×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जताततै सेयर बजारको चर्चा, हुन लागेकोचाहिँ के हो ? (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार

PRIME CA

जताततै सेयर बजारको चर्चा, हुन लागेकोचाहिँ के हो ? (भिडियो)

काठमाडौँ । आजकल सेयर बजारको जताततै चर्चा छ । ३२०० मा बेचेर अहिले सम्म नकिन्नेहरु अव त किन्ने बेला आयो कि क्या हो भनेर चर्चा गरिरहेका छन्, ३२०० मा फस्नेहरु अव उक्सिन कति समय लाग्ने हो भनेर चर्चा गरिरहेका छन्, ३२०० मा उम्केर पनि २५०० मा फेरी फस्नेहरु, बढी बाठो भईएर डुबियो, अव कहिले उक्सिएला भनेर चर्चा गरिरहेका छन्, अनि बजार १८०० पुग्दा पनि सेयर नकिन्नेहरु बजार त १६०० आउला भनेको नआउने भयो, बेलैमा किनिएनछ भनेर थक्क थक्क गर्दै बजारको चर्चा गरिरहेका छन् ।

गाडी बेचेर सेयर किनेकाहरुको अहिले भएको पोर्टफोलियो पूरै बेच्दा मोटरसाइकल पनि नआउने भएपछि सावाँ त आओस, म कहिल्यै यो बजारमा लाग्दिन भनेर भए पनि सेयर बजारको चर्चा गरिरहेका छन्, अनि यो बजार घटे पनि, बढे पनि बजारमा नाफा कमाउन सिपालुहरु, उ बेला बढ्दा कमाइयो, अव घटेका बेला पनि कमाउने हो भनेर बजारबारे चर्चा गरिरहेका छन् । अझ त्यसमाथि नेपाल राष्ट्र बैंकले सेयर कर्जामा राखेको १२ करोडको सिमा हटाउने कुराले त झन् बजारको चर्चा निकै बढाएको छ । अझ जीवनमा १२ करोडको सेयर कारोबार गर्ने कल्पनासमेत नगरेका साना लगानीकर्ताहरु, १२ करोडको क्याप हटे ठुलाले सेयर किनिदिन्छन्, बजार बढ्छ र मैले नाफा गर्छु वा घाटा कम गर्छु भनेर मख्ख पर्दै सेयर बजारबारे चर्चा गरिरहेका छन् । हुन पनि बुल बजारमा भुल गरेर, कुलकै सम्पत्ति सकेर घाटाको चंगुलमा परेकाहरु, बजार बढोत्तरीको मूलबाटो हेरिरहेछन् । र त कुनै बेला ३ बजेपछि बारमा भेटिने नयाँ लगानीकर्ताहरु अहिले चिया पसलमा चिया र उधारो दुनोट खाँदै भनिरहेका छन्, अव त बजार बढ्छ, बढ्छ ।

हुन त सेयर बजार दशैंको चिनीको भाउ होइन, जहिले पनि बढ्नलाई, तर यसपाली नमज्जासँग घटेको सत्य हो । पत्तै नपाई बुलिस चक्र सकिएपछि, धेरै लगानीकर्तालाई आफ्नो पैसा पनि सकिएको पत्तो भएन । ६४ हप्ता बढी अहिलेको बजार साइडवेजमा छ, बढ्ने आशा छ तर भर छैन, अझै घट्ने डरबाट उन्मुक्ति छैन, दशैं आईसक्यो पैसा छैन, बजार घट्यो भन्ने तनाव त छँदै छ, घटेको बेला किन्न पाइएन भनेर झन् बढी चिन्ता छ । यस्तै हद भएर होला, जनताको पीडा देखेर होला नेताहरु पनि सेयर बजारबारे खुलेरै बोल्न थालेका छन् । सेयर बजारलाई कसेर, मौद्रिक नीतिले डसेर बर्बादीको बाटोमा लैजाने राष्ट्र बैंक नै हो भनेर नेताहरु खुलेआम भन्न थालेका छन् । आफ्ना कार्यकर्ताहरु मात्र होइन, आफ्नै पोर्टफोलियो रातो होइन रा.‘.तो भए पछि नेताहरु पनि खुलेरै आफ्नै पार्टीले चुनेका गभर्नरको विरोध गरिरहेका छन् । के कांग्रेसी अर्थमन्त्री, के माओवादीका नेता, के एमालेका पूर्वअर्थमन्त्रीहरु, के रास्वपाका सांसद, सबैले सेयर बजारबारे खुलेरै बोल्न थालेका छन्, राष्ट्र बैंकको पोल खोल्न थालेका छन् ।

यता आजकल खाना भन्दा बढी गाली खानुपरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि सेयर धितो कर्जालाई खुकुलो बनाउने तयारीमा छन् । एमालेहरुले नै खुलेर सेयर कर्जाको सिमा गलत हो भन्न थालेपछि, काँग्रेसका अर्थमन्त्रीले हामीले त सबै कुरा गर्न खोजेकै हौँ गभर्नरले मानेनन् भन्ने शैलीको अभिव्यक्ति दिन थालेपछि अनि, रास्वपाका नेताले भेटेर दबाब दिन थालेपछि गभर्नर अहिले सेयर कर्जाको सिमा परिमार्जनको तयारीमा छन् । बजार बुलिस हुँदा राष्ट्र बैंकको नीतिले जवर्जस्ती सेयर बेच्नु परेका तर भाग्यमानी ठहरिएकाहरु अहिले सस्तो मूल्यमा सेयर किन्न पाइन्छ भनेर कर्जाको सिमा बढोत्तरीको पर्खाईमा छन् । हिजो राष्ट्र बैंकले ४-१२ को नीति ल्याउँदा पनि फाइदा तिनै ठुला खेलाडीलाई भयो, अव सस्तोमा सेयर किन्ने अवसर पनि तिनलाई नै छ । साना लगानीकर्ता तिनै ठुलाले सेयर उठाईदिएपछि बजार बढ्छ र नाफा कमाउँछु भनेर बसिरहेका छन्, जुन अस्वाभाविक हुँदै होइन । हिमाल चढ्नुको आनन्द कि चुचुरोमा हुन्छ, कि हिमालको चर्चा फेदमा पछारिएपछि हुन्छ भनेजस्तै अहिले बियरिस बजारले उत्तानो पारेर पछारेको समयमा सेयर बजारको निकै चर्चा भईरहेको छ । र हरेक बियरिसको अन्त्य र बुलिसको उत्तरार्धमा यस्तै चर्चा परिचर्चा बढी देखिन्छ ।

हुन त बजारमा मन्दी छ, ब्याजदरको पिरलो उस्तै छ । र पनि नेपाल राष्ट्र बैंकले सेयर कर्जा खुकुलो पार्दा त्यसले बजारलाई थोरै भए पनि लयमा ल्याउने पक्का छ । नेपाल राष्ट्र बैंकले अव ढिलो नगरी सेयर कर्जा खुकुलो बनाईदिने हो भने बजारमा केहि भए पनि भोलुम बढ्छ । समग्रमा यसले बजारलाई केहि उचाल्छ, साना लगानीकर्ताले खोजेको, ठुलाले रोजेको अवको बजारको सम्भावित यात्रा पनि यहि हो । हुन त सेयर बजार हो, यो जोखिमको क्षेत्र हो, यो बजारमा कसैका कुरा सुनेरमात्र लगानी गर्नु घातकमात्र होइन महाघातक हुन्छ, र पनि क्षितिजमा सुनौलो प्रकाशले केहि भनेजस्तै, राष्ट्र बैंकको सकारात्मक पहलले केहि गर्न खोजेजस्तै, बियरिसको नमज्जाको चक्रले बिदाई लिन खोजेजस्तै, बुल दौडिन तयार भएर उठ्न खोजेजस्तै, केहि सम्भावनाका रेखाहरु देखिंदैछ । फेरी पनि दुध पाल्न त दुहुनो गाई नै पाल्नुपर्छ, थाराहरुलाई बेच्नुपर्छ, यति नजाने बजार बढे पनि घाटा, बजार घटे त यसैउसै घाटा । हरेक लगानीकर्ताले यस विषयमा अव गम्भीर भएर सोच्नुपर्छ ।

सेयर बजार जोखिमको क्षेत्र हो, यहाँ पैसा कमाउन सोचेजस्तो, खोजेजस्तो र सुनेजस्तो सजिलो छैन । यो एउटा बाठोले अर्को बाठोलाई तँ भन्दा म बाठो भनेर प्रमाणित गर्ने क्षेत्र हो, त्यसैले बाठो पनि लड्ने यो मैदानमा बाठो ठहरिन सजिलो छैन । सेयर बजार सम्भावनाको क्षेत्र पक्कै हो, तर माछा भनेर भ्यागुतो भिडाईदिने भीडमा जोगिन सक्नुपर्छ । धैर्यता र अध्ययनमा ध्यान दिए, र आफैंले आफैंलाई ज्ञान दिए, फेसबुकका रोइलो नसुने, क्लब हाउसका कचकच तिर ध्यान नदिए, सेयर बजार सुन्दर होइन अत्यन्तै सुन्दर छ । तर उही फलानो मामाले भनेर किनेको, फलानोले बढ्छ भनेर पैसा हालेको, फलानोले उचाल्ने रे भनेर रिस्क लिएको, फलानोले टार्गेट सेट गरेको छ भनेर उसैका पछि लागेकोजस्तो व्यवहार गर्नेहरु ढिलो चाँडो फस्ने नै हुन् ।

सजग भएर, संयम भएर, अध्ययनशील भएर सेयर बजारमा लागे तपाईंको भविष्य उज्ज्वल छ । नत्र त उही हाइड्रो भनेर कुलोमा लगानी गर्नेहरु, फाइनान्स भनेर सत्यानासमा पैसा खन्याउनेहरु, बैंक भनेर रित्तो टैङ्कमा धन लगाउनेहरु, बीमा भनेर बिग्रेको किमामा मन लगाउनेहरु डुब्ने नै हुन् । कम्पनी चिनेर, मूल्य किटेर, संयम भएर, अध्ययन गरेर सेयर किन्नेहरु त बुलमा यसै धनी थिए, बियरिस बजारमा पनि गरिब भएका छैनन् । बाँकी त तपाईंको पैसा तपाईंको लगानी, तपाईंले किन्ने, तपाईंले बेच्ने, नाफा भए पनि तपाईंको, घाटा भए पनि तपाईंको, त्यसैले मर्जी पनि तपाईंकै, हुकुम पनि तपाईंकै । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: