×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी बैंक र सनराइज बैंकबीचको मर्जर भाँडिएको हो ? कुरो कहाँ बिग्रिएको हो ? अब के हुन्छ ? (भिडियोसहित)

काठमाडौं । बाणिज्य बैंकहरुमध्ये सार्है कमजोर मानिएका सेन्चुरी, सिभिल, मेगा र सनराइजमध्ये अव सनराइजमात्र मर्जरमा जान बाँकी छ । यसो त सनराइज बैंकले यसअघि लक्ष्मी बैंकसँग बिलय हुनेगरी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेको छ । लक्ष्मी बैंकले सनराइज बैंकलाई १ बराबर १ स्वाप रेसियोमा प्राप्ति गर्ने सम्झौतापत्रमा हस्ताक्षर भईसकेको छ । मर्जरसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन् । तर रात रहे औराख पलाउँछ भनेजस्तै अव सनराइज र लक्ष्मी बीचको मर्जरमा पनि लफडा सुरु भएको छ । यसअघि गरिएको प्रारम्भिक सम्झौताविपरित सनराइज बैंकले अध्यक्षमा दाबी गरेको तर्क लक्ष्मीकर्मीहरुको छ भने दुगडको दाबी स्वाभाविक रहेको तर्क सनराइजकर्मीहरुको छ ।

आखिर के हो लफडा ? 
यसअघिको सम्झौतामा मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक रहने, सीइओ र अध्यक्ष लक्ष्मीका तर्फबाट रहने, र डिडिए प्रतिवेदनपछि सम्झौता भएको स्वाप रेसियोमा ५ प्रतिशतसम्म तलमाथि गर्न सकिने भनिएको थियो । तर निकै कमजोर मानिएको सनराइज बैंकले बैंकको अध्यक्षमा दाबी गरेपछि लक्ष्मी बैंक झस्किएको मात्र छैन, मर्जर नगर्दा के हुन्छ भन्ने विषयबारे बैंकमा आन्तरिक छलफलसमेत सुरु गरेको छ लक्ष्मी बैंकले ।

यसो त दुगडको दाबी मात्र होइन, सनराइज बैंकले भकाभक कर्मचारी बढुवा गरेपछि लक्ष्मी बैंक शशंकित बनेको छ । मर्जरका समयमा स्टाफ एडजष्टमेन्ट गर्दा आफ्ना कर्मचारीहरुलाई फाइदा होस् भनेर सनराइजले सिनियर कर्मचारीहरुलाई बढुवा गरेको छ ।  आगामी जेठ १२ भित्र दुई बैंकबीच  मर्जको अन्तिम हस्ताक्षर गर्ने सहमति भएको स्थितिमा सनराइज बैंकले अपच कुमार यादवलाई डेपुटी सीइओ बनाएको छ ।  यसअघि आरती राणालाई डेपुटी सिइओ बनाएको सनराइजले अहिले अपच यादवलाई डिजिएमबाट बढुवा गर्दै डेपुटी सिओमा बढुवा गरेपछि लक्ष्मी बैंक कतै अहिले सनराइजले अध्यक्षमा दाबी गरेजस्तै पछि सीइओमा पनि दाबी गर्ने त होइन भन्ने विषयले शशंकित बनेको छ ।


यसो त यी दुई जनालाई मात्र सनराइजले चिफ म्यानजेर रहेका ईश्वर पाठकलाई एजिएममा बढुवा गरिएको छ भने सिनियर म्यानेजरमा रहेका दीलिप मैनालीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ । यी कर्मचारीमात्र होइनन् सनराइजले झन्डै ५ सय कर्मचारीलाई बढुवा गरेको छ । अव तपाईंलाई लाग्दो हो, कर्मचारी बढुवा त सामान्य प्रक्रिया होइन र ? हो, कर्मचारी बढुवा सामान्य प्रक्रिया नै हो । तर लक्ष्मी र सनराइज बैंकबीच मर्जरपछि सिनियर कर्मचारीलाई गोल्डन ह्याण्डसेकगरेर बिदाई गर्ने आन्तरिक सहमति छ । अहिले कर्मचारी बढुवा हुनु भनेको मर्जर भएको केहि समयपछि उनीहरुलाई थप पैसा दिएर बिदा गर्नु हो । यो थाहा पाएर पनि कर्मचारीको बढुवा गरिनुलाई लक्ष्मी बैंकले शंकाको दृष्टिले हेरेको छ ।

जुन पदका मान्छेलाई मर्जरपछि बिदा गरिने सर्त थियो, त्यहि पदमा सनराइजले भकाभक कर्मचारी बढुवा गरेपछि लक्ष्मी बैंक शशंकित बनेको हो । त्यसमाथि सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले मर्जरपछि आफुले अध्यक्ष बन्नेगरी दाबी प्रस्तुत गरेपछि यो मर्जरमा लफडा निम्तिने संकेत देखिएको हो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालको ६ महिनापछि कार्यकाल सकिदैछ । त्यसपछि आफु नै बैंकको अध्यक्ष हुनुपर्ने उनको दाबी त्यति धेरै अन्यथा पनि होइन । तर, लक्ष्मी बैंकको तर्क छ, सीइओ र अध्यक्ष लक्ष्मीकै हुनुपर्छ । सनराइजको भाषामा स्वाभाविक र लक्ष्मीको भाषामा सार्है अस्वाभाविक सर्त आएपछि अहिले दुई बैंकबीच मर्जर कमिटीको बैठक बस्न सकिरहेको छैन । बसीहाले पनि खास निर्णय र थप काम हुन सकेको छैन । अर्थात पूर्ववत सम्झौताविपरित नयाँ नयाँ सर्त आउन थालेपछि यी दुई बैंकबीच मर्जर नहुने सम्भावना पनि बढेको छ ।

यसो त सनराइज बैंक र लक्ष्मी बैंक प्रेम विवाहजस्तो मन परापर भएर मर्जरमा जान लागेका होइनन् । बरु बाआमाले खोजिदिएको केटासँग अलि अलि मन परेर वा ठिकै छ नि त भनेर विवाह गरेको शैलीमा राष्ट्र बैंकको समेत केहि दबाबका बीच सनराइज बैंकलाई लक्ष्मीले प्राप्ति गर्न तयार भएको हो । लक्ष्मीलाई यस अघि पनि थाहा थियो कि सनराइज बैंक लफडा नै लफडा भईरहने बैंक हो । घरी मेनेजमेन्टमा लफडा, घरी बोर्डमा लफडा, घरी अध्यक्षले सीइओलाई स्पष्टीकरण सोध्ने, घरी सीइओले तिम्रो जागिर तिमी नै खाउ भनेर हिड्ने, बर्षौंदेखि यस्तै रमिता देखिरहने सनराइज बैंकमा समस्या हुन सक्छ भन्ने जान्दाजान्दै लक्ष्मी सनराइजलाई प्राप्ति गर्न तयार भएको थियो । तर सम्झौता त आखिर सम्झौता नै हो । पहिला हुन्छ हुन्छ भन्ने, पछि यसरी त हुन्न भन्ने शैली सनराइज बैंकले देखाउन थालेपछि लक्ष्मी स्वाभाविक रुपमा शंशंकित बनेको हो ।


सनराइज बैंकको बोर्डमा लफडा हुनु र कालिञ्चोकमा हिउँ पर्नु उस्तै उस्तै हुने गरेको छ । अव त नपर्ला कि भन्यो केहि मौसम बिग्रिएपछि परिहाल्छ । बाहिरका मान्छेलाई रमाइलो, स्थानीयलाई पिरलो । र पनि बाहिरका मान्छेले रमाइलो गरेपछि त्यसमा खेल्नचाहिं फेरी पनि स्थानीयलाई पनि रमाइलो । यस्तै छ सनराइज बैंकमा पनि । अध्यक्ष
दुगडले राख्ने बैठकमा बोर्ड सञ्चालकहरू मालचन्द दुगड, बच्चाराज तातेर र शैलेन्द्र गुरागाईं खासै सहभागी हुँदैनन् । सहभागी भईहाले केहि न केहि छेडछाड, भनाभन चलिहाल्छ । बोर्डमा तनाव, बाहिर हेर्नेलाई रमाइलो, उही कालिञ्चोकमा हिउँ परेजस्तो । सनराइजको बोर्डमा हुने गरेको यस्तै झगडाले लामो समयदेखि वर्षदेखि एकजना स्वतन्त्र सञ्चालक पनि नियुक्त हुन सकिरहेको छैन । हुन पनि झगडै गर्न र गाली खान मात्र संचालक हुन कसलाई इन्ट्रेष्ट, कसलाई फुर्सद !

के मर्जर भाँडिएकै हो त ?
होइन, होइन । सनराइज र लक्ष्मी बैंकबीचको मर्जर सम्झौता भाँडिईसकेको होइन । त्यसो भए भाँडीने संकेत देखिएको हो त ? हो, यी दुई बैंकबीच मर्जर हुने भनेर गरिएको सम्झौता भाँडिने संकेत देखिएकोचाहिं पक्कै हो । फेरी पनि संकेत देखिने बित्तिकै भाँडिनेचाहिं होइन है। सम्भावना छ, तर स्योर छैन । पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने मानौं, ६० प्रतिशत सम्भावना यी दुई बैंक एक हुन्छन् भन्ने छ, ४० प्रतिशतचाहिं होइन अव अलग अलग नै बस्दा ठिक भन्ने लाइनमा पुगेका छन्, लक्ष्मी बैंकका संचालकहरु ।

अव मर्जर भाँडियो भने के हुन्छ ?
के हुनु, केहि हुँदैन । लक्ष्मी बैंकले कि अर्को खोज्छ, कि आफु अर्को बैंकसँग मर्जरमा जान्छ । यसअघि पनि एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जरको चर्चा त तयारी दुवै नभएको होइन । पछि कुरो मिलेन, र कुरो टुंगीयो । यता सनराइज बैंकले पनि एभरेष्टसहित अन्य केहिसँग मर्जरको कुरा नचलाएको होइन । तर पछि कुरो मिलेन । अर्थात यो मर्जर भाँडियो भने दुवै बैंक आआफ्नो बाटो लाग्छन् । मर्जरमा नगईचाहिं दुबैलाई सुख छैन । यसअघि हिमालायन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर पनि भाँडिईसकेको इतिहास साक्षी भएका कारण मर्जर भाँडियो भने पनि हुनेचाहिं नराम्रो केहि होइन । उही, यसै पनि झगडालु बैंक भनेर बदनाम बनेको सनराइज अझ थप झगडियाको रुपमा चित्रित होला कि भन्ने पीर हो ।


सनराइज बैंकका अध्यक्षलाई मर्जरपछि अध्यक्ष दिंदा के बिग्रिन्छ ?
अहँ यहाँनेर पनि खासै केहि बिग्रीहाल्ने भने होइन । तर, दुगड अध्यक्ष हुँदा लक्ष्मीमा पनि सनराइज नै हाबी हुन्छ र सनराइज लक्ष्मीजस्तो हुनुपर्नेमा लक्ष्मीचाहिं सनराइज जस्तो हुने सम्भावना बढ्न सक्ने पीर धेरैमा भएको हो । तर सीइओ लक्ष्मीको, अध्यक्ष सनराइजको, अनि तितामिठा सबै कुरा बिर्सेर बैंकलाई अघि बढाउने हो भने बिग्रिहाल्नेचाहिं केहि होइन । र पनि फेरी पनि, सम्झौता त सम्झौता हो, अहिले सन्राइजले एउटा माग राख्छ, हुन्छ भनिदियो, भोलि सीइओ पनि चाहियो भन्ला, पछि लक्ष्मीका कर्मचारी पेलानमा पार्लान भन्ने तनाव मात्र हो लक्ष्मी बैंकका कर्मचारी र संचालकलाई ।

इन्गेजमेन्ट भईसकेपछि विवाह नभाडिएको राम्रो । तर इन्गेजमेन्टसम्म सबै कुरा ठिक छ, मिलेर अघि बढौं भन्ने तर इन्गेजमेन्ट भईसकेपछि यो पनि मैले भनेको हुनुपर्यो भन्ने, उ पनि मैले भनेको हुनुपर्ने जस्तो भयो भनेचाहिं विवाहपछिको जीवन हुनुपर्ने भन्दा फरक र नराम्रो भईदिन्छ । मर्जर पनि त्यस्तै हो । उ बेला सब यसैगरी चलौं  भनेर अघि बढ्ने अनि अहिले आएर होइन अव त्यसो गरौँ भन्दा कुरा बिग्रिने नै हो ।  यस विषयमा दुई बैंक गम्भीर भएर बसेर, सोचेर , छलफल गरेर अघि बढ्नुपर्छ । होइन भने फेरी एउटा इन्गेजमेन्ट बिग्रिएपछि अर्को विवाह सोचेजस्तो सहज नहुन सक्छ । बस यति बुझे हुन्छ दुवै बैंकले ।

(भिडियो)  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: