काठमाडौँ । सबैको चासो थियो, मंशिर ७ गते के हुन्छ ? र अन्ततः मंशिर ७ गते हुने भनिएको युवा संघ र दुर्गा प्रसाईं दुबैको शक्ति प्रदर्शन सकिएको छ । केहि अप्रिय प्रयास र सत्तालाई केहि नमिठोसन्देश सँगै अन्तत दुबैको शक्ति प्रदर्शन सकिएको छ मंशिर ७ गते । ठाउँ–ठाउँमा झडप भए, प्रहरीले बल प्रयोग गर्यो, प्रहरी र आन्दोलनकारी दुवैतिर नेपालीहरु घाइते भए । मंशिर ७ को आन्दोलन सकिन्दै गर्दा, तिनकुनेमा फोहोर भयो, बल्खुमा सरकारी बाटोघाटोमा क्षति पुग्यो । धेरैपछि सरकारले बल प्रयोग गरेर आन्दोलन निस्तेज पार्न खोजेको दृश्य देखियो । विद्यार्थीहरुको स्कुल बन्द, अधिकांश मानिस घरघरमै हुने बाहेक मंशिर ७ गतेको आन्दोलनमा नयाँ देखिएन ।
तर, सत्य यो पनि हो, सरकारप्रति जनता सन्तुष्ट छैनन् भन्ने तथ्य दुवै पक्षको आन्दोलनमा देखिएको छ । धन्न प्रसाईं र युवासंघका कार्यकर्ता एकअर्का सँग भिड्न खोज्दा यो विषय नै ओझेलमा पर्यो, र सरकार सायद यसैमा मख्ख छ । प्रसाईंले खोजेको राजतन्त्र सम्भव होला, वा नहोला, त्यो अलग बहसको विषय हो । युवा संघले भनेजस्तै गणतन्त्र जोगिएला वा नाजोगिएला, त्यो पनि अलग विषय भयो, तर जनता अझै पनि सडकमा आउन तयार छन् भन्ने तथ्यचाहिं देखियो । भलै दुवै पक्षका आन्दोलनमा राम्रै खर्च भएको छ भन्ने बुझ्न गाह्रो छैन ।
दुवै पक्ष बिहिबार सडकमा ओर्लिए, एक अर्कालाई गाली गरे, दुर्गा प्रसाईंले राजा फर्काउनुपर्छ भने, महेश बस्नेतले गणतन्त्रको विरोध गर्नेको पाटा फर्काउनुपर्छ भने । दुबैको भाषणमा बीचमा पर्ने उही नेपाली जनता भए । केहि समय रणमैदानझैं देखिएको बल्खु र प्रसाईंविरुद्ध ओर्लिएको तिनकुनेले सरकारलाई दिएको सन्देशभित्र केहि न केहि अर्थ अवश्य छ । तर जसले जे भने पनि प्रसाईंको आन्दोलन राजा फर्काउनका लागि भन्दा पनि महेश बस्नेतलाई देखाउनका लागि जस्तो, अनि महेश बस्नेतको आन्दोलन सरकारले गरेका गलत कामका विरुद्ध भन्दा पनि प्रसाईंलाई कमजोर देखाउनकै लागिजस्तो देखियो । अनि, अन्तिममा जनताले पाउने कुरा खासमा केहि थिएन, यसपटक पनि केहि भएन ।
खासमा आन्दोलन मिसन लिएर गर्नुपर्थ्यो । दुबैले मंशिर ७ गते कार्यक्रम नजुधाएको भए हुन्थ्यो । युवा संघले दुर्गा प्रसाईंको होइन सरकारले गरिरहेको मनपरीको विरोध गर्नुपर्थ्यो । महेश बस्नेतले प्रसाईं र काठमाडौँ महानगरका मेयर बालेन शाहलाई गाली गर्ने होइन, बरु प्रचण्ड सरकारलाई खबरदारी गर्नुपर्थ्यो । दुर्गा प्रसाईंले पनि महेश बस्नेत विरुद्ध होइन, व्यवस्था परिवर्तन नै उद्देश्य भए सोहि अनुसारको तयारीका साथ आन्दोलन गर्नुपर्थ्यो । तर इगोको भरमा लडेको युद्धले कसैलाई फाइदा हुनेवाला थिएन र भएन यसपाली पनि । र अन्ततः केहि मान्छेहरु घाइते भएर सकियो मंशिर ७ को दुवै पक्षको शक्ति प्रदर्शन ।
दुर्गा प्रसाईंले शुक्रबारबाट काठमाडौँ थप तताउने भनेका छन् । सरकारले गरेको दमनको प्रतिकार गर्ने भनेका छन्, तर यसले के गन्तब्यसम्म पुर्याउला, के यो तयारीले प्रसाईंले खोजेको कुरा पाउलान्, के उनकै भाषामा भन्दा जनताले मुक्ति पाउलान् ? यो सोचनीय विषय हो । खैर, अव बिहीबार देखिएका, तर बाहिर नआएका केहि तथ्यबारे चर्चा गरौँ, जसले दुर्गा प्रसाईं र महेश बस्नेतको शक्ति प्रदर्शनबारे थप बुझ्न र यसको आगामी प्रभाव के हुन्छ भन्ने बुझ्न सहज हुन्छ ।
१. दुर्गा प्रसाईं र महेश बस्नेत दुबैका दाबी लाखौँको संख्यामा काठमाडौँमा मान्छे उतार्ने थियो । तर सत्य के हो भने, यी दुबैले राम्रै संख्यामा मान्छे त सडकमा उतारे, तर उनीहरुले सोचेजस्तो मान्छे सडकमा आएनन् । आउँन् पनि किन, यसरी फुर्सद निकालेर आन्दोलनमा आउने वा जाने जनताको संख्या नै कति छ र ? तर जति आए, त्यो सरकारलाई रामरी च्यालेन्ज दिन सक्ने संख्या हो । यो विषयमा सरकार गम्भीर नबने अर्को दुर्घटना हुन सक्छ ।
२. दुर्गा प्रसाईंको आन्दोलनमा सोचेजस्तो भिडन्त वा अप्रिय थप घटना घटेन । सुरक्षा संयन्त्रले त प्रसाईंका कार्यकर्ताहरुले बैंक तथा वित्तीय संस्थामाथि टार्गेट गर्छन्, ढुंगा हान्न सक्छन् भन्ने थियो, जुन भएन । नभएरै गज्जब राम्रो भयो । तर बुझ्नुपर्ने कुरा के छ भने, प्रसाईंलाई साथ दिनेहरुमध्ये अधिकांश लघुवित्त पीडीतहरु छन् । आज जे संख्या प्रसाईंको आन्दोलनमा देखियो, त्यसले नेपालमा लघुवित्त पीडीतहरुको संख्या पनि सानो छैन भन्ने पुष्टी गरेको छ ।
३. दुर्गा प्रसाईंको आन्दोलनमा सांसद ज्ञानेन्द्र शाहीसहितकाले समर्थन गरे । यसले राप्रपा र दुर्गा प्रसाईंको अभियानमा कार्यगत एकाता हुने संकेत गरेको छ । जुन यहि व्यवस्था ठिक हो भन्नेहरुका लागि खतराको घन्टी बन्न सक्छ । झट्ट हेर्दा सामान्य भए पनि राप्रपाका प्रवक्तासमेत रहेका शाही नै प्रसाईंले अगुवाई गरेको आन्दोलनमा जानुले केहि खास अर्थ राख्दछ ।
४. नागरिक सडकमा ओर्लिए वा ओरालिए, त्यो फरक विषय हो । तर मंशिर सातको आन्दोलन कम्ती खर्चिलो छैन भन्ने बुझ्न गाह्रो छैन । हजारौंको संख्यामा प्रदर्शनमा आएकाहरुलाई खाजा खाना, तेल, भाडा, बसाईंको व्यवस्था गर्दा करोडौं खर्च भएको छ । यसले बजारमा केहि पैसा त ल्याएको छ, तर यसको रिटर्न के भन्ने तथ्यचाहिं अझै अनुत्तरित छ ।
५. मंशिर ७ मा युवा संघ नेपालका कार्यकर्ता र दुर्गा प्रसाईंका समर्थकहरु एक अर्कासँग जुधे । तर उनीहरुले बुझ्नुपर्ने कुराचाहिं के छ भने आन्दोलनले केहि खास निष्कर्ष ननिकाले उनीहरुको भेट उही एयरपोर्टको लाइनमा संगै हुनेछ । खाडीमा काम गर्ने कम्पनी पनि उही आईपर्न सक्छ । प्लेनको सिट सँगै हुन सक्छ । त्यसैले नेपाली नेपाली लडेर अहँ केहि काम छैन । यसले केहि दिनको उही केजातीको न्यानो भनेजस्तै मात्र हुन्छ । नेपालीहरु यस विषयमा पनि सचेत हुनुपर्छ ।
६. सरकारले गरेका गलत काममा खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दुर्गा प्रसाईंसंग भिड्ने अनि प्रतिपक्षीसँग प्रसाईंलाई तह लगाउनुपर्छ भनेर छलफल गर्ने प्रचण्डलाई अहिले हाईसन्चो छ । देश प्रतिपक्षी विहीनजस्तो देखिएको छ । यस विषयमा नेकपा एमाले अलि चिन्तित बन्ने हो कि ? किनकि खबरदारी गर्नुपर्ने त सरकारलाई हो नि, होइन र ?
७. धेरैले प्रसाईंको आन्दोलनको खिसीट्युरी गरेका छन् । खै राजा आए त ? भनेर उल्याएका छन् । यसरी उल्याएका छन्, जसरी नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेर कुनैबेला उल्याइन्थ्यो । यो विषय कति गम्भीर हो, त्यो नेताहरुलाई नै थाहा होला । तर कसैलाई कमजोर आँक्नु भने ठिक नहुन सक्छ ।
आज ठुला एकादशीको दिन । काठमाडौँबासीले राम्रोसँग धर्मकर्म गर्न पनि पाएनन् । नेपालीकै टाउको फुट्यो, नेपालीकै आँखा पोल्यो, नेपाली नेपाली नै लडे, नेपालीले नै ताली बजाए । सडकमा अश्रु ग्याँस प्रहार भयो, फेरी नेपाली नै घाइते भए । अनि नेपालीले पाएचाहिं के त ? केहि लिटर तेल ? केहि छाक भात ? केहि रुपैयाँ पैसा ? केहि आश्वासनका पोका ? अरु के ? नेपालीहरुले आफ्नो भविष्यसँगै यी तथ्य पनि सोच्नुपर्छ । (भिडियो)