने केही छैन । किनकी कुरो प्रष्ट छ । ढाकाको घुस मगाई नै भ्रष्ट छ ।

यसो त ढाका कुमार सुरु देखि नै विवादित पात्र थिए । मन्त्रीमा दाबी गरिरहेका बेला २९ पुसमा श्रेष्ठले पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेका ढाकाले सो सअहकारीको हिसाब बुझाएनन्, बरु आफू अध्यक्षबाट हट्दै रकम हिनामिनाको ढाकछोप गरेका थिए । कुरा के थियो भने, दुर्गा प्रसाईंसँग २ करोडको डिल गर्ने ढाका ९ कात्तिकसम्म पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थामा अध्यक्ष थिए । संस्थाको २०औं साधारण सभाले डा. सनी पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सहकारीले विशेष गरी कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो । तर, कुखुरा खरिद बिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको भन्दै नयाँ कार्यसमितिले रास्वपाका सांसद श्रेष्ठमाथि हिनामिनाको आरोप लगाएको थियो । तर, थितिको कुरा गर्ने रास्वपाका सांसद ढाकाले सहकारीको पैसाको हिसाब क्लियर गरेनन् । बरु जसरी हुन्छ मन्त्री बन्ने भनेर उनी चन्दा उठाउन लागिरहे ।

सांसद बन्न व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड माग !
स्वास्थ्यमन्त्री बन्न पार्टीलाई बुझाउनुपर्ने भन्दै उनले झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागे । ‘मन्त्री बनेपछि सहयोग गर्ने’ भन्दै रकम मागेर उनले रास्वपाको मात्र बदनाम गरेनन्, बरु लाखौँ जनताको विश्वास माथी कुठाराघात गरे । नेपालमा सबै पार्टी उस्तै हुन् र रविको पार्टीमा पनि पैसा बुझाउने नै मन्त्री बन्ने हो भन्ने शैलीमा उनले चन्दा उठाईरहे । र अन्ततः सो अडियो सार्वजनिक भएको छ ।

अहिले पार्टी सभापती रवि लामिछाने तनावमा छन् । चुनावमा पहिलाको जस्तो माहोल नहुनु, उनलाई सकेसम्म चुनाव नै लड्न नदिने, लडे पनि जित्न नदिने, जिते पनि फेरी उम्मेद्वारी नै खारेज गराएर पासपोर्ट दुरुपयोग प्रकरणमा उनलाई जेल कोच्ने षडयन्त्रमा ठुलै गिरोह लागेको छ । यस्तो बेला सार्वजनिक भएको अडियोले उनलाई तनाव थपेको छ । पार्टी सभापति रवि लामिछानेले सार्वजनिक भएको अडियोबारे अनुसन्धान गरेर ७२ घन्टाभित्र प्रतिवेदन बुझाउन केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिएको बताएका छन् । बाराको गढिमाईमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले उठेको प्रश्नको निराकरण हुने बताउँदै ७२ घन्टाभित्र छानबिन सकिने बताएका छन् ।

यता ढाकालाई बिदाई गर्ने कि बचाउने भन्ने निर्णय गर्नुअघि रास्वपाको अनुशासन समितिले पनि सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण साधेको छ । हुन त यो मात्र औपचारिकता हो, र पनि अडियो सार्वजनिक भएपछि श्रेष्ठमाथि छानबिन सुरु भएको छ । ढाकालाई रास्वपा पाल्नेगरि आर्थिक सहयोग गर्ने सांसदका रुपमा लिइन्छ । अब सुनको अन्डा दिईरहेको व्यक्तिलाई बचाउने कि भ्रष्टाचारको विरोध गर्दै उदाएको पार्टीले यस्ता प्रकरण बाहिरिएपछि आफ्नो प्रतिष्ठामा समेत आँच आउने र भोट घट्ने रिस्क नलिई उनलाई बिदाई गर्ने विषयमा रास्वपा भित्र चरम छलफल भइरहेको छ ।

ढाका त जालान, त्यो त यति ठूलो कुरा भएन । तर, सार्वजनिक अडियो सम्वादमा सांसद ढाकाले मन्त्री बन्न रविको कोर टिमलाई पैसा बुझाउनुपर्ने बताएका छन् । यो सार्है गम्भीर विषय हो । यसरी पैसा बुझ्ने रविको त्यो कोर टिम कुन हो ? त्यहाँ को-को छन् ? कसले कहाँबाट कति कति उठाएका छन्, यो छानविनको विषय हो र हुनुपर्छ ।

जसले जे भनेपनी कुरा प्रष्ट छ, ढाकाले घुस मागेकै हुन् । र यो प्रकरणसँगै ढाका राजनीती गर्न नेपालको सन्दर्भमा पास र रास्वपाको सार्वजनिक नीति अनुसार फेल भएका छन् । त्यसैले अव आफ्ना वा अर्काको नभनी निर्मम छानबिन हुनुपर्छ । श्रेष्ठको मात्र होइन, कोर टिमबारे पनि छानविन हुनुपर्छ । रास्वपालाई भजाएर खान पल्केकाहरुलाई रविकै भाषामा टुँडीखेलमा राखेर उडेर घुमाएर एक–एक किक हान्नुपर्छ, त्यो पनि नाकको डाँडी भाँचिनेगरी ।

यस्ता विवादित व्यक्ति रास्वपाबाट कसरी सांसद बने ?
पैसाकै भरमा चुनाव जित्छु भन्ने लागेर होला सायद, स्थानीय निर्वाचनमा डा. श्रेष्ठले पोखरा महानगरमा स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, जित्ने छाँट नदेखेपछि उनी पछि हटे । तर, जव रास्वपा जन्मियो, ढाकाले रास्वपाको कार्यक्रम गरिदिने गर्न थाले । पार्टी चल्न पैसा त चाहिने नै भयो, अब पैसा खर्च पनि गर्न सक्ने र अभियानता टाइपको पनि भएकाले पार्टीले उनलाई चुनावमा टिकट दिने भयो । तर, चुनाव उठ्दा नजितिने रिस्क देखेपछि उनले समानुपातिकमा दाबी गरे ।

रास्वपामा पार्टीको मोबाइल एपमार्फत भोटिङका आधारमा उम्मेदवार चयन गर्ने व्यवस्था थियो । त्यसमा जनजातितर्फ श्रेष्ठ १ नम्बरमा आए । पैसा खर्च गरेपछी मोबाइलको भोट त आइहाल्छ नि भन्ने चर्चा उ बेला पनि भएकै हो । चुनावका बेलामा पनि राम्रै सहयोग गरेको भन्दै उनलाई पार्टीले समानुपातिकबाट सांसद बनायो ।

३ माघको मन्त्रिपरिषद् विस्तार अघि रास्वपाले विज्ञताका आधारमा मन्त्री पठाउने निर्णय गरेको थियो । त्यसबेला स्वास्थ्य मन्त्रालय पाए डा. चन्दा कार्की र तोशिमा कार्कीबीच कसलाई पठाउने भन्नेमा तीब्र लबिङ चलिरहेका बेला दुवै जनाको विकल्पका रुपमा उनले आफूलाई प्रस्तुत गराएका थिए । त्यहीबेला आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए । र अहिलेको अडियो प्रकरण यहि हो ।

अब बाँकी रास्वपाले के गर्छ ? त्यो भने हेर्न बाँकी नै छ । पैसा देखेपछी ‘महादेवका पनि तीन नेत्र’ भनेझैँ हुन्छ कि ? रास्वपाले जनमतको कदर गर्नेगरी निर्णय गर्छ, त्यो समयले नै देखाउला । अहिलेका लागि यत्ति बुझौँ, यो देशलाई रकम मागेर, बुझाएर, फकाएर वा आर्थिक लेनदेन गरेर मन्त्री पद भजाउने होइन, जनताका लागि जनमतको कदर गरेर राष्ट्रको सेवा गर्ने नेता चाहिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: