Skip to content
LAXMI SUNRISE BANK

इसेवा मनि ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता

अर्थ सरोकार

काठमाडौं । इसेवा मनि ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । रेमिट्यान्स् भुक्तानी सम्झौता पत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले इन्जाज पेमेन्टको १५० शाखाहरु, पिओएस, किअस्कस्, वा मोबाईल एप र वेबसाईटबाट नेपालमा इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउन सक्नेछन् । साथै इन्जाज पेमेन्टबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरु तथा इसेवाका एक लाख भन्दा बढी क्यास पोइन्ट र ७५ लाख भन्दा बढि प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।

रेमिट्यान्स् भुक्तानी सम्झौता कार्यक्रममा बोल्दै एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ‘इन्जाज जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं । इन्जाजका भौतिक र डिजिटल च्यानलहरूको व्यापक लाभ उठाउँदै साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिट्यान्स सेवा प्रदान पाउँदा निकै हर्षित छौं ।’

यसैगरी कार्यक्रममा इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले भने, ‘इसेवा मनि ट्रान्स्फर नेपालको एक उत्कृष्ट रेमिटेन्स कम्पनी मात्र नभई एफवान सफ्ट ग्रुपको एक भगिनी संस्था पनि हो, जसले नवीनतम् फिनटेक सेवाहरु मार्फत नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई संस्थागत गरेको छ र हामी साउदी अरेबियामा रहेका नेपालीहरुलाई रेमिट्यान्स सेवा उपलब्ध गराउन इसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौं ।’

इन्जाजको मुख्य कार्यालय रियादमा आयोजित विशेष समारोहमा एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाको पनि उपस्थिति रहेको थियो ।

इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३ हजार,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

इन्जाज पेमेन्ट, साउदी अरेबियास्थित वित्तीय संस्थामा एक अग्रणी कम्पनी भएको जनाईएको छ । इन्जाज पेमेन्ट विश्वसनीयता र विप्रेषण करोबारको सुरक्षाका लागि प्रसिद्ध छ र विश्वभर २०० देशहरूका लाखौं मानिसहरूलाई छिटो र सहज रूपमा पैसा पठाउन र प्राप्त गर्न मद्दत गरिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK