×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक घोटाला प्रकरणः सेयरमा डुबेर जुवामा हारेपछि ग्राहकको रकम चोरी ! (भिडियो ब्रिफिङ)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार

PRIME CA
laxmi sunrise bank

एभरेष्ट बैंक घोटाला प्रकरणः सेयरमा डुबेर जुवामा हारेपछि ग्राहकको रकम चोरी ! (भिडियो ब्रिफिङ)

काठमाडौँ । केहि समय अगाडीको कुरा हो, जापान बस्दै आएकी स्याङ्जाकी रेखा गुरुङको रकम बैंकबाटै एकाएक हरायो । आफुले मेहेनत गरेर बैंकमा जम्मा गरेको रकम हराएपछि उनी तनावमा हुनु स्वाभाविक नै भयो ।आफुले निकै दु:ख गरेर बैंकमा जम्मा गरेको रकम एकाएक हराएपछि उनी बैंकमा गुनासो गर्न गइन् । तर सुरुमा बैंकले उनको कुरा नै सुनेन । बैंक न ग्राहकको पैसा हराएको स्वीकार्न तयार भयो, न बैंककै केहि कमी कमजोरी छन् भन्ने स्वीकार्न नै । बरु बैंकले उल्टै रेखाले नै पैसा निकालेको रटान लगाईरह्यो ।
हदै भएपछि उनले अलि ‘ठुलो स्वर’ गर्न थालिन् । बैंकले आफ्नो हराएको ७ लाख रुपैयाँ फिर्ता दिने छाँट नदेखाएपछि उनले आफ्नो बैंक स्टेटमेन्ट सहित केहि मिडियाकर्मी बोकेर बैंक पुगिन् । बैंकमा ‘ठुलो स्वर गर्न’ थालेपछि बैंक पनि हच्कियो । बल्ल बैंक भएको के रहेछ भनेर बुझ्न तयार भयो । नभन्दै बैंकले उनको ७ लाख रुपैयाँ रकम बैंककै कर्मचारीले चोरेको पत्ता लगायो । आफ्ना ग्राहकको निष्क्रिय खाताहरु पत्ता लगाई रकम चोर्ने गरेको पत्ता लागेपछि बैंकले थप अनुसन्धान सुरु गर्यो । बल्ल थाहा भयो, गुरुङको मात्र होइन, विभिन्न ५९ वटा खाताबाट करोडौं रुपैयाँ चोरी भईसकेको रहेछ । र यसरी रकम चोर्ने काममा एभरेष्ट बैंककै कर्मचारी संग्लग्न रहेछन् । बैंकले केस बाहिर धेरै नआओस् भनेर रेखाको पैसा फिर्ता गरी थप अनुसन्धान गरेको थियो । यद्यपी उनले बैंकमा गएर आफ्नो पैसा हराएको भनी कराएको भिडियो सामाजिक संजालमा भाइराल भईसकेका थिए । आफ्नै कर्मचारीको गल्ती देखेपछि बैंकले उनलाई यो केसलाई थप नउचाल्न भनी आग्रह गर्दै उनको पैसा फिर्ता दिएको थियो ।
रेखा गुरुङको ७ लाख रुपैयाँ खोज्दै जाँदा बैंकभित्र करोडौंको घोटाला भईसकेको पत्ता लाग्यो । बैंकको इटहरी शाखामा कार्यरत कर्मचारी निरज प्रधानको संलग्नतामामात्रै विभिन्न ३३ जनाको खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ बैंककै कर्मचारीको संग्लनतामा चोरी भएको पत्ता लागेपछि बैंकले प्रहरी गुहार्यो । सो क्रममा बैंकले नै आन्तरिक अनुसन्धान गर्दा बैंकका कर्मचारीले बैंकको कम्प्युटर आईडी पासवर्ड दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम झिकेर हिनामिना गरेको तथ्य पत्ता लगायो । बैंकमा करोडौं रुपैयाँ ठगी भएको उजुरी आएपछि प्रहरीले भकाभक मान्छे समाउन थाल्यो । यहि बीचमा ठुलो रकमको घोटाला गर्ने निरज प्रधानको पोल खुलेको थियो । बैंकले प्रहरीलाई खबर गरी प्रधानलाई बैंकबाट निलम्बन गर्यो ।
सेयर र जुवामा पैसा फसेपछि निरजले बनाएका थिए बैंक लुट्ने योजना, र त्यसपछि चोरीको ग्राहकको करोडौँ…
अव लागौं, यो केसका माष्टरमाइन्ड निरज प्रधानको विगततर्फ । केहि समय अघि उनले आफ्नो पैसा जति सेयर बजार र अनलाइन जुवामा लगाएका थिए । सुरुसुरुमा त सेयर बजारमा पनि पैसा निकै राम्रो कमाई हुँदै थियो । केहि अगाडी सेयर बजारमा प्रवेश गरेका उनले सेयर बजारबाट मनग्य पैसा कमाईरहेका थिए । तर त्यसपछि सेयर बजार ओरालो लाग्न थाल्यो । बजारको यहि ओरालोले उनलाई गलत कामतर्फ मोडायो ।
सेयर बजार निरन्तर घट्न थालेपछि उनले सो पैसा उकास्न अनलाइन बेटिङ्गमा लगानी बढाउन थाले । सुरुमा अनलाइन जुवामा पनि उनको राम्रै कमाई भयो । तर विस्तारै बेटिङ्गमा पनि पैसा गुम्न थालेपछि उनलाई पैसाको हाहाकार हुन थाल्यो । करोडौंको कारोबार गरिरहेका प्रधान विस्तारै पैसाको अफ्ट्यारोमा पर्न थाले । त्यसपछि उनले बनाए-  ‘बैंकबाट ग्राहकको पैसा चोर्ने योजना ।’
बैंकमा थुप्रै निष्क्रिय खाता हुन्छन् । अझ बैंकमा पैसा राखेर विदेश जानेहरुमध्ये धेरैको खाता निष्क्रिय हुन्छ । कति खाता निष्क्रिय छन् भन्ने तथ्य सहजै सिष्टमबाट निस्किन्छ । विशेषगरी विदेश गएकाहरुको मोबाइलमा पैसा झिकेको र राखेको जानकारी पनि नजाने हुनाले निष्क्रिय खाताका ग्राहकहरुले पनि आफ्नो खातामा भएको कारोबारबारे पत्ता लगाउन स्टेटमेन्ट नै हेर्नुपर्छ । यो थाहा पाएका उनले केहि समय लगाएर बैंकमा कसकसको खाता निष्क्रिय छ भनेर हेरे । जुन खातामा पैसा पनि छ, र लामो समयदेखि कारोबार पनि भएको छैन, ती खातामा उनले नजर लगाईरहे ।
अव उनले ती निष्क्रिय खाताको पैसा चोरी गर्ने प्लान बनाए । उनको प्लानलाई बैंकको र बैंकका कर्मचारीको लापरवाही बरदानझैं सावित भएको थियो । पैसा कनेक्ट आईपीएसमार्फत सार्न उनलाई यसकारण पनि सहज थियो कि, बैंकका कर्मचारीहरु कनेक्ट आईपीएसको ‘लग इन’ नै छोडेर बैंकबाट घर जान्थे । कहिलेकाहीं फेसबुकमा हामी ‘रिमेम्बर पासवर्ड’ गरेर राख्छौँ नि, अर्थात पासवार्ड राखीरहनु नपर्ने गरी कम्प्युटरमा वा मोबाइलमा पासवर्ड सेभ राख्छौँ नि, त्यस्तै गर्थे बैंकका कर्मचारी पनि । अर्थात कनेक्ट आईपीएसको सेक्सनमा काम गर्ने कर्मचारीहरुले पासवर्ड सेभ गरेरै राखीदिन्थे । यसले उनलाई पैसा चोर्न थप सहज भयो । अव, जव रातको ८ बज्थ्यो, अन्य कर्मचारीहरु घर जान्थे, उनी केहि काम छ भनेर अफिसमा फस्थ्ये र सो पासवर्ड सेभ भएको कम्प्युटरबाट लग इन गरी ग्राहकको पैसा अर्को कुनै खातामा ट्रान्सफर गर्थे ।
यसरी रकम ट्रान्सफर गर्न उनले केहि साथीहरुको खाता प्रयोग गर्थे भने आफ्नो पनि छुट्टै ‘डमी’ खाता खोलेका थिए । जसजसको खाता प्रयोग भएको थियो, अहिले ती २ जना अर्थात निरज प्रधानका दुई जना साथीलाई पनि प्रहरीले पक्राउ गरेको छ । कनेक्ट आईपीएसबाट पैसा ट्रान्सफर गरेपछि यसलाई त्यहाँको ब्रान्च मेनेजरले भेरिफाई गर्नुपर्छ । उनी राती नै बसेर ब्रान्च मेनेजरको युजर आईडी प्रयोग गरी सो कारोबारलाई भेरिफाई गरिदिन्थे । अर्थात ग्राहकको खाताबाट रकम आफुले भनेको खातामा राख्न गर्नुपर्ने दुई चरणका काम उनी आफैँ गर्थ्ये । सुरुवाती बयानमा उनले ब्रान्च मेनेजरकै मिलेमतोमा आफुले काम गरेको बताएका छन् । अव अन्तिमसम्म उनले यो बयान कायम राख्छन् वा बयान फेर्छन् भन्ने यकिन छैन । यद्यपी ब्रान्च मेनेजरले भने प्रधानले नै आफ्नो युजर आईडीको दुरुपयोग गरेको दाबी गरेका छन् । ब्रान्च मेनेजर सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्य हुन् । उनलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
यसरी रकम जुन खातामा ट्रान्सफर भएको छ, अव सो खाताबाट उनी पैसा निकाल्थे र चलाउँथे । उनले यसरी पैसा ट्रान्सफर हुने केहि डमी खाताको चेकबुकसमेत आफैं प्रिन्ट गरेका थिए । रेकर्ड नै नराखी चेकबुक पनि भकाभक आफैंले प्रिन्ट गरेर प्रयोग गर्ने उनी केहि खातावालहरुको सहि चोरेरसमेत नक्कली चेकबुक बनाई सो चेकबाट रकम झिक्थे । बैंककि टेलर पवित्रा कटवाल यसरी फेक चेकबाट रकम भुक्तानी दिएको भन्दै यो केसमा पक्राउ परेकी छिन् । उनले प्रधानसँगको मिलेमतोमा यो काम गरिन्, वा फसिन् भन्ने यकिन भएको छैन । सुरुवाती बयानमा प्रधानले टेलरसँगको मिलेमतोमा नै काम गरेको दाबी गरेका छन् । त्यसपछि प्रहरीले टेलर कटवाललाई पक्राउ गरेको छ । कटुवालले भने यसमा आफ्नो संलग्नता नरहेको र आफुलाई यस विषयमा केहि पनि थाहा नभएको दाबी गरेकी छिन् । यद्यपी हल्ला कतिसम्म चलेको छ भने उनले आफ्ना केटासाथीलाई मोटरसाइकल गिफ्ट गर्न ग्राहकको रकम ठगेको भन्नेहरु पनि छन् । उनका श्रीमान अर्को एक बैंकमा काम गर्छन् । उनकी एक सन्तान पनि छन् । ब्वाईफ्रेन्डलाई मोटरसाइकल किन्न रकम ठगी गरेको चर्चा गलत भएको दाबी उनले प्रहरीसमक्ष गरेकी छिन् ।
कस-कसको मिलेमतो ?
बैंकको जाहेरी परेपछि प्रहरीले सुरुमा बैंकका तत्कालीन कर्मचारी निरज प्रधानलाई गत चैत्र १२ मा पक्राउ गर्यो । बैंकले पनि उनलाई तत्काल निलम्बन गर्यो । उनकै बयानपछि बैंकका थप अन्य कर्मचारीहरु पक्राउ परेका हुन् । प्रधान सुरुमा सो बैंकका इटहरी ब्रान्चका अपरेशन इन्चार्ज थिए । केहि समय अगाडीमात्र उनको इटहरीबाट गाईघाट ट्रान्सफर भएको थियो । तर इटहरीदेखि ग्राहकको पैसा चोर्ने बानी लागेका उनले गाईघाटमा पनि कायम राखे । बैंकका युजर आईडी जसजसको प्रयोग भएको छ, मिलेमतोको आशंकामा अनुसन्धानका लागि उनीहरुलाई पनि पक्राउ गरिएको छ । तर सबैको सुरुवाती बयान छ- ‘सब निरजले गरेको हो, हामीलाई केहि पनि थाहा थिएन । हाम्रो युजरआईडि दुरुपयोग भयो ।’ तर प्रधानले भने सबैलाई यो कुरा थाहा भएको दाबी प्रहरीसमक्ष गरेका छन् ।
उनीसँग मिलेमतो गरेको शंकामा प्रहरीले काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामालाई पनि पक्राउ गरेको छ । उनी कामको सिलसिलामा काठमाडौँ छोडेर एभरेष्ट बैंकको सो साखामा काम गरिरहेका व्यक्ति हुन् । पैसा चोर्ने प्रक्रियामा उनको पनि युजर आईडी प्रयोग भएको छ । युजरआईडी प्रयोग भएपछि बैंकका कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ भने इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे (जम्मरकट्टेल), सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया टेलर पवित्रा कटवाललाई पनि पक्राउ गरेको छ । पक्राउ परेका अन्य दुई धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यविनायकका अजय खिउजुलाई भने पैसा चोर्ने क्रममा रकम ट्रान्सफर भएको खाता प्रयोग गर्न दिएको भन्दै प्रहरीले पक्राउ गरेको छ । आफ्नो खातामा पैसा आउँदा के कसो हो भनी नबुझी प्रधानलाई पैसा चोर्ने कार्यमा सहयोग गरेको आरोप उनीहरुमाथि छ । यद्यपी सब काम प्रधानले गरेर उनीहरुलाई फसाए वा उनीहरुको पनि मिलेमतो छ भन्ने कुरा भने अनुसन्धानकै क्रममा छ । पक्राउ परेका देवराज घिमिरेको पूरा नाम देवराज जम्मरकट्टेल हो । उनी स्थानीय कांग्रेस नेताका भतिजा हुन् । नेताको पावर लगाएर थर लुकाएको आरोपसमेत पक्राउ परेका अन्यहरुले लगाईरहेका छन् ।
बैंककै लापरवाहीले घट्यो घटना
यसो त यो केसमा बैंकको लापरवाही देखिएको छ । बैंकले कनेक्ट आईपीएस प्रयोग हुने कम्प्युटर र भेरिफाई गर्ने कम्प्युटरको युजर र पासवर्डलाई जसले पनि प्रयोग गर्न मिल्ने गरी राख्न दिएको पाइएको छ । अहिले यो घटना घटेपछि बैंकले आन्तरिक सर्कुलर नै जारी गरेर कम्प्युटरमा पासवर्ड सेभ नगर्न र आफ्नो युजर अरुलाई नदिन निर्देशन नै जारी गरेको छ । खासमा यी दुवै काम गलत हुन् । यतिसम्मकि निरज प्रधानले नयाँ बानेश्वरमा रहेका कर्मचारीको युजर आईडीसमेत प्रयोग गरेको पाइएको छ । यो काम सरासर गलत त हुँदै हो नै, बैंकको आईटी सिष्टमले यसरी पासवर्ड सेभ भएको ख्याल नगर्नु र असम्बन्धित ठाउँको युजर आईडी असम्बन्धित ठाउँबाट खोलिदा पनि ख्याल गरेको देखिंदैन । बैंकको यहि गल्तीका कारण निरज प्रधानले ग्राहकको करोडौं रुपैयाँ हिनामिना गरेका छन् । घोटाला गरेको रकममध्ये ठुलो रकम अनलाइन जुवामा सकिसकेको बताएका प्रधानले केहि रकम सेयर बजारमा लगानी गरेको बताएका छन् ।
कसलाई के सजाय हुन्छ ?
अहिले यो घटना अनुसन्धानकै क्रममा छ । निरज प्रधान यो केसमा जेल जाने निश्चित प्राय: छ । उनलाई बैंकिङ कसुर ऐन र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ । यी दुवैमा उनी दोषी दिएको खण्डमा उनले ठगी गरेको रकमको बिगो रकम बुझाउनुपर्ने छ भने उनलाई जेल सजायसमेत हुनेछ । युजरआईडी प्रयोग भएको देखिएकोले अन्यलाई पनि सजाय हुने देखिन्छ । कानुनी भाषामा यसलाई मतियार भई काम गरेको भनिन्छ । बिगतका यस्तै प्रकृतिका घटनाहरुमा पनि जसको युजर आईडी प्रयोग भएको छ, उनीहरुलाई पनि मतियारका रुपमा अदालतले सजाय तोकेका थुप्रै नजिरहरु छन् । यो प्रकरणमा पनि सबै काम प्रधानले नै गरेको प्रमाणित भएको खण्डमा बाहेक अन्यलाई पनि सजाय हुने देखिन्छ । यसो भएको खण्डमा उनीहरुलाई पनि जरिवाना र जेल सजाय हुने देखिन्छ ।
बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को परिच्छेद २ को ५ मा अनाधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने भनिएको छ । अनाधिकृत रुपमा अरुको खाताबाट रकम निकालेमा वा अनाधिकृत रुपमा ग्राहकको खाताबाट रकम निकालेमा वा भुक्तानी दिएमा सो कार्य कसुरजन्य कार्य हुने ऐनमा स्पष्ट उल्लेख छ । सोहि ऐनको परिच्छेद २ को ६ मा विद्युतीय माध्यमको दुरुपयोग वा अनाधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने भनिएको छ । कसैले पनि क्रेडिट कार्ड, डेबिट कार्ड, अटोमेटेड टेलर मेशिन (एटीएम) कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग गरी भुक्तानी लिन वा दिन नहुने उल्लेख छ । यो केसमा कनेक्ट आईपीएसबाट अनाधिकृत रुपमा रकम ट्रान्सफर भएका हुनाले यहि कानुन आकर्षित हुने देखिन्छ ।
सोहि ऐनमा यसप्रकारको अपराधमा बिगो जरिवानासहित कैद सजाय पनि तोकिएको छ । कसैले यसरी अनाधिकृत रुपमा रकम रकमान्तर गरेको वा अनाधिकृत रुपमा भुक्तानी गरेको पाइएमा बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिबाना गर्ने सकिने ऐनमा स्पष्ट छ । यस्तो केसमा बिगो अनुसारको कैद जरिवाना हुने गर्छ । हाल यो केस अनुसन्धानकै क्रममा छ । मुख्य योजनाकार भएकाले निरज प्रधानलाई पुर्पक्षका लागि थुना पठाउने सम्भावना अधिक देखिएको छ भने बाँकीलाई धरौटी खोल्ने सम्भावना देखिन्छ । यद्यपी यो मुद्धाको किनारा लाग्दा मतियार ठहर भएमा निजहरुले कानुनबमोजिम कारवाही भोग्नुपर्ने हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: