×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसएसलसीमा फेल भएका चन्द्रमणि सिएमा यसरी भए सफल…

PRIME CA

एसएसलसीमा फेल भएका चन्द्रमणि सिएमा यसरी भए सफल…

अर्थ सरोकार

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार

काठमाडौं । कुनैबेला एसएलसीमा फेल भएको एउटा ठिटोले चार्टड एकाउन्टेन्सी पास गर्यो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । अझ त्यसमा पनि एसएलसीमा गणितमा फेल भएको मान्छे, पुरक परिक्षामा पनि उही गणित पास गर्न नसकेको मान्छेले अहिले सिएजस्तो कठिन मानिएको विषय पास गर्यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । गुल्मी स्थायी घर भएका चन्द्रमणि अर्यालले अन्ततः सिए पास गरेका छन् ।

एसएलसीमा गणित र विज्ञान विषय लागेर फेल भएका, पुरक परिक्षामा समेत पास हुन नसकेका र अर्कोपटक एसएलसी कटाएका अर्यालले कक्षा ११मा समेत बाबु बितेका कारण ३ वटा परिक्षा हाप्नु परेको थियो । सरकारी विद्यालयको पृष्ठभूमि भएकै कारण अंग्रेजीमा समेत कमजोर रहेका अर्यालले अन्तत दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इण्डिया (आइसीएआई)बाट सिए उतिर्ण गरेका छन् । एसएलसीमा फेल भएपछि जीवन नै सकियो भनेजसरी निराश भएकाहरुका लागि वा प्लस टु वा कुनै पनि परिक्षामा राम्रो अंक आएन भनेर निराश भएकाहरुका लागि उनी प्रेरणाका स्रोत बन्न सक्छन् । फलामको च्युरा चपाएजस्तो मानिने कोर्स पास गरिछाडेका उनले जीवनमा गर्न नसकिने के रहेछ र भन्ने तथ्यलाई पुनः एकपटक प्रमाणित गरिदिएका छन् । निरन्तरको लगनशीलता र गर्छु भन्ने अठोट भए, बाटोमा लाग्ने अनेकन चोटहरु फगत यात्राका साक्षी मात्र हुने रहेछन्, अर्यालको जीवन संघर्षका अनेकन अध्यायले सिकाएको अभूतपूर्व पाठ यहि हो ।

चन्द्रमणि अर्यालले बिक्रम सम्बत २०६६ सालमा एसएलसी दिए, तर दुई विषयमा फेल भए । त्योबेला दुई बिषयमात्र फेल हुनेले पुनः परिक्षा दिन पाउँथ्यो । तर पुरक परिक्षामा पनि उही गणित र विज्ञान विषयले माया मार्यो । त्यसपछि उनले अर्को बर्ष परिक्षा दिए, सेकेन्ड डिभिजनमा पास भए । कम अंक आएकै कारण राम्रा कलेजले उनलाई पत्याएन, भर्ना गर्न मानेन । र पनि पावर नै लगाएर भए पनि उनी काठमाडौँस्थित ट्रिनिटी कलेजमा भर्ना भए । कक्षामा सबैजसो स्कुल टपरहरु थिए । र त आफ्नो अंकले कताकता आफैंलाई बिझाएझैं हुन्थ्यो उनलाई । त्यसैले पनि, उनी आफ्नो मार्कशिट कसैलाई देखाउँदैनथिए । साथीहरु नभएको बेला पारेर परिक्षाको फर्म भर्थे । कक्षा ११ को परिक्षा दिने बेला बाबु बितेपछि उनले ११ कक्षामा पनि ३ वटा परिक्षा छोड्नुपर्यो । तर मनमा आँट भएपछि र गर्छु भन्ने विश्वास भएपछि नसकिने केहि रहेनछ । उनले कक्षा १२ र छुटेको ११ कक्षाका परिक्षा पनि सबै पास गरे ।

प्लस टु पछि के गर्ने ? उनी दोधारमा थिए । कताकता सिएका बारे सुनेछन् चन्द्रमणिले र आफ्ना दाजुलाई सुनाए, म सिए पढ्छु भनेर । दाजुले सिएको कोचिङ्गमा भर्ना गरिदिएपछि उनी प्रायः धेरैले असम्भव सोचेको यात्रामा होमिए । सरकारी स्कुलको पृष्ठभूमि भएकाले अंग्रेजी गाह्रो हुने नै भयो । गणित त एसएलसीमै फेल भएको यसै गाह्रो हुने नै भयो । तर पढ्दै गर्दा उनले बुझे, म एसएलसीमा नपढेरै फेल भएको रहेछु । अंग्रेजी मात्र गाह्रो रहेछ, गणित त मेरो नशानशामा रहेछ । हुन त सिएको पढाई पनि सहज भएन । साँढे ४ बर्षको कोर्स सक्न ७ बर्ष लाग्यो, कतिपटक फेल भईयो, र पनि इतिहास दर्ज गरेरै छोडे चन्द्रमणिले । र आज उनी गर्वका साथ भनिरहेका छन्, ‘जीवनमा लगनशीलता भए नसकिने केहि रहेनछ, प्रमाण म स्वयम् यहीँ छु ।’

बाँकी भिडियोमा:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: