×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ८ अर्ब २ करोड

PRIME CA
GLOBAL IME BANK

हिमालयन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ८ अर्ब २ करोड

२७ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख २६ गतेबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ ।  यी तीन कम्पनीले एक वर्षअघि (२०७९ वैशाख २९ गते) मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरेका हुन् । उनले नयाँ कम्पनीको प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले जीवन बीमा आम जनताको जीवनमा अपरिहार्य रहेकोले गरिब र न्यून आय भएका जनताको बीचमा पुगेर जीवन बीमा व्यवसाय गर्न निर्देशन दिए ।

उनले तीनवटा कम्पनी गाभिएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेकोमा कम्पनीसम्बद्ध सबैलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिए । यो घटना नेपाली बीमा कम्पनीहरुका लागि ऐतिहासिक भएको उनको टिप्पणी छ । तीनवटा कम्पनी एकआपसमा गाभिँदा ठूलो चुक्ता पुँजी भई कम्पनी थप शक्तिशाली बनेको पनि उनले बताए ।

मंगलबार बिहान कम्पनी अध्यक्ष सुलभ अग्रवालले नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

जीवन बीमा क्षेत्रमा चुक्ता पूँजीका हिसाबले हिमालयन दोस्रो ठू्लो, जीवन बीमा कोषका हिसाबले चौथो ठूलो र शाखा सञ्जालको हिसाबले सबैभन्दा नम्बर १ कम्पनी बनेको छ । कर्मचारी संख्यामा पनि नम्बर १ बनेको छ । नवीकरण गरेका अभिकर्ताको संख्याका आधारमा पनि हिमालयन लाइफ सबैभन्दा अगाडि रहेको छ ।

मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हिमालयन लाइफको जगेडा कोषमा ९० करोड रुपैयाँ छ । जीवन बीमा कोषमा ५० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । त्यसैगरी प्राकृतिक विपद् कोषमा ३३ करोड १० लाख रुपैयाँ पुगेको छ । सम्पत्तिमा लगानी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

मर्जरपछि कम्पनीको कुल लगानी ५१ अर्ब ९५ करोड पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल बीमा शुल्क संकलन ७८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यी तीन कम्पनीले ४० हजार ६३७ वटा बीमा पोलिसीको दाबी भुक्तानी गरिसकेका छन् । हालसम्मको दाबी भुक्तानी रकम १५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: