×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तथ्य र तथ्यांकले भन्छ- ‘यस्तै हो भने देश टाँट पल्टिदैछ, दुर्गा प्रसाईंको भविष्यवाणी मिल्दैछ’ (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार

PRIME CA

तथ्य र तथ्यांकले भन्छ- ‘यस्तै हो भने देश टाँट पल्टिदैछ, दुर्गा प्रसाईंको भविष्यवाणी मिल्दैछ’ (भिडियो ब्रिफिङ)

काठमाडौँ । केहि समय अघि व्यवसायी दुर्गा प्रसाईंले देश सिद्धियो, दशैंपछि काठमाडौँ खालीजस्तै हुन्छ, काठमाडौँका सटरहरु आधि बन्द हुन्छ भनेर बोल्दा धेरैले उनलाई अराजक भने । हुन पनि अर्थतन्त्र उक्सने आशाको त्यान्द्रो खोजिरहेकाहरुका लागि उनको भाषण झन् कमजोर बनाउने खालको थियो । तर उनले भनेको जस्तै ठ्याक्कै नभए पनि यो देशको आर्थिक स्थिति डरलाग्दो रुपमा नाजुक भईसकेको छ । प्रसाईंले भनेजस्तै व्यापारीहरु विदेश पलायन भईरहेका छन्, काठमाडौँ लगायतका शहरहरु एक एक गरी बन्द भईरहेका छन्, दशैंमा पनि सोचेको व्यापार नभएपछि काठमाडौँका धेरै पसलहरु बिक्रीमा छन् । र देशका हरेक सूचक, तथ्य र तथ्यांकले पनि यहि बोल्छ, अव पनि सरकार सिरियस नभए यो देशको अर्थतन्त्र थप जटिल हुने पक्कापक्की छ ।

यो देशको आर्थिक स्थिति ठिक अवस्थामा छैन भन्ने तथ्य बुझ्न केहि तथ्यांकहरु केलाउँ । चालु आर्थिक बर्षको गत सातासम्म उठेको राजश्व जम्मा रु. २ खर्ब २८अर्ब छ । जवकी यो देशको प्रशाशनिक र चालु खर्च सोहि अवधिमा २ खर्ब २६ अर्ब छ, र, विकास तथा पुजककीगत खर्च २६अर्ब छ । देशको समग्र आम्दानी ऋणसहित २ खर्ब ४४ अर्ब छ भने कुल खर्च ३ खर्ब ३ अर्ब छ । अर्थात यो अवधिमै देशको कुल घाटा करिब ६० अर्ब पुगिसकेको छ । यो तथ्यले अव देश धान्न नै नसकिने अवस्थामा पुग्दैछ भन्ने संकेत गर्छ । अझ त्यसमाथि प्रदेश सरकार झन् बोझको रुपमा देखिएको छ । देशमा चरम भ्रष्टाचार छ, उत्पादन नगन्य छ, निरियातको आंकडा कमजोर र हामी उही रेमिट्यान्सको भर परिरहेका छौँ । यसले देशको आर्थिक स्थिति ठिक छैन र अव सार्है बढी गम्भीर हुनुपर्ने दिन आयो भन्ने संकेत गर्छ ।

अझ यो देशका साधारण व्यापारीहरुको कथा झन् कारुणिक छ । नेपालीहरुको महान चाड दशैँका समयमा पनि अपेक्षित व्यापार नभएपछि देशभरका व्यापारिक सटरहरुमध्ये ५० प्रतिशत बन्द भएका छन् । नेपालमा सोचेजस्तो व्यापार नहुनु, भाडा तिर्न नै पैसा नपुग्नु, कतिपय ठाउँमा चाडबाडका समयबाहेक अन्य समयमा बोहोनीसमेत नहुनु, रोजगार गुम्दै जानु, सहकारीबाट प्रवाह हुने गरेको साना ऋण सहकारी भाग्ने क्रम बढेसँगै रोकिनु, बर्सेनि भन्सार दर बढ्नु, बैंकहरूले साना तथा मझयौला व्यवसायीहरुलाई नपत्याउनु, बैंकहरुले सहज रुपमा पसलहरुमा लगानी नगर्नु, लगायतका कारणले विभिन्न व्यवसायिक सटरमा लगानी गरेकाहरु विदेश पलायन भईरहेका छन् भने नेपालमै व्यवसाय गरिरहेकाहरु पनि चरम संकटमा छन् । व्यापारीहरुका अनुसार काठमाडौँ लगायतका मुख्य शहरहरुमा संचालित व्यवसायिक सटरहरुमध्ये अधिकांश बिक्रीमा राखिएका छन् । कतिपयत आफ्नो समानको मूल्य तय गरी सोहि मूल्यमा सटर बेच्नसमेत तयार भएका छन् । जवकी सो सटर पाउनकै लागि कुनैबेला व्यवसायीहरुले ५० लाखसम्म सलामी तिर्ने गरेका थिए । यसो त व्यवसायीहरुको महासंघ नेपाल राष्ट्रिय व्यवसायी महासंघलेसमेत देशभररहेका ५० प्रतिशत व्यवसायिक सटरहरु बन्द रहेको दाबी गर्छ । महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवालका अनुसार गत बैशाखमै झन्डै ३५ प्रतिशत सटरहरु बन्द भईसकेका थिए भने दशैंको व्यापारपनि सोचेअनुसार नभएपछि सो संख्या झन् बढेको छ । तिहारपछि यो संख्या झन् बढ्ने उनको तर्क छ ।

यता बजारमा स्थिति कहालीलाग्दो भए पनि घरधनीहरुले भाडा बढाउन छोडेका छैनन् । यहि कारण पनि धेरै व्यवसायीहरु पलायन हुने सोचमा छन् । सहकारीले ऋण दिंदैन, घराभेटीले एक रुपैयाँ पनि छोड्दैन् । अझ भाडा बढाउने कुरामात्र गर्छन् । एक त स्टाफ पाइन्न, स्टाफ पाए पनि पाल्ने स्थिति छैन । ग्राहकहरुमा क्रय शक्ति नै घटेको छ, अनि कसरी बढोस् व्यापार ? अनि यसरी कहिलेसम्म चल्ने हो वा चलाउनुपर्ने हो व्यापार ?

धेरैको अपेक्षा थियो, दशैंले बिग्रेको अर्थतन्त्रलाई राम्रो लयमा ल्याउनेछ । तर अहँ, केहि दिन चलायमानजस्तो देखिए पनि दशैंले सोचेजस्तो चलायमान बनाएन वा बनाउन सकेन देशको अर्थतन्त्रलाई । बाजारमा मान्छेको भीड देखिए पनि महंगा सामान किन्नेहरु देखिएनन् । नेपालीहरु सटरका सामान भन्दा पनि सेलमा लागेका सस्ता कपडाहरुतिर आकर्षित भए । जनताकै क्रयशक्ति घटेकाले व्यापारीहरुको व्यापार दशैँमा पनि तंग्रिएन । बरु दशैँसम्म त यहि दशैंको आश थियो, अव त यहि पनि सकियो भनिरहेका छन् व्यापारीहरु ।

भुँईमान्छेका कथा झन् यतिसम्म कारुणिक छन् कि शहरमा डेरा भाडा तिर्न नसकेर दशैंको बहानामा भाग्नेहरु बढेका छन् । मन्दीका कारण घरभाडा नबुझाई दशैँको बहानामा घर गएर नफर्किने सन्देश पठाउनेहरुको बढेको संख्याले यसलाई पुष्टी गर्छ । दशैँको बहानामा भएका कपडा, भाँडाकुँडा लगायतका समान पोको पारेर घर जाने, र घर पुगेपछि विभिन्न नम्बरबाट वा सार्वजनिक फोनबाट घरभेटीलाई आफु नआउने सन्देश दिनेहरु बढेका हुन् । किर्तिपुर, कोटेश्वर, लगायतका ठाउँहरुमा यस्ता घटना बढी देखिएका छन् ।

पछिल्लो समय सतहमा आएका केहि उदाहरणहरु यो तथ्यलाई बुझ्न काफी छ । दशैँमा जाँदैछौँ, फर्केलगत्तै घरबाट पैसा ल्याएर भाडा दिन्छौँ भनेर घर पुगेकाहरु माफ गर्नूस् घरभेटी बा, भाडा तिर्न सकिन, काठमाडौँ फर्केर आउँदिन, ढोकामा लगाएको तालाको चाबी जुत्ता राख्ने र्याकमा छ, खोलेर अरुलाई दिँदा हुन्छ’ भनेर खबर पठाईरहेका छन् । ३ देखि ९ महिनासम्मको भाडा नतिरेर अहिले यस्ता मेसेज पठाउनेहरु बढेका छन् । दशैं सकिएसँगै काठमाडौँ महानगर लगायतका निकायमा यस्ता उजुरी गर्ने घरभेटीको संख्या पनि बढेको छ ।

गत बर्षहरुमा जसरी दशैंमा काठमाडौँ खाली हुन्थ्यो र दशैं सकिएसंगै जसरी काठमाडौँ फेरी भरिन्थ्यो, यसपाली दृश्य त्यस्ता देखिएका छैनन् । दशैंको बाहानामा काठमाडौँ छोडेकाहरुमध्ये झन्डै १० प्रतिशत मानिसहरु काठमाडौँ नफर्कने मुडमा देखिन्छन्, काठमाडौँबाट बाहिरिने भर्सेस काठमाडौँ भित्रनेहरुको संख्या दाँजेर हेर्दा पनि यो तथ्य पुष्टी नजिक देखिन्छ । काठमाडौँमा देखिएको महंगी, आर्थिक मन्दी, धेरैको जागिर गएको अवस्था र व्यापारले व्यवहार धान्न नसकेको अवस्थाका कारण पनि धेरैले दशैँको बहानामा कोठा छाडेको देखिन्छ । यसो त व्यक्तिगत डेरामा मात्र होइन धेरै पसलहरुमा पनि यस्तै भईरहेको घरभेटीहरुको अनुभव छ । भाडा तिर्न ७ महिनाको १ लाखका दरले ७ लाख छ, पसलमा सामान त त्यहाँभन्दा बढीको छ, तर कसले किन्ने ? र त केहि यस्ता घटनाहरु पनि सार्वजनिक भएका छन् जहाँ पसल छोडेर हिंडेकाहरुले’ २५ लाखको सामान छ, बेचिदिए हुन्छ’ भनेर घरभेटीलाई सन्देश छोडेका छन् । एक त कसैले किन्नु र सामान बेच्नु, अर्को अर्काको सामान कसरी बेच्नु ? घराभेटीहरुको समस्या पनि सानो छैन ।

यसो त यसरी डेरामा ताला लगाएर जाने तर नफर्कनेहरुको संख्या यसअघि पनि उल्लेख्य थियो । डेरावालहरु भाडा नतिरी भागेको भन्दै कोठा खाली गरिदिन काठमाडौँ महानगरमा उजुरी गर्नेहरुको संख्या दशैँअघि पनि उल्लेख्य थियो । तर दशैँको अवसरमा यो क्रम झन् बढेको छ । स्वयम् महानगरका कर्मचारीहरु दशैँपछि दिनप्रतिदिन यस्ता उजुरीको संख्या बढ्ने अनुमानमा छन् ।

तर देशको अर्थतन्त्र यो हदसम्म दर्दको स्थितिमा पुगिसक्दा पनि न सरकारलाई मतलव छ, न प्रतिपक्षलाई । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र स्वयम् प्रधानमन्त्री प्रचण्ड आफ्नो सरकारले अर्थतन्त्रलाई लयमा ल्याउन प्रयासरत रहेको र अर्थतन्त्रमा सुधार देखिएको गफ छाँटिरहेको छ । तर तथ्य र तथ्यांक प्रधानमन्त्रीको दाबी भन्दा फरक देखिन्छ । प्रतिपक्षीको भूमिका पनि खास गतिलो देखिंदैन । नयाँ पार्टीहरु मिसन ८४ भनेर दिनदिनै कार्यक्रम गरिरहेका छन् तर नागरिकहरु ८४ सम्म यो देशमा बस्ने स्थिति हुन्छ कि हुँदैन भन्ने तनाव छन् । अनि परिणाम, न्युरोडमा देखिनुपर्ने भीड त्रिभुवन विमानस्थलमा देखिईरहेको छ । सरकारले कहिले बुझ्ने हो थाहा छैन, तर सत्य, अझ भनौँ निर्मम सत्य यहि हो कि नेपालीहरु विदेश गईरहेका छैनन्, बरु देश छोडिरहेका छन् । नागरिकहरुलाई प्लेनका प्लेन विदेश उडाएर, देश छोडाएर, व्यापारी रुवाएर, जनता तड्पाएर नेताहरुले कसका लागि कहिलेसम्म र किन राजनीति गरिरहेका छन् थाहा छैन । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: