काठमाडौं । एसएलसीमा फस्ट डिभिजन, प्लस टुमा सेकेन्ड डिभिजन, ब्याचलरमा पटकपटक परिक्षा दिएर बल्ल बल्ल पास, माष्टर्समा पास हुने थोरैमात्र आस । यो तपाईंहामीमध्ये धेरैको कथा हो, कथा पनि के भन्नु, धेरैको व्यथा हो । हुन पनि एसएलसी दिंदा घरमा मात्र होइन, मामाघरमा फुपुको घरमा, छिमेकतिर मात्र होइन उस्तै परे दुई चार गाउँ नै फलानोको छोरो वा फलानीकि छोरीले एसएलसी वा अहिलेको एसईई दिंदैछ रे वा दिंदै छिन् रे भन्ने थाहा हुन्छ । प्लस टु पढ्न थालेपछि छिमेकीहरुले अलिअलि सम्झिन्छन्, मामाघरतिर भान्जाभान्जीको पढाई दशैंमा टिका लगाउँदा सम्झिन्छन् । ब्याचलर पढ्न थालेपछि त कसले सम्झनु, उस्तै परे ब्याचलर पढ्न थालेको कति बर्ष भयो भनेर आफैँलाई सम्झना हुँदैन । माष्टर्स पढ्न थालेपछि आफुलाई बाहेक कसैलाई पढाई कहाँ पुग्यो भन्ने चासो हुँदैन । धेरैले यहि बीचमा पढाई छोड्छन् । फेल हुँदा हुँदा विवाह गर्ने उमेर हुन्छ, कामको प्रेसर हुन्छ, विदेशको भिसा लाग्छ, के हुन्छ के के । अनि बुढेसकालमा के पढ्नु कसले पढ्नु ? तर आज हामीले सुनाउन खोजेको एउटा कथा र देखाउन खोजेको केहि रमाइला तथ्यले भने अनेक बहानामा पढाई छोड्नेहरुलाई एक पटक सोच्न बाध्य बनाउनेछ । किनकि पढाई उमेरले होइन, मनले गर्ने रहेछ भन्ने तथ्यको साक्षी छ आजको कार्यक्रम ।
तर अहँ ! पछिल्ला केहि दिन यता बाहिरिएका खबरहरुले भन्छ- पढाईलाई उमेरले छेक्दैन । एसएलसी पास गरेको ३७ वर्षपछि हरिबहादुर खातीले कक्षा १२ उतिर्ण गरेछन् । एसएलसी सकेपछि जागिर खोज्न लागेका उनी भारतीय सेनाबाट अवकाश प्राप्त हुन् । अहिले ५५ बर्षका उनले अहिले कक्षा १२ मा ३.५० ल्याएर उतिर्ण भएका छन् । यो बुढेसकालमा पनि उनको पढ्ने रहर सकिएको छैन । भन्छन्- अव बिए एलएलबी पढ्छु र वकिल बन्छु । उता काठमाडौंकी ८० वर्षीया रत्नकुमारी सुनुवार कक्षा १२ को परीक्षामा पास भएकी छिन् । उनले कक्षा १२ को परीक्षामा २.६४ जिपिए ल्याएकी छिन् । अहिले बजारभरी उनको चर्चा छ । चर्चा नहोस् पनि किन, पनाती उमेरकाहरुले पीएचडीको तयारी गरिरहँदा उनी १२ कक्षा पास गरेर अव ब्याचलर पढ्ने सोचमा छिन् । अझ आज हामीले प्रस्तुत गर्न लागेको डाँगी बाको कथा त झन् रोचक छ । उनी ९० बर्षका भए, तर मात्र एक कक्षामा पढ्छन् । पनाती उमेरका केटाकेटीसँग बसेर पढ्न रति पनि संकोच मान्दैनन् । मोबाइल चलाउन पाएपछि रातभर नसुत्ने तर पढ्न थालेपछि ५ मिनेटमै झप्प-झप्प निदाउनेहरुले ९० बर्षका यी बाबाट केहि सिक्लान् कि भनेर आज हामी उनै डाँगी बाको कथा सुनाउँदैछौँ ।
नाम प्रेम बहादुर डाँगी । उमेर ९० बर्ष । ठेगाना तुलसीपुर-१ भमके । वृद्धभत्ता खाएर, घरमा आनन्दसँग बस्ने यो उमेरमा प्रेम बहादुर पिठ्युमा झोला र एक हातमा लठ्ठी बोकेर स्कुल जान्छन् । उमेरमा पढ्न पाइएन, अहिले पाइएका बेला पढ्छु भनेर उनको प्रवेश कक्षा १ मा हुन्छ । पनाती उमेरकाहरुसँग कक्षामा उनी पढाई गर्छन् । अहिले दुई एकान दुईदेखिका गणित, नेपाली सामान्य व्याकरण र अंग्रेजीका अक्षरहरुसँग उनको दैनिकी बित्छ । घरका छोरा बुहारी आफ्नै काममा व्यस्त छन्, तर उनी विद्यालयमा । नाती उमेरकाले पढाएको सुन्छन्, पनाती उमेरकाहरुको गफ सुन्छन्, रमाउँछन् । बुढेसकालमा पढाई खास चलेको छ । जिन्दगी यसरी नै बिन्दास चलेको छ।
९० बर्षका बा १ कक्षामा पढ्छन्, कुरा यतिमा मात्र सिमित छैन । बरु डाँगी बा पढ्न जाने स्कुल नजिक छैन । घरबाट पूरापूर १ घण्टा लाग्छ विद्यालय पुग्न । तर बुढो शरीर बोकेर, पूरै १ घण्टा हिंडेर, पिठ्युमा झोला बोकेर, खोल्सा, खोला तरेर उनी पुग्छन् स्कुलमा, त्यो पनि घन्टी नबज्दै । र पढ्न थाल्छन् बुढेसकालको रहरले पढ भनेका अक्षरहरु । चालु शैक्षिक सत्रदेखि हो उनको पढाई सुरु भएको । आफ्नै वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनको पढाई दैनिकी चल्छ । भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुगी विद्यालयमा पढ्ने रहरका लागि पानि आँट हुनुपर्छ । डाँगी बा आँटिला पनि छन् ।
अझ रमाइलो कुरा त के छ भने ९० बर्षको उमेरमा केहि धमिलो भएको आँखाले पनि प्रष्ट अक्षर चिन्छन् । डाँगी बाको पढाई पनि कमजोर छैन । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्छन् डाँगी बा । अङ्ग्रेजी अलि गाह्रो लाग्नछ रे डाँगी बालाई । तर नेपाली भाषाका सबै किताब उनी राम्रोसँग पढ्छन्, राम्रोसँग लेख्छन् पनि, गणित त औँला भाँचेरै मिलाईदिन्छन् ।
घरमा डाँगी बा नातिहरूसँग बस्दै आएका छन् । जिन्दगीको बिगत त्यति सहज थिएन । श्रीमतीको विसं २०३२ मा निधन भयो, त्यसपछि एक्लो जिन्दगी एक्लै रहिरह्यो । पत्नी गुमाउनुको पीडा भुल्न नपाउँद जेठो छोराको पनि निधन भयो । अहिले नातिले पाल्छ हजुरबुवालाई । नाति आफ्नो काममा व्यस्त हुने, र आफु एक्लो हुने भएकाले घर बस्नुभन्दा विद्यालय बस्नु ठिक हो भनेर उनी स्कुल जान थालेका हुन् । भन्छन्- ‘बाँचुन्जेल पढिरहन्छु । सानामा पढ्न पाइएन, अक्षर सिकेरै मर्ने चाहाना थियो, अव त्यो इक्षा पूरा हुने भएको छ ।’
९० बर्षको उमेरमा पनि पढ्न थालेका डाँगी बाकै कारण अहिले १० गाउँसम्म पढाईको महत्व झल्किएको छ । विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्ती पनि यसै भन्छन् । ९० बर्षका बुढा बा कक्षा १ मा भर्ना गर्न आउँदा सुरुमा अचम्म लागेको तर पछि उनको साहस र इक्षा देखेर विद्यालयमा भर्ना गरिदिएको प्रधानअध्यापक घर्तीको भनाई छ । आखिर बुढो त तन पो हुने रहेछ, मन बुढो कहाँ हुँदो रहेछ र ! पढाईलाई कहाँ उमेरले छेक्दोरहेछ र ! र त अहिले विद्यालयले डाँगी बालाई सम्मान गर्ने योजनासमेत बनाएको छ । डाँगी बा विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको छ स्कुलले । ९० बर्षका बुढा डाँगीबा सर्ट र पाइन्ट लगाएर स्कुल आउने कुरा सुन्दा दाँत झरेपछि सिथिल भएका गिजाहरु देखाएर मुस्कुराउँछन् । आखिर जिन्दगीको सबैभन्दा खुसी यहि मनैबाट आउने मुस्कान न रहेछ, होइन र ?
साधुवाद ९० बर्ष बर्षमा कक्षा १ पढ्ने डाँगी बा, तपाईंको यो साहसप्रति, तपाईंको इक्षाप्रति, तपाईंको यो समर्पण प्रति । आजको पुस्ताले तपाईंबाट सिक्न जरुरी छ । तपाईंले सिकाउनुभएको यो अदम्य साहसको पढाई अहँ कुनै विश्वविद्यालयमा पढाई हुँदैन । तपाईंले देखाउनुभएको यो जोस, अहँ कहीं कतै पनि पढाई हुँदैन । फेरी पनि साधुवाद, फेरी पनि असीम शुभकामना डाँगी बालाई ।
अव डाँगीबाको कुरा सुनेपछि तपाईं हामी हाम्रो दैनिकीमा फर्कियौँ त । पढाईप्रतिको हाम्रो लगाव सम्झिऔँ त । के पढाईलाई उमेरले छेक्दो रहेछ र ? के पढाई गर्न ‘अण्डर थर्टी’ नै हुनुपर्दो रहेछ र ! हामी एक पटक सम्झौं त – उ बेलाको एसएलसी, अहिलेको एसईई । मात्र यहि परिक्षा सक्न पाए जीवनमा कति ठुलो राहत हुन्थ्यो भन्ने लाग्थ्यो तपाईंहामीमध्ये धेरैलाई । एसईई सकेर प्लस टु पढ्न जाँदा त धेरै विद्यार्थीहरुलाई आफु सो टोलको राजाझैं लाग्छ । सबैको कहानी यस्तै नभए पनि धेरैको कहानी यस्तै जरुर हुन्छ ।
प्लस टु सकिन्छ, विद्यार्थी ब्याचलर पढ्न थाल्छ । उ बेला ३ बर्षे हुने ब्याचलर अहिले अधिकांस कोर्समा ४ बर्षे छ । यहि ब्याचलर पढ्दा हो, विद्यार्थीलाई सबैभन्दा बढी तनाव हुने । यहि ब्याचलर पढ्दा हो साथीहरु विदेश गईसके, मेरो त एक्जाम दिंदा दिंदा जिन्दगी बित्ने भो भनेर मन विरक्तिने । यहि ब्याचलर पढ्दा हो, घरमा अधिकांस महिलाको विवाहको कुरा आउने । यहि ब्याचलर पढ्दापढ्दै हो, धेरैले पढाई छोड्ने । कतिले पढ्न नसकेरै पढ्न छोड्छन्, कतिले पढ्न सार्है अल्छी लागेपछि पढाई छोड्छन् । कतिले काम गर्नका लागि पढाई छोड्छन्, कतिले काम खोज्नका लागि पढाई छोड्छन् । कतिले ह्या अव त विवाह हुने भो, के पढ्नु भनेर पढाई छोड्छन्, कोहिले अव विवाहपछि दुलाहाले पढाउँछु भनेका छन् त्यसपछि पढ्छु भनेर पढाई छोड्छन् । कतिले पढ़नुचाहीं पर्छ, काम गर्दै पढ्छु भन्छन् र विस्तारै पढाई छोड्छन् । समग्रमा भन्दा अल्छीहरु अनेक बहानामा पढाई छोड्छन् । कनिकुथि ब्याचलर सकियो भने त माष्टर्स पढ्ने त झनै कम हुन्छन् । पढ्नेहरुमध्ये पास हुने झनै कम हुन्छन् । माष्टर्समा रेगुलर पास हुनेहरु खोज्नु त प्याज नखाने बाहुन खोजेजस्तै हो आजकल ।
हुन त पढ्ने पनि त्यहि पैसा कमाउन नै हो, अनि पैसा कमाउन नै थालिसकेपछि त के पढ्नु ! भन्ने तर्क पनि धेरैको छ र हुन्छ । तर ती दुई चार हजारले मातिएर पढाई छोड्ने पाटे अल्छीहरुका तर्क हुन् । पढाई फगत सर्टिफिकेटका लागि होइन, फगत जागिर खानका लागि एउटा कागज बनाउनका लागि होइन, बरु पढाई त जीवनको अंग हो भन्ने कुरा तपाईं हामीले बुझ्नुपर्छ । फेरी यहाँ कसैकसैको तर्क हुन्छ- त्यो ए प्लस बी होल स्क्वायर कहाँ काम लाग्यो त ? लाग्छ, जरुर लाग्छ । त्यो बुझ्न गरिएको मेहेनत अहिले जीवनमा गर्ने हो भने त्यो मेहेनतले फल दिंदैन र ! त्यहि ए प्लस बी होस् स्क्वायरको फर्मुला लगाएर हिसाब मिलाएजस्तो अहिले बेहिसाब बिग्रिएको जिन्दगीका कोलाजहरु मिलाउने हो भने जीवन सुन्दर बन्दैन र ! बन्छ, जरुर बन्छ । अहँ पढेको पढाई खेर जाँदैन, जाँदैजान्दैन । (भिडियो)
छुटाउनु भयो कि ?
एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !