×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको नक्कली कर्मचारी बनेर ग्राहकमाथि फिल्मी शैलीमा लुट ! (भिडियो ब्रिफिङ)  

अर्थ सरोकार

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार

PRIME CA

एनआईसी एशिया बैंकको नक्कली कर्मचारी बनेर ग्राहकमाथि फिल्मी शैलीमा लुट ! (भिडियो ब्रिफिङ)  

काठमाडौं । हुन त सत्ताधारी दलका जिम्मेवार नेताको गर्धनमाथि दिनदहाडै पत्रकार सम्मेलन भएको ठाउँमा नै प्रहार हुने देशमा जनता सुरक्षित छन् वा हुन्छन् भनेर आशा गर्नु बेकार हो । र पनि दिन दहाडै बैंकहरुमा जनता लुटिन थालेका छन् । पैसा झिकेर घर फर्कन लागेकाहरुलाई गुमराहमा पारेर पैसा चोरेर भाग्ने गिरोह सक्रिय बन्न थालेको छ । बैंकमा गएर पैसा झिक्न नै डरमर्दो भएको छ । पैसा राख्न जाँदा बैंकबाटै कसैले लुटिदेला वा बैंकबाट पैसा झिकेर घर फर्कँदा नै कसैले पिछा गरेर सो पैसा चोरिदेला, खोसिदेला, लुटिदेला भन्ने पीर मान्नुपर्ने स्थिति आएको छ । महोत्तरीको एनआईसी एशिया बैंकमा पनि यसपालि यस्तै भयो । बैंकबाट पैसा झिकेर घर जानै लाग्दा एक महिला लुटिएकी छिन् । र यो लुटको कहानी कुनै फिल्मको कहानी भन्दा कम छैन ।

घटना महोत्तरीको हो । गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती ज्वाइँले पठाइदिएको पैसा लिन एनआईसी एशिया बैंक पुगे । ओखलढुंगामा रहेका ज्वाइँले पठाइदिएको ६ लाख ३६ हजार रुपैयाँ लिएर उनीहरु बैंकबाहिर आए । घर फर्किंदै गर्दा मोटरसाइकलमा आएका एक व्यक्तिले उनीहरुलाई रोके । ती व्यक्तिले आफू एनआईसी एशिया बैंककै कर्मचारी भएको र बैंकमा औंठाछाप छुटेछ, अरु केहि कामहरु बाँकी छ भनेर आफूसँग हिड्न भन्यो । बैंककै कर्मचारी हुँ भनेपछि उनीहरुले पत्याए । मोटरसाइकलमा २ जनामात्र अट्ने हुनाले शम्भु महतो त्यहीँ बसे र उनकी श्रीमती ती व्यक्तिसँग बैंक पुगेर आउने भनेर गए । तर ती कर्मचारी बैंकर थिएनन्, बरु लुटेरा थिए । केही अगाडि गएपछि ती व्यक्तिले महतोकी श्रीमतीलाई बाटोमै छोडिदिए र पैसा खोसेर भागे ।

बैंकको कर्मचारी बताउने व्यक्तिले पैसा लिएर भागेपछि पीडीतले हारगुहार गरिन् । पछि बुझ्दै जाँदा थाहा भयो, ती व्यक्ति बैंकको कर्मचारी नभएर लुटेरा रहेछन् । उनको काम नै मान्छेको पिछा गर्ने र पैसा लुट्ने रहेछ । तर जव यो कुरा थाहा भयो, त्यतिन्जेलसम्म ढिला भइसकेको थियो । बैंकबाट झिकिएको रकम लुटेराको हातमा परिसकेको थियो । अहिले महतो दम्पत्ति पीरमा छन् । आफुले पाउनुपर्ने लाखौँ रुपैयाँ लुटेराले बैंकको कर्मचारी हुँ भन्दै चोरेपछि उनीहरुमाथि ठुलो बज्रपात परेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार पैसा झिकेर घर जान लाग्दै गर्दा महतो दम्पत्तिबाट रकम लुटिएको हो । पैसा झिकेर फर्किदै गर्दा बीच बाटोमा एक युवकले बैंकको मान्छे हुँ,  बैंकमा डकुमेन्टको काम बाँकी छुटेछ भन्दै पैसाको झोला बोकेकी बुढी आमालाई बाइकमा बसाएर लगेको र पैसा लुटेको बताउँछन् । 

प्रहरीका अनुसार यसरी पैसा लुट्ने व्यक्तिको पहिचान खुलिसकेको छैन । प्रहरीले लुटेरा सवार मोटरसाइकलको नम्बर भने पहिचान गरिसकेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अहिले देशभर यसरी लुटेराहरुको ग्याङ्ग सक्रिय छ । कसैले सिक्री लुट्छन्, कसैले पैसा लुट्छन् । यसो त दशैँको मुखमा यस्ता लुट र चोरीका घटना बढ्छन् नै । आजकल त अलि फरक शैलीको लुट देखिन थालेको छ । बैंकका कर्मचारी बनेर, साथीको साथी बनेर, नक्कली प्रहरी बनेर, नक्कली कर्मचारी बनेर जनता लुट्ने क्रम जारी छ ।

यसो त यो प्रकरणमा स्वयम् बैंकका कर्मचारी संलग्न छन् वा छैनन् भन्ने विषयमा प्रहरीको अनुसन्धान पछि नै थाहा होला । तर स्मरण रहोस्, यसअघि लुटको नाटक गरेर एनआईसी एशिया बैंकका कर्मचारीले नै बैंकको पैसा अपचलन गरेका थिए । बानेश्वर शाखाबाट पैसा लुटिएको भन्दै बैंककै कर्मचारीले नाटक गरेर लाखौँ रुपैयाँ झ्वाम पार्न खोजेका थिए । पछि प्रहरीले निजलाई पक्राउ गरेको थियो । आइतबार घटेको महोत्तरीको घटनामा पनि बैंककै कर्मचारीको मिलेमतो छ वा छैन भन्ने विषयमा प्रहरीको अनुसन्धान जारी छ ।

एनआईसी एशिया बैंकबाट कसैले पैसा निकाल्दैगर्दा ती ग्राहकको पिछा गर्ने को थिए र उनीहरुले किन एनआईसी एशिया बैंककै ग्राहकको पिछा गरे होलान् ? सामान्यतया ५ लाख भन्दा बढी क्यास विथड्र गर्ने कम हुन्छन् बैंकमा । आजकल धेरैले चेकबाट नै कारोबार गर्छन् । तर झन्डै साँढे ६  लाख रुपैयाँ झिकिएको सुराकी लुटेरालाई कसले दियो ? बैंककै कर्मचारी हुँ भनेर कसैले ग्राहकको पैसा लुट्दा पनि फलानो हाम्रो बैंकको कर्मचारी होइन भनेर बैंकले अझैसम्म सार्वजनिक रुपमा भनेको छैन । यसले पनि बैंकमाथि नै प्रश्न उठाउने ठाउँ नरहेको स्थिति छैन । सम्बन्धित बैंक यस विषयमा गम्भीर हुनुपर्छ।    

अर्को महत्वपूर्ण तथ्य के हो भने, अहिलेको यो जमानामा पनि हामी क्यास कारोबार गरिरहेका छौँ । अव कारोबारको यो शैलीलाई हामीले पनि बदल्नुपर्छ । चेकबाट कारोबार गर्दा न पैसा हराउने डर हुन्छ, न लुटिने । यसतर्फ तपाईं हामी सचेत हुनुपर्छ । भलै मोबाइल बैंकिङलाई पनि भरोसा गर्ने स्थिति नबन्दा ग्राहकले क्यास कारोबार नै रोजिरहेको यथार्थतालाई पनि बैंक र नियामक निकाय नेपाल राष्ट्र बैंकले बुझ्नुपर्छ । वित्तीय साक्षरताका नाममा बैंकहरुले करोडौं उडाउँदा पनि चुप लाग्ने राष्ट्र बैंकले तराईका जिल्लाहरुमा महतो दम्पत्तिजस्ता जनतामाझ वित्तीय सचेतना पुर्याउन जरुरी छ । 

सँगै, यो देशको गृह प्रशासन पनि यस्ता घटना प्रति गम्भीर हुन जरुरी छ । दशैँको मुखमा बैंकबाट ग्राहक लुटिएका छन्, बाटोबाट जनताका सिक्री लुटिएका छन्, बसमा पर्स चोरिएका छन्, बसपार्कमा मोबाइल खोसिएका छन् । अनि यस्तो अवस्थामा सबै ठिक छ भनेर प्रशासन बसिरहेको छ, तर केहि पनि ठिक छैन । अनि हामी स्वयम् पनि यस्ता घटनाहरुबाट जोगिन सचेत हुनुपर्छ ।

हामी फेरी पनि भन्छौँ, दशैँको मुखमा लुटेराहरुको ग्याङ्ग सक्रिय छ । त्यसैले सकेसम्म ठुलो पैसा बोकेर नहिद्नुहोला । बैंकबाट सकेसम्म ठुलो क्यास नाझिक्नु होला । सकेसम्म चेकबाट नै कारोबार गर्नुहोला । मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ प्रयोग गर्नुहोला तर यस्ता चीज प्रयोग गर्दा कसैले बैंकबाट फोन गरेको ओटिपी दिनुहोस् भन्यो भने नदिनुहोला । बैंकका कर्मचारी बाटोमा आएर काम बाँकी रहेछ भन्दैनन्, त्यस्ता ठगहरुको कुरा नसुन्नुहोला । कसैले म बैंकको कर्मचारी हो, यसो गरौँ र उसो गरौँ भनेर बीचबाटोमा भन्यो भने गुहार माग्नुहोला, प्रहरीको सहयोग लिने प्रयास गर्नुहोला । सबैभन्दा सजिलोचाहिं सकेसम्म क्यासको कारोबार नै नगर्नुहोला ।

एनआईसी एशिया बैंकमा भएको यो लुटको घटनाको सत्यतथ्य बाहिर आओस्, दोषी नउम्कियोस । महतो दम्पतिमाथि न्याय होस् । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: