काठमाडौँ । देशभित्रै सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा.महतले सुझाव दिएका छन् । बदलिदो अवस्थालाई मध्यनजर गर्दै देशभित्रै सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम प्रदान गर्न अर्थमन्त्री महतले सुझाव दिएका हुन्।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको स्थापनाको नवौं वर्ष पूरा भएको अवसरमा सिपमूलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफल कार्यक्रममा महतले यस्तो सुझाव दिएका हुन् । उनले भने, ‘नयाँ प्रविधि भित्रिरहेको छ, त्यसलाई पनि मध्यनजर राखेर सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ठ बनाएर सम्भावना खोज्दा राम्रो हुनेछ ।’
नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको अर्थमन्त्री डा.महतले बताएका छन् । उनले भने, ‘ठूलो संख्यामा युवाहरु विदेशिएका छन् । विदेशिएका युवाहरु पनि दक्ष्य छैनन् । दक्ष्य हुँदा जति आम्दानी हुन्थ्यो, त्यो अवस्था रहँदैन ।’
साथै, देशमा शिक्षाको विस्तार भएको छ । तालिम प्राप्त मानव संसाधनको पनि विकास नभएको होइन, सरकारकै लगानीमा पनि सिटिभिटीमार्फत धेरै संस्था बनायो । त्यसपछि यसकै सम्बन्धन लिएर धेरै संघसंस्था खडा भएकोसमेत अर्थमन्त्री डा.महतले बताएका छन् ।उक्त कार्यक्रममा महतले आफ्नो सुझाव दिदैँ भने, ‘वैदेशिक रोजगारसँग जोडिएका तालिमहरु हुन्छन् । गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले आफ्नै किसिमले तालिमका कुरा गरिरहेका हुन्छन् । सरकारी निकायले पनि आ–आफ्नो किसिमको तालिम दिइरहेका हुन्छन् । जसमा धेरै किसिमका डुब्लिकेशन, आवश्यकतालाई मध्यनजर गरिएको हुँदैन, कतिपय कुरा औपचारिकता पूरा किसिमको हुन्छ । विनियोजित बजेटलाई खर्च गर्न सन्दर्भमा कतिपय त्यस्ता तालिम हुने गर्छन् । जसबाट ठोस परिणाम आउँदैन ।’
साथै, बद्लिदो परिस्थितिअनुसार अहिलेको माग के छ , औपचारिक शिक्षाभन्दा पनि विशेष आवश्यकता के छ, तत्काल रोजगार सिर्जना गर्ने अवसर कहाँ कहाँ छ, त्यसलाई मध्यनजर गरेर व्यवसायिक तालिमलाई विस्तार गर्न महतले सुझाव दिएका छन् । साथै, निश्चित समयावधिलाई मध्यनजर राखेर पाठ्यक्रम बनाएर तालिम दिन सकियो भने धेरै राम्रो हुने सुझावसमेत महतले दिएका छन् ।
त्यस्तै, देशभित्रै ठूलो संख्यामा मानव संसाधनको अभाव खड्किरहेको भए पनि हरेक मानिसलाई विकल्प रोज्ने अधिकारबाट बन्चित गरिनु हुँदैन । साथै, अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकसमेत आवश्यकताअनुसार निवेदन नपरेको डा. महतले जानकारी दिएका छन्।’