×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंको बैंक ऋणबारे अति धेरै भ्रम, खास कुरा के हो ?

PRIME CA
GLOBAL IME BANK

दुर्गा प्रसाईंको बैंक ऋणबारे अति धेरै भ्रम, खास कुरा के हो ?

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < ७ मिनेट

काठमाडौँ । देशको अर्थतन्त्र ठिक अवस्थामा छैन । सोचेझैँ व्यापार नभएपछि, बैंकको ऋण तिर्न नसकेपछि, व्यवसायमा भविष्य नदेखेपछि तनावमा छन् व्यवसायीहरु । व्यवसाय भएकाहरुको पनि गति निकै सुस्त छ । व्यापार व्यवसाय सुस्ताएपछि जागिर गुम्नेहरुको संख्या बढ्दो छ । अव आफ्नै प्रतिभा देखाएर देशमै सबैलाई देखाउँछु भन्नेहरुले प्रयोग गरेको टिकटक सरकारले केहि गलत गर्नेहरुलाई देखाएर प्रतिबन्ध गरेको छ । कम्युनिष्टहरुलाई गणतन्त्र बचाउनुछ, राजाबादीहरुलाई राजतन्त्र फर्काउनुछ, दुर्गा प्रसाईंलाई व्यवस्था परिवर्तन गर्ने रहर जागेको छ, युवासंघलाई प्रसाईं त फगत भुसुना हुन् भन्ने प्रमाणित गर्नुछ । र त देश यतिबेला शान्त छैन । एमाले र दुर्गा प्रसाईं भिडेको जस्तो देखिने भएपछि काठमाडौँ त्राहिमाम छ । दुई समूह जुध्लान् भन्ने पीर एकातर्फ छ भने अर्कोतर्फ सरकार हल्लिएको आभाष गरेका छन् धेरैले । र मंशिर ७ गते युवा संघ नेपाल र दुर्गा प्रसाईंले गर्ने फरक आन्दोलनले बजार तातेको छ ।

भन्दा, कतिलाई सुन्न अफ्ट्यारो लाग्न सक्छ, तर दुर्गा प्रसाईंसँग सरकार डराएकोझैं देखिन्छ । र त काठमाडौँ लगायतका विभिन्न स्थानमा निषेधआज्ञा लगाएको छ । देशमा प्रशासन छ कि छैन जसरी रातारात सुतिरहेका महिलाहरु लखेटिएका छन् । ट्राफिक प्रहरीले अत्यावश्यक काम परेमात्र सवारी साधन लिएर घरबाट निस्कन आग्रह गरेको छ । राजाले देशमा संकटकाल लगाउँदाको झल्को दिनेगरी काठमाडौँ शान्त छैन ।

भलै यो कुरा छोडौँ, अव मुख्य विषयबस्तुतर्फ जाऔँ । बजारमा अहिले दुर्गा प्रसाईंले केहि करोडको जग्गा राखेर अरवौं ऋण लिए, दुर्गा प्रसाईं त बैंक ठग हो, बैंकलाई ठगेको छ, बैंकको ब्याज किस्ता तिरेको छैन, भन्ने भाष्य जवरजस्त लाद्न खोजिएको छ । हो, दुर्गा प्रसाईंले जसरी २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्छ भनेका छन्, त्यो सहज विषय पक्कै होइन, तर जसरी दुर्गा प्रसाईंकै कारण बैंकहरुको अरवौं डुबेको छ भन्ने कुरा प्रमाणित गर्न खोजिएको छ, त्यो भने सरासर गलत हो । आखिर सत्य के हो त ? दुर्गा प्रसाईंले बैंक ठगेका होइनन् भने के उनले समयमा नै बैंकको ब्याज तिरिरहेका छन् त ? छैनन् भने उनलाई मात्र किन छुट हो त ? के बाहिर हल्ला चलेजस्तै के बैंकबाट उनले लिएको ऋण डुब्न खोजेको वा डुब्न लागेको हो त ? आउनुहोस् यस विषयको तथ्य बुझौं ।

तथ्य के हो भने दुर्गा प्रसाईं कर्जा सूचना केन्द्र र सम्पत्ति शुद्धिकरण दुबैको कालोसूचीमा छैनन् । कर्जा सूचना केन्द्रले लिखित रुपमै उनी कालोसूचीमा नरहेको स्पष्ट पारिसकेको छ भने सम्पत्ति शुद्धिकरणले पनि उनी कालोसूचीना नरहेको लिखित रुपमै सार्वजनिक भएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेको आरोप लागेपछि प्रसाईंले केन्द्रमा कार्तिक १७ गते निवेदन दिएका थिए । त्यसै निवेदनको जवाफ लेख्दै केन्द्रले कार्तिक २० गतेसम्म उनको नाम ऋण नतिर्नेको कालो सूचीमा नपरेको जनाएको हो ।

दुर्गा प्रसाईंले कुन बैंकबाट कति ऋण लिएका छन् ? ऋणको ब्याज तिरिरहेका छन् कि छैनन् ?

प्रसाईंले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी बैंक, हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक अर्थात हालको ग्लोबल आइएमईबाट १ अर्ब रुपैयाँ ऋण लिएका छन् । अर्थात, दुर्गा प्रसाईंले कुल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका छन् । तर यो ऋण उनको व्यक्तिगत ऋण होइन । उनले पूर्वाञ्चल क्यान्सर अस्पताल, बिएन्डसी अस्पताल, होटल एट्रियम, शुभम हाउजिङलगायतमा लगानी गर्न बैंकबाट ऋण लिएका हुन् ।

ओहो, ऋण त थुप्रै रहेछ त भन्ने तपाईंलाई लाग्ला । हो, सामान्य रुपमा हेर्दा यो ऋण ठुलो हो । तर प्रसाईं जतिका व्यवसाय गर्ने मान्छेको ऋण अरुको हेर्ने हो भने, त्यो ठिकै मात्र ऋण हो, ठुलो होइन । नेपालमा १ हजार करोड भन्दा बढी ऋण लिनेहरुको संख्या नै दर्जन बढी छ । होटल चलाउने, मेडिकल कलेज चलाउने, सिमेन्ट फ्याक्ट्री चलाउनेहरुले ऋण लिन्छन् नै ।

अव बुझौं, प्रसाईंले के सबै बैंक तथा वित्तीय संस्थाको किस्ता तिरिरहेका छन् त ? वा उनको कम्पनीले बैंकको ऋण तिरिरहेको छ त ? यसमा बैंकले उनलाई गरेको व्यवहार र उनको दायित्वको हिसाब अलि फरक छ । हो, प्रसाईंले अहिले तत्कालीन एनसीसी बैंक अहिलेको कुमारी बैंक र तत्कालीन जनता अर्थात हालको ग्लोबल आईएमई बैंकको ब्याज केहि महिनायता तिरेका छैनन् । तर सो ऋण उनले नसकेर नतिरेको भन्दा पनि अदालतले नै हाललाई ब्याज नअसुल्नु भन्ने आदेश दिएकाले उनले किस्ता नतिरेका हुन् । बाँकी बैंकहरुमा उनको किस्ता नियमित छ । मन्दी लागेकाले केहि बैंकमा उनको किस्ता केहि समय तलमाथि भएको होला, जुन अन्य ऋणीको हकमा पनि हुन्छ । तर उनले प्रभु बैंक, गुडविल फाइनान्स लगायतमा ऋणको किस्ता तिरिरहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले त उल्टै उनलाई केहि समय अगाडी ऋण थपिदिएको छ । उनलाई समयमा नै दिन्छु भनेको पैसा नदिएर झुलाएको बैंकले केहि समय अगाडी उनलाई थप ऋण दिएको हो ।

अनि त्यो, ग्लोबल आईएमई बैंक र कुमारी बैंकको किस्ता नतिर्नु भनेरचाहिं अदालतले किन भनेको त ? अव यस विषयमा बुझौं ।तत्कालीन एनसीसी बैंक अर्थात हालको कुमारी बैंकको नेतृत्वमा प्रभु बैंक, ग्लोबल बैंक र गुडविल फाइनान्स प्रसाईंलाई पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माण गर्न र संचालन गर्न २ अर्ब ४८ करोड रुपैयाँ ऋण दिन तयार भएका थिए । यस विषयमा उल्लेखित बैंकहरु र प्रसाईं नेतृत्वको अस्पतालबीच २०७७ असार १८ गते ‘सप्लिमेन्ट्री फ्यासिलिटी एग्रिमेन्ट’ भएको थियो । सो सम्झौता अनुसार स्वीकृत भएको कुल रकम अर्थात २ अर्व ४८ करोड रुपैयाँमध्येबाट बैंकहरुले १ अर्ब ७४ करोड ९० लाख ३९ हजार ५० रुपैयाँ अस्पताललाई प्रदान गरे ।

सम्झौता अनुसार कर्जा निकासा भएको मितिले २४ महिना वा प्रोजेक्ट सकिएको मितिले बढीमा ६ महिना जुन पहिला आउँछ, त्यतिबेला देखि नै प्रसाईंले किस्ता हाल्न सुरुगर्नुपरने थियो । दुई बर्ष यस्तो सुविधासहितको सहुलियत अवधिसहित गरेर १२ बर्षभित्र ऋण चुक्ता गर्नुपर्ने भनी सम्झौता भएको भए पनि स्वीकृत भएको बाँकी ७४ करोड रुपैयाँ बैंकहरुले नदिएका कारण अस्पतालको काम रोकियो । काम रोकिएपछि अस्पतालले बैंकहरुसँग कुरा गर्यो । लामो छलफलपछि पुनः सम्झौता गरी बैंकहरुले अस्पताललाई चाहिने विभिन्न किसिमका सामान किन्न ३२ करोड दिने र चालु पुँजीबापत १२ करोड गरी ४४ करोड रुपैयाँ दिने बाचा गरे, तर दिएनन् । प्रसाईंका अनुसार गुडविल फाइनान्स र प्रभु बैंक ऋण दिन तयार भए पनि ग्लोबल र तत्कालीन एनसीसी तयार भएनन् । सम्झौताअनुसार प्रसाईंले किस्ता हाल्नुपर्ने मिति अर्थात २०७९ चैत आउंदै थियो, तर बैंकहरुले दिन बाँकी ऋण रकम दिएनन् ।

त्यसपछि त झन् उनको बैंकविरुद्धको अभियान सुरु भयो । बैंक विरुद्धको अभियान चलाउन थालेपछि बैंकहरुले उनलाई थप ऋण दिएनन् । बरु दिएको ऋण पनि उठाउन तिर लागे । ग्लोबल आईएमई बैंकले ऋण उठाउन र कुमारी बैंकले त झन् सम्पत्ति नै लिलाम गर्नेगरी प्रक्रिया अगाडी बढायो । त्यसपछि दुर्गा प्रसाईं अदालत गए । अदालतले प्रसाईंको तर्क ठिक ठान्यो र बैंकहरुले कर्जा तिर्न गरिरहेको फलोअप गैरकानुनी भन्दै प्रसाईंको पक्षमा आदेश दियो । त्यसपछि उनले अदालतको आदेश देखाएर आफुलाई दिनुपर्ने सबै रकम नदिएसम्म किस्ता नदिने भन्ने अडान लिएर बसे ।

यो बीचमा उनलाई बैंकले किस्ता तिर्न ताकेता गरे । प्रसाईंले थप रकम निकासाका लागि ताकेता गरे । बैंकहरुले पहिला किस्ता तिर्नु अनि रकम निकासा हुन्छ भनेर प्रलोभन देखाईरहे । दुई चार पटक त प्रसाईले होला नि त भनेर किस्ता पनि तिरे । तर बैंकहरुको उद्देश्य किस्ता उठाउने मात्र थियो, थप रकम दिने थिएन । त्यसपछि प्रसाईं अदालत गएका थिए ।

यो त भयो कुमारी बैंकको कुरा, यता ग्लोबल आईएमई बैंकको केसमा पनि दुर्गा प्रसाईं उल्टै पीडीत बनेको देखिन्छ । प्रसाईं नेतृत्वको बी एन्ड सीलाई ग्लोबल आईएमई बैंकको नेतृत्वमा नबिल, तत्कालीन एनसीसी, राष्ट्रिय वाणिज्य बैंक र गुडविल फाइनान्स २०७१ जेठ २८ गते १ अर्ब ४८ करोड रुपैयाँ कर्जा कर्जा दिन सहमत भए र सोहि अनुसारको सम्झौता पनि भयो ।

शिक्षा मन्त्रालयले २०६८ माघ १४ गते मेडिकल कलेज सञ्चालनका लागि दिएको म एलओआईलाई आधार बनाएर बैंकहरुले कर्जा दिने निणर्य लिएका थिए, जुन निर्णयपछीको सम्झौतामा विद्यार्थीको पहिलो भर्ना भएपछि प्रथम किस्ता बुझाउन थाल्ने र कर्जा अवधि १५ वर्ष रहने उल्लेख थियो । तर सरकारले प्रसाईंको मेडिकल कलेजलाई संचालन अनुमति नै दिएन । यता सरकार संचालन अनुमति नदिने, उता बैंकले ऋणको लागि ताकेता गरेको गर्यै गर्न थालेपछि प्रसाईं अदालत गए । यो केसमा पनि अदालतले प्रसाईंकै पक्षमा अर्थात ग्लोबल आईएमई बैंकको विपक्षमा आदेश दियो । त्यसपछि उनले ग्लोबल आईएमई बैंकलाई तत्काल किस्ताको रकम तिर्नुनपर्ने भयो । अहिले पनि यो केस सर्वोच्चमा विचाराधीन छ ।

के बैंकहरुको लगानी डुब्छ त ?
यसको सिधा उत्तर हो बैंकको ऋण कुनै हालतमा डुब्दैन । किनकि बैंकले अरवौंको ऋण दिँदा त्यहाँभन्दा निकै बढीको सम्पत्ति धितो राखेको छ । बैंकले कानुनअनुसार उनको धितो सकार्न सक्छ । त्यसमाथि पनि दुर्गा प्रसाईंलाई नभई उनका कम्पनीहरुलाई कर्जा दिएकोले कम्पनी र बैंकका आआफ्नै प्रक्रियाहरु छन्, जसअनुसार प्रसाईंले कर्जा पनि चुक्ता गर्नुपर्छ, नभए उनको सम्पति लिलाम हुन्छ । अनि अरुलाई २० लाख सम्मको ऋण नतिर्नु भन्ने अनि आफुचाहिं प्रसाईंले ऋण तिर्छन् त ? प्रसाईं स्वयम् भनिरहेका छन्, म ऋण तिर्छु, तर गरिबहरुको ऋण मिनाहा गरिदेऊ । अर्थात, यसरी बुझौं, कि गरिबहरुको ऋण मिनाहालाई प्रसाईंले राजनीतिक एजेण्डा बनाएका छन्, तर उनले आफु भने तिर्नुपरेको खण्डमा बैंकहरुलाई ऋण तिरिरहेका छन् । अझ ऋणको किस्ता तिरीरहेकोमात्र होइन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले त उनलाई ऋण थपीपनि दिएको छ । त्यसैले प्रसाईंले ऋण नतिरेर बैंकको अरवौं डुब्ने हो कि भन्ने आशंका गर्नुपर्ने अवस्था देखिंदैन ।

के २० लाख सम्मका ऋण मिनाहा गर्न सम्भव छ त ?
छैन । यो सहज विषय हुँदै होइन । तर आन्दोलनले सहजता हेर्दैन, बरु नारा र नागरिकको सेन्टिमेन्ट हेर्छ । प्रसाईंले पनि त्यस्तै नारा लिएका छन् । स्मरण रहोस्, शसस्त्र युद्धताका माओवादी, अर्थात अहिलेका प्रधानमन्त्री प्रचण्डको दलले पनि गरिवहरुको ऋण मिनाहा हुनुपर्छ भन्ने माग राख्थ्यो । त्यसैले प्रसाईंको नारा राजनीतिक उद्देश्यबाट अभिप्रेरित छ, बैंकको ऋण मिनाहा हुन सक्ने स्थिति छैन र हुँदैन ।

बाँकी त प्रसाईंका एजेन्डामा हाम्रो भन्नु केहि छैन । तर यति भनिसकेपछि दुर्गा प्रसाईंलाई बैंक ठग भन्न वा उनकै कारण बैंकको अरवौं ऋण डुब्न सक्छ भन्नचाहिं मिल्दैन । हो प्रसाईंका केहि शैलीमा समस्या छन्, उनका मागहरुबारे मान्छेहरुका आ-आफ्नै तर्क होलान्, उनको राजनीतिक उद्देश्य फरक होला । तर प्रसाईंलाई व्यवसायी भएर हेर्दा उनको ऋणमा समस्या देखिएको स्थिति छैन । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: